अख्तियारद्वारा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी जागिर खाने यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा रौतहटका एक कर्मचारीविरुद्ध भ्रष्टाचारको आरोपपत्र दायर गरेको छ ।

बिहीबार अख्तियारले विशेष अदालत काठमाडौंमा माधव नारायण नगरपालिकाको कार्यालयमा सामाजिक परिचालक (सहायकस्तर पाँचौं) तहमा कार्यरत कृष्णनन्दनप्रसाद यादवले सेवामा प्रवेश गर्दा पेस गरेको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै आरोपपत्र दायर गरेको हो ।

यादवले बिहार इन्टरमिडियेट शिक्षा परिषद, पटनाबाट जारी भएको देखिने आईए तहको शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएको आयोगले जनाएको छ ।

यादवले तत्कालीन जिल्ला बिकास समितिको कार्यालयमा सरकारी जागिर खान पेश गरेको प्रमाणपत्र झुट्टा तथा नक्कली रहेको र त्यसकै आधारमा यादवले हालसम्म राष्ट्रसेवकको हैसियतमा काम गरी ओहदा, लाभ तथा सुविधा प्राप्त गरेको आयोगले दायर गरेको आरोपपत्रमा उल्लेख छ ।

अख्तियारका अनुसार यादवको शैक्षिक योग्यतासम्बन्धी प्रमाणपत्रमाथि उजुरी परेपछि अनुसन्धान अघि बढाइएको थियो । अनुसन्धानका क्रममा उनले सरकारी सेवामा नियुक्ति तथा निरन्तर सेवामा रहन नक्कली प्रमाणपत्र प्रयोग गरेको पुष्टि भएको आयोगको निष्कर्ष छ ।

आयोगले यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १२ तथा दफा २९ को उपदफा (२) बमोजिमको कसूर गरेको आरोप लगाएको छ ।

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोगसम्बन्धी कसूरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम पनि कारबाहीको माग गरिएको छ ।

आयोगले आरोपित यादवलाई कानूनबमोजिम कैद तथा जरिवाना सजाय हुनुपर्ने मागदाबी गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ ।

Published : Thursday, 2026 September 24, 10:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया