धादिङमा देउवा पक्षले अगाडि बढायो कांग्रेसको वडादेखि जिल्लासम्मको अधिवेशन

धादिङबेसी । शेरबहादुर देउवा पक्षीय नेपाली कांग्रेसका नेताहरूले धादिङ कांग्रेसको वडादेखि जिल्लासम्म अधिवेशनको कार्यक्रम अगाडि बढाउने निर्णय गरेको छ ।

नेपाली कांग्रेस १५औँ महाधिवेशनअन्तर्गत धादिङ जिल्लामा नियमित वडा अधिवेशनको तयारी तीव्र पारेको संयोजक गोपाल विश्वकर्माले बताएका छन् ।

देउवा पक्षीय नेताहरूले धादिङमा अधिवेशन गर्न लागेका हुन् । नेपाली कांग्रेसलाई तथाकथित विशेष महाधिवेशनको नाममा गगन थापाले हाइज्याक गरेर आफूलाई सभापति घोषणा गरेपछि देउवा पक्ष न्यायका लागि सर्वोच्च अदालतमा पुगेको छ । कांग्रेसको आधिकारिकताको विवाद सर्वोच्च अदालतमा बिचाराधीन छ ।

नेपाली कांग्रेस १५औं जिल्ला महाधिवेशन तयारी समितिले सोमबार धादिङबेसीमा पत्रकार सम्मेलन गर्दै जिल्लामा अधिवेशनका मितिहरू सार्वजनिक गरेका छन् ।

घोषित कार्यतालिका अनुसार धादिङ जिल्लाका वडा अधिवेशनहरू आउँदो असोज १५ गतेबाट सुरु हुने भएको छ । प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज २३ गते, जिल्ला अधिवेशन कात्तिक १५ गते र प्रदेश अधिवेशन मंसिर ४ गते हुने तय गरिएको छ ।

पार्टीको केन्द्रीय महाधिवेशन आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा सम्पन्न हुने कार्यतालिका रहेको धादिङ जिल्ला संयोजक विश्वकर्माले जानकारी दिएका छन् ।

Published : Tuesday, 2026 September 29, 12:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया