बाढी अगाडि लाखौं खेलाउने गरेका नागरिक : १० हजार सहयोग पाउँदा खुशी हुनुपर्ने स्थिति
टंक पन्त
काठमाडौं । ०८३ भदौ १० गते भोटेकोशीको महाप्रलयकारी सुनामी बाढीले १६ बर्षीय रञ्जिता थापाका बुवाआमासहित सात जना परिवारलाई एकै चिहान बनाएपछि उनी अहिले एक्लो जीवन बिछिप्त अबस्थामा छिन् । उत्तरगया पब्लिक माबिमा बिहानको ट्यूसन कलास सकेर कक्षा कोठामा जाने क्रममा रञ्जिताले बिद्यालयको गेटमा पुग्ना साथ भोटेकोशीको बाढीको मुस्लो देखिन् । अनि उनी फनक्क फर्केर जंगलतिर उकालो लागिन् । रसुवाको बेत्रावती सेयाली जंगलमा पुग्दा नपुग्दै उनका बुवा, आमा हजुरबुवा, हजुर आमा र दाजु समेतलाई बाढीले घरसहित बगाइसकेको थियो । रञ्जिता पाँच मिनेटभित्र सिस्नो समाउँदै सुरक्षित स्थानमा पुगेर तलतिर हेर्दा आफ्नो प्यारो परिवारसहित सबै घरवार थिएन । बुवा आमा रहनुभएको घरमाथि बाढी उर्लिरहेको देख्ना साथ रञ्जिता आफूलाई थाम्न नसकेर त्यही ढलिन् । बुवा श्याम थापाले बिहान खाजा खान दिएको पैसा, आमा जमुना रानाले कतै नभुली कक्षा सकिना साथ आए है आज तिमी र म एक ठाउँ जानु छ भनेको कुरा र हजुर आमाले स्कूलबाट फर्किनासाथ मेरो काला आयो के खाजा खान्छिउ भन्ने गरेको कुरा सम्झिदै आज पनि उनका आँखाबाट बर्वती आशु खस्छन् । एक जना दाजु निराजन थापा बाहिर क्रोसियामा छन् । उनले बहिनीलाई निरन्तर फोन गरेर सम्झाउने त गर्छन् तर, परिवारकी सबैभन्दा कान्छी सदस्य रञ्जितालाई अहिले पनि हजुर आमाले काखमा राखेर ख्वाउन पाए खुशी हुने कुराले सम्झाइरहने गरेको छ ।

काखमा राखेको, आमाले तरकारी किन्न जाँदा पनि संगै लैजाने जस्ता धेरै कुरा सपनामा देख्ने गरेकी रञ्जितालाई राम्ररी निद्रा पनि लाग्ने गरेको छैन । भोटेकोशीको बाढीले आफ्नो परिवार बगाएपछि ठूला वुवा डोलबहादुर थापाको घरमा बस्दै आएकी रञ्जितालाई केही सोध्यो कि भक्कानिएर रुन थाल्छिन् – ठूलो वुवा ठूलो मामुकी छोरी बविसा थापा बहिनी रञ्जिताको भबिष्य के हुने हो भन्नै सकिएको छैन जति सम्झाएपनि बुवा आमा हजुरवुवा, हजुर आमाले माया गर्दा भन्ने गरेका कुरा सम्झिदै भक्कानिने गरेको सुनाउँछिन् । एनआरएनए युकेका अध्यक्ष प्रेमगाहा मगरले बाढी प्रभावितलाई प्रधानमन्त्री राहत कोषमा पठाए कहाँ जान्छ टुंगो हुँदैन त्यसैले बाढी पीडितहरूको हातमा नै प्रतिव्यक्ति १० हजार रुपियाँ र जाडोको लागि न्यानो कपडा लिएर नुवाकोट पुगेको बेला दिदी बबिसा थापासँग सहयोग लिन नुवाकोटको गंगटेपार्क पुगेकी रञ्जिताले रुदै प्रश्न गरिन– अब मैले आफूलाई कसरी सम्हालु ? मेरो प्यारो परिवारसँगै –आफू पनि गएको भए त हुन्थ्यो नि भन्ने हुन्छ । बाढीले परिवार बगाएको एक महिना भैसक्यो तर, यो समय कसरी बित्यो मलाई नै थाहा छैन । उत्तरगया माबिमा पढ्दै थिएँ आज न त्यो स्कूल छ न पढाइ छ भबिष्य नै कसरी बित्ने भन्ने टुंगो छैन के पाप गरेकी थिए र आज मैले यस्तो भाग्नुपर्यो ? के गल्ती गर्नुभएको थियो र आज मेरो परिवार रहनुभएन ? मेरो घर सहित छिमेकी सबैको घर बगरमा परिणत भएको छ आज ती हाम्रा लागि दरबारसरी रहेका घरहरूमा त्रिशुली बगिरहेको छ मेरा साथीहरू कहाँ छन् ? कतिलाई बाढीले बगायो त्यो पनि थाहा छैन । अब म कसरी बाँचु ? भन्दै रञ्जिता थचक्क बस्छिन् र आँशुका धारा धाम्नै सक्दिनन् अनि हामीले धेरै सोध्न पनि खोजेनौँ । उनलाई कालो धब्वा लागेको छ । उनलाई देख्ने जो कसैले उनलाई देख्ना साथ थाहा हुन्छ निकै पीडामा बाँचेकी छन् तर, कसरी बाँचेकी छिन् उनी आफै भन्न सक्तिनन् ।
रञ्जिता जस्तै थुप्रै रञ्जिताहरूको आँखाको भेल रोकिएको छैन । रञ्जिताको वुवाको शब धेरै दिनपछि भेटियो तर, अन्य परिवारको शब पनि नभेटिएपछि बाढीले बगाएको एक महिनापछि मात्रै काजक्रिया प्रारम्भ गर्दा त्यहाँ पुग्नेहरू सबै भावबिह्वल हुन्छन् ।
एनआरएनए युकेका अध्यक्ष प्रेमगाहा मगरले नमूना शैलीमा राहत लिएर जाँदैगर्दा र एक महिना पछिको बाढीको सम्झना पीडितहरूमा झनपछि झन् ताजै जस्तो देखिने गरेको छ । भोटेकोशीको महाप्रलयकारी बाढीले गर्दा नागरिकहरू करीब १२ देखि २० हजारसम्म हराएको हुन सक्ने अनुमान छ तर, यकिन तथ्यांक कसैसँग पनि छैन किनकि सम्पूर्ण बजार, गाउँ नै बगरमा परिणत भएको छ । अब शब भेटिने अबस्था रहेन भन्ने भएपछि सामूहिक रुपमा काजक्रिया गर्न थालिएको छ । रसुवा वेत्रावतीका पवित्रा तामाङ र सीता तामाङ दुबै कमाउन दुबई गएका थिए तर, उनी दुबैका श्रीमान् छोरा–छोरी सासु–सुसुरा सहित घर जमीन बाढीले कहाँ पु¥यायो उनीहरूलाई पनि थाहा छैन । बाढीले घरपरिवार लगेको थाहा पाउना साथ स्वदेश फर्किए एक महिना कि त सास कि त लाश भेटिन्छ कि भनेर खोजीमा लागे जब नभेटेपछि उनीहरूले पनि सबैको काजक्रिया गरे । छोरा–छोरीलाई राम्रोसंग पढाउन सकियोस् भन्ने उदेश्यले सात महिना अगाडि ऋणधन गरेर दुबई गएँ आज छोराछोरीलाई देख्न पनि पाइएन । अहिले सीता र पवित्रा पनि नुवाकोटको पिपलटार पोष्टबहादुर पार्क नजिकको होल्डिङङसेण्टरको पालमुनि एक्लो जीवन बिताइरहेका छन । उनीहरू भन्छन्– एक महिना भैसक्यो न निद्रा लाग्छ न खान मन लाग्छ जतिखेर पनि ती फूलका थुंगा जस्ता छोराछोरीको सम्झना आइरहन्छ । बाहिर भएपनि बाबाले मोवाइलबाट कुरा गर्दा मामु कहिले आउनुहुन्छ हामीलाई के ल्याइदिनुहुन्छ भन्ने गरेको सम्झनाले उनीहरूलाई थप पीडा दिइरहेको छ । हामीलाई छोडेर बिदेश नजानु न भनी हिँड्ने बेला छोराछोरी काखमा बसेर कपडा समाउँदा तिमीहरूलाई कति धेरै मीठोमीठो कुरा ल्याइदिन्छु नि भन्दै फकाएर हिँडेको सात महिना नबित्दै छोरा–छोरी गुमाउनुपर्यो नि भन्दै सीता बोल्नै नसकी आशुंको भेलसंगै रातो नीलो अनुहार बनाएर ढल्छिन् । कसैले छोरा छोरी गुमाएका छन, कसैले वुवा–आमा, श्रीमती, श्रीमान् गुमाएका छन त कसैको बंश नै नाश हुने गरी सम्पूर्ण परिवार गुमाएको छ ।

नुवाकोटको पिपलटार होल्डिङङसेण्टरमा रहेका अजय तामाङले श्रीमतीसहित तीन, पाँच र आठ बर्षका छोराछोरी गुमाएका छन् । उनका साथमा अहिले स्कूल गएर फर्किदै गरेको हुनाले बाँचेका साना नानी बाबु मात्र छन् । सासु भाञ्जा–भाञ्जी काका–काकीसहित अजयका नजिकका ३२ जना परिवार र घरबास सबै बाढीले केही छैन । ०७२ सालमा भूकम्पले ध्वस्त पारेपछि जन्मस्थान गोगने तिरुबाट बेत्रावती निस्कनुपर्यो भने अहिले बेत्रावतीमा खोला हिँडेपछि हामी नुवाकोटको पिपलटार पोष्टबहादुर बोगटी पार्कसंगैको होल्डिङङसेण्टरको पालमुनिको बसाइँ भएको छ । अजय भन्छन– प्रकृति पनि कति निर्दयी सारा नेपालीलाई रुवाएर घरवार बिहीन बनाउने ? सम्पन्न परिवार आज राहत बाँडन आएका छन् रे भन्दा कुद्दै जानुपर्ने अबस्था । मेरो त अनेक पीडाकावीच पनि यहाँको होल्डिङ सेण्टरमा कस्लाई के छ समस्या के गर्नुपर्छ भनि संयोजनकारी भूमिका निर्वाह गर्दा समय बितेको छ तर, आमा नभएपछि ती नानी बावुलाई बढि गाह्रो हुँदो रहेछ जतिखेर पनि मामू आउनु हुन्न र ? मामूलाई खोलाले कहाँ लग्यो र ? खोज्न जानु न कतै हामीलाई कतिखेर लिन आउँछन् भनेर अडकेर बस्नुभएको छ कि भनेर सोध्छन् अनि म सहन सक्तिन राति भएपनि बाथ रुम गएर आउँछु है निस्कन्छु । होल्डिङङसेण्टरमा बाहिर अस्थायी ट्वाइलेट छ । त्यहाँ पनि कहिलेकाँही लाइन बस्नुपर्छ । पिपलटारको होल्डिङङसेण्टरमा ४४ परिवारका १ सय ४८ सदस्य छन् । जसमध्ये ५२ जना बालवालिका छन् । कतिपय बालबालिका आमाबुवा कोही पनि नभएका पनि छन् तिनीहरूलाई सम्हाल्न ज्यादै गाह्रो छ । घर आंगनमा खेल्ने गरेका बच्चाहरू जंगलमा टांगिएका पालमुनि खुम्चिनु परेको छ । युनिसेफले पानी नछिर्ने खालको पाल दिएको छ । आइओएमले स्वास्थ्य जस्ता बिषय हेर्ने गरेको छ । बिभिन्न सामाजिक संस्थाले लत्ता कपडा खानेकुरा दिएका छन । प्रशस्त सम्पत्ति भएका, छोराछोरीले घरमा आउँदा केही खानेकुरा ल्यादिनु हैभन्दा ल्याइदिने मात्र होइन समय समयमा बाहिर खान ख्वाउने गरेका परिवारसंग आज एक रुपियाँ पनि गोजीमा छैन ।

एनआरएनए युकेका अध्यक्ष प्रे मगाहा मगरले नेपाल मगरसंघको संयोजनमा प्रतिव्याक्ति १० हजार नगदसहित न्यानो कपडा लिएर जाँदा नुवाकोटको गंगटे र पिपलटार होल्डिङङसेण्टरका बाढी पीडितहरू निकै खुशी भएका थिए । बाढी गएपछि पहिलो पटक हातमा नगद पर्योभन्दै कतिपयले बावु नानीलाई आइसक्रिम ल्याएर ख्वाएका थिए । युकेका नेपालीहरूले एकछाक कटाएर दिएको पैसा प्रधानमन्त्री राहत कोषमा जम्मा गरेर उनीहरूको हातमा कहिले पर्छ वा पर्देपर्दैन भन्ने लागेरै आफै बिभिन्न होल्डिङङसेण्टरमा पुगेर नगद र ज्याकेट दिएको अध्यक्ष मगरले स्पष्ट पारे । बाढी पीडितहरू जति खुशी भए त्यति मेरो मन भारी भएको थियो । आखिर गर्नुपर्ने त यहि रहेछ । पहिलो पटक नगद पाएका पीडितहरूको खुशीले आफू र सिंगो एनआरएनए युके परिवारले राम्रो निर्णय गरेको अनुभूति गरेको अध्यक्ष मगरले बताएका छन् । उनी भन्छन्– बिभिन्न देश र नेपालकै संघसंस्था वा व्यक्तिले बाढी पीडितका लागि १५ अर्बभन्दा बढि सहयोग गरेको तर, पीडितले के पाए त ? अधिकांश रकम हेलिकप्टरमा खर्च भएको सुन्दा दुःख लागेको छ । त्यसैले सहयोग गर्नेले सोझै पीडित परिवारलाई दिनु उपयुक्त हुन्छ । अजय तामाङ, गणेश नेपाली, लीलानाथ घिमिरे, शंकर चित्रकार, चरिमाया थापा, पत्रिा तामाङले प्रेमगाहा मगर सहितका सहयोगी मनहरू महान हुन् । उहाँहरूलाई भगवानले सधै सुखी बनाउन् भन्दै आशीष दिएका छन् । जुनवेला उनीहरू खुशीले निकै भाबुक पनि भएका थिए । उनीहरूभन्दै थिए– एक महिना पाँच दिनमा अनुहारमा खुशी जस्तो छाएको आजै हो ।

६५ बर्षीया हिरा तामाङका पनि तीन वटै छोराछोरी र श्रीमतीलाई बाढीले कहाँ पुर्यायो थाहा छैन । एक महिनासम्म खोजी गर्दा एक जना छोरीको झोलाको डोरी बगरमा थोरै देखिए जस्तो पाएपछि खोस्रदा झोला सबै च्यातिएको तर, प्लाष्टिको डब्वामा बिहान आफूले राखिदिएको खाजा भेटिएको सम्झिदै हिरा भन्छन – म त त्यहीं बेहोस भएछु न छोरीले खाजा पनि खान नपाई ज्यान गुमाइन अनि कसरी आफूलाई सम्हाल्ने ? कसरी बाँच्ने ? अबको जिन्दगी कस्तो हुने ? अनेक प्रश्न हिराको जस्तै बाढीबाट बाँचेकाहरू सबैको छ । होल्डिङङसेण्टरमा हुनेहरूले कहिलेसम्म यहाँ बस्ने ? सरकारले आफ्नै जिल्लाको कुनै स्थानमा बस्ने खाने ब्यबस्था चाँडो गरिदिएमा आफूहरूलाई पनि केही राहत हुने र राज्यलाई पनि हल्का हुने एवं बच्चाहरूलाई पढाउन पाइने थियो भन्ने गर्छन् । अहिले बच्चाहरू स्कूल जान पाएका छैनन् । केवल उनीहरू मोवाइलमा भुल्ने गरेका छन् त्यो अबस्था कहिलेसम्म हुने ? स्वभाविक प्रश्न उनीहरूको छ । राज्य , स्थानीय सरकार सबै मिलेर बाढीपीडितहरूका लागि उचित बास र स्वास्थ्य, शिक्षासंगै केही पनि नभएकालाई आवश्यक व्यवस्था गर्न धेरै ढीलाइ गर्नु हुँदैन । जति ढीलाइ भयो त्यति उनीहरूमा मानसिक असर पनि पर्छ । रसुवा, नुवाकोट, धादिङमा भोटेकोशीको बाढीमा पर्नेहरू ती जिल्लाका मात्र नभएर अन्य जिल्लाका छन् ।

कोशी प्रदेशका १७२, मधेशका १५५, बागमतीका २९२१, गण्डकीका १७१, लुम्बिनीका २४५, कर्णालीका १७५, सुदुरपश्चिमका ९७, उपत्यकाका ९७, नेपाली सेना ४५, नेपाल प्रहरी २५, सशस्त्र प्रहरी १२, कर्मचारी ७९ पर्यटक ५८७ गरी ५ हजार ५ सय ४० जना बेपत्ता भएको भनिएको छ । रसुवा, नुवाकोट धादिङका १५ हजार बढि छन् । रसुवामा ७९९जना होल्डिङङसेण्टरमा छन् भने नुवाकोटमा ११०७ जना, धादिङङा १२१ जना छन् । आफन्त भएकाहरू आफन्तकोमा गएर बसेका छन् । बाँचेका मध्ये ४ सय परिवारका कोही न कोही सदस्य गुमाएका छन् भने ५० भन्दा बढी परिवार सम्पूर्ण रुपमा गएको छ । जसको खोजी गर्ने पनि कोही छैन् । १४५३ जनाको शब भेटिएको छभने ११२ जनाको मात्र सनाखत भएको छ । १३३४ जनाको शब खाल्टोमा व्यवस्थापन गरिएको छ । सात जनाको शब अहिले पनि अस्पतालमा रहेको छ । बिद्यालय छैनन्, पुल छैनन्, बजार ध्वस्त छ नागरिकहरूको मन भाचिएको छ बाचेहहरूले बाँचेको अनुभुति गर्न सकेका छैनन् । पुलहरू बगाएको कारण किसानहरूले फलाएको तरकारी, फलफूल, दूध, दही बजार पुर्याउन नपाउँदा खेर गैरहेको छ । बाढीले पुरेका घरभित्र छिरेर महत्वपूर्ण सामग्री भेटाउन सकिन्छ भनेर आधा परिएका घर खनखोरस गर्नेहरूको संख्या पनि नुवाकोटको देवीघाटमा निकै देखिन्छ रसुवामा त त्यो पनि छैन किनकि रसुवामा घर भएका ठाउँहरू कि त बगर छ कि त खाला बगेको छ । अत्यावश्यक काम हुनेहरू तुइनमा जोखिम मोलेर पनि घण्टौँ लाइन लागेर बिदुर बजार वारीपारी गर्ने गरेका छन् । यो कठिन अबस्थालाई सबै मिलेर न्यून गर्दै जानुपर्ने खाँचो छ । यो बिपदको घडीमा सबैले आ–आफ्नो स्थानबाट जिम्मेवारी निर्वाह गर्नुपर्छ भने राज्यले दातृनिकायसँग सहयोगको हात अझै बढाउनुपर्छ अन्यथा राज्यको बजेटबाट मात्र केही पनि पूर्णता हुने छैन । यस्तो बेलामा बेथिति, भ्रष्टाचार र मौकाको फाइदा कसैले उठाउन खाजे त्योभन्दा आम नागरिक र राज्यप्रतिको अपराध केही हुने छैन ।
(बाढी प्रभावित क्षेत्रको स्थलगत रिपोर्ट)
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी

फेसबुकबाट तपाईको प्रतिक्रिया