महासंघद्वारा बाढी प्रभावित व्यवसायीको पुनःस्थापनाका लागि पहल, क्षतिको प्रारम्भीक विवरण हस्तान्तरण

काठमाडौं । रसुवाको भोटेकोशी नदीको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायतका पर्यटकीय क्षेत्रमा सञ्चालित होटल तथा रेस्टुरेन्ट व्यवसायमा क्षति पुगेपछि उनीहरूको पुनरुत्थान र दिगो पुनःस्थापनाका लागि होटल व्यवसायी महासंघ नेपालले आफ्नो संस्थागत पहललाई तीव्र बनाएको छ ।

महासंघका अध्यक्ष टी.आर. भण्डारी ‘शंकर’ले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष अञ्जन श्रेष्ठ तथा एफएनसीसीआई पर्यटन समितिका पदाधिकारीहरूसँग भेटघाट गरी बाढी प्रभावित होटल, साना रेस्टुरेन्ट तथा खाजाघरहरूको क्षतिको विस्तृत प्रारम्भीक विवरण र नामावली औपचारिक रूपमा हस्तान्तरण गरेका छन् ।

पर्यटन समितिद्वारा आयोजित विशेष बैठकमा अध्यक्ष भण्डारीले बाढी प्रभावित क्षेत्रमा हाल उद्धारको कार्य सम्पन्न भई राज्यका तर्फबाट खाद्यान्न र तत्काल राहत पुगेको भएतापनि, क्षतविक्षत बनेका साना तथा मझौला पर्यटन व्यवसायीहरूलाई पूर्ववत् अवस्थामा फर्काउन दीर्घकालीन पुनःस्थापनाका लागि पहल गर्न आग्रह गरेका छन् ।

महासंघका अध्यक्ष श्रेष्ठ र पर्यटन समिति समक्ष बाढीका कारण विस्थापित बनेका व्यवसायीहरूलाई पुनः स्थापित गर्न विशेष आर्थिक पुनरुत्थान प्याकेज र अनुदानको व्यवस्था गरिनुपर्ने, प्रभावित व्यवसायीहरूले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको पुनःसंरचना, ब्याज मिनाहा वा छुटका लागि सरकारसँग पहल गरिनुपर्ने, बीमा गराएका व्यवसायीहरूको दाबी रकम तत्काल भुक्तानी दिलाइनुपर्ने र बीमाको पहुँचबाहिर रहेका ग्रामीण भेगका साना होटल तथा खाजाघर व्यवसायीहरूलाई क्षति मूल्याङ्कनका आधारमा विशेष आर्थिक सहयोग प्रदान गरिनुपर्ने माग गम्भीर रूपमा उठाइएको छ ।

अध्यक्ष भण्डारीद्वारा प्रस्तुत गरिएको विवरण र मागप्रति एफएनसीसीआईका अध्यक्ष श्रेष्ठ तथा पर्यटन समितिले पूर्ण समर्थन जनाएका छन् । अध्यक्ष श्रेष्ठले बाढी प्रभावित पर्यटन व्यवसायीहरूको पुनःस्थापना, बीमा दाबी भुक्तानी र वित्तीय सहुलीयतका लागि सरकार तथा नेपाल राष्ट्र बैंकसँग महासंघको तर्फबाट सशक्त पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

विपद्को कठिन परिस्थितिमा होटल व्यवसायी महासंघ नेपाल प्रभावित क्षेत्रका साना–मझौला व्यवसायीहरूको व्यावसायिक सुरक्षा र पुनःस्थापना नभएसम्म निरन्तर समर्पित रहने अध्यक्ष भण्डारीले बताएका छन् ।

Published : Monday, 2026 September 21, 1:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया