रास्वपा महामन्त्री आचार्यद्वारा सरुवा, बढुवाका लागि स्वायत्त सरुवा बोर्ड गठन गर्न माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद एवम् महामन्त्री विपिनकुमार आचार्यले स्वायत्त सरुवा बोर्ड गठन गर्न सरकारसँग माग गरेका छन् ।

बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद आचार्यले आफूलाई सरुवा र बढुवाका लागि धेरैभन्दा धेरै माग आउने गरेको बताए । उनले रास्वपाको बाचापत्रअनुसार छिटोभन्दा छिटो स्वायत्त सरुवा बोर्ड गठन गर्न माग गरेका हुन् ।

सांसद आचार्यले भने, ‘म राजनीतिमा आएपछि सबैभन्दा धेरै प्रेसर भोग्ने भनेको सरुवा र बढुवाको नै हो । अरु बेला सुशासन र पारदर्शिका कुरा गर्ने बेला आफ्नै नातागोता र साथीभाइहरू पनि मेरो घरमा नातावाद र कृपावाद खोज्दै सरुवा, बढुवाका लागि आउनु हुन्छ ।’

‘मैले सबै जनालाई हाम्रो सरकारमा सरुवा, बढुवामा बिधि र पद्धति बाहेक अरु केही पनि हुँदैन भनसुन चल्दैन भन्ने गरेको छु,’ आचार्यले भने ।

‘अझ हाम्रो आफ्नै बाचापत्रको बुँदा नम्बर ८ देखाएर स्वायत्त सरुवा बोर्ड गठन हुने जसले विधि र पूर्वानुमानमा सरुवा, बढुवा गर्छ भनेर भनेको छु । यो सरकारलाई यो बोर्ड चाँडै गठन गर्न आग्रह छ,’ सांसद आचार्यले भने, ‘नत्र यो आउने दशैँमा आफ्नै ईष्टमित्रले टीका लगाएर आशीर्वाद नदेलान् भन्ने पीर छ ।’

महामन्त्री समेत रहेका सांसद आचार्यले भने, ‘अझ काम गरेन भनेर सराप पो दिने हुन् कि भन्ने डर छ । यो सरापबाट मलाई बचाइदिनु प¥यो सरकार ।’

Published : Thursday, 2026 September 24, 1:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया