त्रिपुरेश्वरमा बसभित्र जलेर गम्भीर घाइते चालकको मृत्यु, पहिचान खुल्यो

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा जलेर घाइते भएका अर्जुन दोङ तामाङको मृत्यु भएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी प्रमुख (एसएसपी) दिलिप घिमिरेका अनुसार तामाङको उपचारका क्रममा मृत्यु भएको हो । चालक तामाङ बसमा जलेर गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा कीर्तिपुरस्थित अस्पतालमा मृत्यु भएको एसएसपी घिमिरेले बताए ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका सिस्नेरीका तामाङ त्रिपुरेश्वरमा सोमबार भएको घटनामा जलेका थिए । उनले प्रयोग गरेको सवारी चालक प्रमाणपत्र दावा लामाको नाममा रहेको खुल्न आएको एसएसपी घिमिरेले बताए ।

प्रहरीका अनुसार २०८२ साल कात्तिकमा बालाजु बस पल्टिँदा तीन जना घाइते भएको घटनामा उनी संलग्न रहेका थिए । त्यसयता उनी फरार थिए । घटनामा उनले सुनिल तामाङको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको पाइएको एसएसपी घिमिरे बताए ।

करिब तीन महिनाअघि मूलपानी क्षेत्रमा ट्राफिक प्रहरीसँग अभद्र व्यवहार गरेको घटनामा समेत अर्जुनले दावा तामाङको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको पाइएको छ ।

अर्जुनले अन्य व्यक्तिको नाममा जारी भएका परिचयपत्र तथा कागजातहरू समेत प्रयोग गरेको हुन सक्नेबार थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Published : Tuesday, 2026 September 22, 12:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया