कांग्रेसको अधिवेशन गर्न सिन्धुपाल्चोक २ को मेलम्चीमा खुल्यो देउवा पक्षको सम्पर्क कार्यालय

मेलम्ची । नेपाली कांग्रेस १५औँ महाधिवेशन तयारी समिति सिन्धुपाल्चोकले क्षेत्र नं. २ को सम्पर्क कार्यालय खोलेको छ ।

शेरबहादुर देउवा पक्षीय नेताहरूले असोज १५ गतेखि देशभरि वडा अधिवेशन गर्न लागेका छन् । सोही क्रममा अधिवेशनका कार्यक्रमलाई व्यवस्थित बनाउन मेलम्चीमा सम्पर्क कार्यालय स्थापना गरिएको छ ।

नेपाली कांग्रेसका नेता विकास तामाङले सम्पर्क कार्यालयको उद्घाटन गरेका छन् । सिन्धुपाल्चोक क्षेत्र नं. २ मा कांग्रेसको अधिवेशनसम्बन्धी गतिविधि, संगठनात्मक समन्वय तथा आन्तरिक तयारीका कामहरूलाई थप तीव्र र व्यवस्थित रूपमा अघि बढाइने लामाले जनाएका छन् ।

सम्पर्क कार्यालय स्थापना कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता तेजबहादुर बानियाँ, क्षेत्र नम्बर २ का संयोजक प्रकाश बस्नेत, जिल्ला सह–संयोजक विदुर घोरासैनी, प्रदेश ‘२’ का संयोजक रामशरण गिरी र जिल्ला सचिव निराजन चौलागाईंलगायत पार्टीका विभिन्न तहका जिम्मेवार नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

सहभागी नेताहरूले पार्टीको आगामी महाधिवेशनलाई व्यवस्थित, मर्यादित र अनुशासित रूपमा सम्पन्न गर्नका लागि आन्तरिक समन्वय र सक्रियता अपरिहार्य रहेको धारणा व्यक्त गरेका छन् ।

संयोजक बस्नेतका अनुसार महाधिवेशनको मिति नजिकिँदै गर्दा सांगठनिक गतिविधिहरूलाई तल्लो तहसम्म सुदृढ बनाउन मेलम्चीमा सम्पर्क कार्यालय सञ्चालनमा ल्याइएको बताएका छन् ।

Published : Tuesday, 2026 September 29, 2:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया