अख्तियारद्वारा राइनास नगरपालिकाका तत्कालीन अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लमजुङको राइनास नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारी र तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपानेसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मंगलबार अख्तियारले विशेष अदालत काठमाडौंमा ९ जनाविरुद्ध अभियोग पत्र दायर गरेको प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री रोजगार कार्यक्रमको १६ लाख ७२ हजार रूपियाँ हिनामिना गरेको आरोप उनीहरूमाथि लागेको छ ।
तत्कालीन रोजगार संयोजक न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अधिकारी, तत्कालीन लेखापाल नवीनकुमार बराल, वडा नं. १ का तत्कालीन वडाध्यक्ष रमेश न्यौपाने, वडा नं. ३ का तत्कालीन वडा सदस्य ओजराज पौडेल, वडा नं. ४ का तत्कालीन वडाध्यक्ष जैमान गुरूङ, वडा नं. ५ का तत्कालीन वडाध्यक्ष नन्दबहादुर कुमाल, वडा नं. ६ का तत्कालीन वडाध्यक्ष रूकबहादुर तामाङ गुरूङ, वडा नं. ८ का तत्कालीन वडाध्यक्ष कृष्णप्रसाद लामिछाने, वडा नं. ७ का तत्कालीन वडाध्यक्ष माधवप्रसाद पराजुलीविरुद्ध मुद्दा दायर भएको अख्तियारका प्रवक्ता न्यौपानेले विज्ञप्तिमार्फत् जानकारी दिएका छन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत राइनास नगरपालिकाका सूचीकृत आर्थिक वर्ष २०७६÷०७७ प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट शर्तहरूसहित रू.१६ लाख ७२ हजार रूपियाँ सशर्त अनुदान उपलब्ध गराएकोमा तत्कालीन प्रतिवादीहरूले सरकारी सम्पत्ति हिनामिना, दुरूपयोग हानिनोक्सानी गर्ने र आफूहरूले गैरकानूनी रुपमा लाभ लिएको अख्तियारले जनाएको छ ।
उनीहरूले आर्थिक वर्षको अन्तिम दिन प्रचलित कानूनको बर्खिलाप हुने गरी संघीय संचितकोषमा फिर्ता गर्नुपर्ने सशर्त अनुदानस्वरूप प्राप्त सो रकम फिर्ता नगरी तत्कालीन रोजगार संयोजकले पेश्की लिई सो रकम अन्य प्रतिवादीहरूको खातामा रकम जम्मा गरी उक्त रकमबाट तोकिएको कार्यक्रम सञ्चालन नै नगरी उक्त रकम हालसम्म फछ्र्यौट नगरेको तथा उक्त पेश्की लिएको रकमको कुनै पनि काम भए गरेकोसमेत नदेखिएको अख्तियारले जनाएको छ ।
न्यौपानेले आफू रोजगार संयोजक पदमा बहाल रहँदा राइनास नगरपालिकाबाट २०७६ वैशाख १६ मा बुझिलिएका एक थान ल्यापटप, एक थान प्रिन्टर र एक थान क्यामेरा २०७७ कात्तिक १ देखि सो कार्यालयबाट बर्खास्त भए पनि हालसम्म बरबुझारथ नगरेको पाइएको छ । ती सामानको मूल्य एक लाख ६७ हजार २५६ रूपियाँ समेत न्यौपानेले हानिनोक्सानी गरे गराएको पुष्टि भएको अख्तियारले जनाएको छ ।
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी

फेसबुकबाट तपाईको प्रतिक्रिया