दाङ कांग्रेसको अधिवेशन गर्न देउवा पक्षद्वारा ३ क्षेत्रमा संयोजक तोकियो, वडा र पालिकाहरूमा भव्य तयारी

घोराही । शेरबहादुर देउवा पक्षीय नेताहरूले नेपाली कांग्रेस दाङको अधिवेशन सम्पन्न गर्नका लागि ३ वटा क्षेत्रमा संयोजकहरूका साथै विभिन्न नेताहरूलाई जिम्मेवारी तोकेका छन् ।

बिहीबार घोराहीस्थित सम्पर्क कार्यालयमा नेपाली कांग्रेस १५औँ महाधिवेशन तयारी समिति लुम्बिनी प्रदेशका संयोजक गेहेन्द्र गिरीको प्रमुख आतिथ्यता र दाङ कांग्रेसका पूर्वसभापति बीरकेश्वरी गौतमको विशिष्ट आतिथ्यतामा दाङका ३ वटा क्षेत्रका संयोजकहरू तोकेर पत्र प्रदान गरिएको दाङ कांग्रेसका संयोजक गोपालराज शर्माले जानकारी दिएका छन् ।

नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले दाङ कांग्रेसका नेता गोपालराज शर्मा अधिवेशन सम्पन्न गर्नका लागि संयोजकको जिम्मेवारी दिएका छन् ।

संयोजक शर्माले सदस्य सचिवमा पूर्ण मल्ललाई नियुक्त गरेका छन् । समितिको सदस्यहरूमा बद्री खड्का, युवराज खड्का, दिलिप आचार्य, दामोदर केसीलाई मनोनयन गरिएको शर्माले बताए ।

अधिवेशनको तयारीका लागि कांग्रेसले दाङ क्षेत्र नं. १ को संयोजकमा एकराज डिसीलाई नियुक्त गरेको छ । दाङ क्षेत्र नं. २ को संयोजकमा खेमराज विश्वकर्मालाई जिम्मेवारी दिइएको छ । विश्वकर्माले आफ्नो कार्यसमितिमा केशव केसीलाई सदस्य सचिव र सदस्यहरूमा शरद खनाल, अनिता विश्वकर्मा तथा सुरज न्यौपानेलाई मनोनय गरेका छन् ।

दाङ क्षेत्र नं. ३ को संयोजकमा हेमन्तकुमार योगीलाई मनोनय गरिएको छ । संयोजक योगीले कार्यसमितिलाई पूर्णता दिएर अधिवेशनको तयारी अगाडि बढाउनेछन् ।

देउवा पक्षीय नेताहरूले दाङमा रहेका एक सय वटा वडामा असोज १५ गतेभित्र सबै वडाहरूमा कार्यसमिति गठन गरिनेछ । दाङका दुई उपमहानगरपालिका, एक नगरपालिका र सात वटा गाउँपालिकासहित दश पालिकामा अधिवेशन गर्ने निर्णय भएको संयोजक शर्माले बताएका छन् ।

Published : Thursday, 2026 September 24, 8:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया