आईजीपी कार्की आसरा सुधार केन्द्रको वार्षिकोत्सवमा सहभागी

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा आसरा सुधार केन्द्र रानीबारीको ३०औं वार्षिकोत्सव सम्पन्न भएको छ ।

आसरा सुधार केन्द्रको कार्यालय रानीबारीमा बिहीबार आयोजित कार्यक्रममा आईजीपी कार्कीले केन्द्रका सल्लाहकारहरूलाई सम्मानपत्र प्रदान गर्नुका साथै नेपाल प्रहरी केनाईन कार्यालय महाराजगंजलाई प्रशंसापत्र तथा केन्द्रको आन्तरिक सुरक्षा एवम् व्यवस्थापनमा योगदान पु¥याउने प्रहरी कर्मचारीहरूलाई प्रशंसापत्र र नगद पुरस्कार प्रदान गरेका छन् ।

उनले केन्द्रसँग सम्बन्धित विभिन्न गतिविधिहरूका सन्देशमूलक फोटोहरू तथा लागूऔषध एवम् समसामयिक विषयवस्तुहरूसँग सम्बन्धित विभिन्न लेख रचनाहरू संकलन गरी केन्द्रद्वारा प्रकाशित साहित्यिक रचना ‘आसरा दर्पण २०८३ ’ को विमोचन समेत गरेका छन् ।

आईजीपी कार्कीले आसरा सुधार केन्द्रको गरिमा र प्रतिष्ठा कायम राख्दै आजको दिनसम्म ल्याई पु¥याउन अथक परिश्रम गर्ने सुधार केन्द्र परिवार, सल्लाहकार, सहयोगी लगायतलाई धन्यवाद व्यक्त गरेका छन् ।

लागूऔषध दुर्व्यसनमा फसेका व्यक्तिहरूलाई मानवीय तथा सुधारात्मक दृष्टिकोण आत्मसात् गर्दै उपचार मार्फत् उनीहरूमा सकारात्मक परिवर्तन ल्याई समाजमा पुनर्स्थापित गर्न केन्द्रले पु¥याउँदै आएको योगदानको आईजीपी कार्कीले उच्च प्रशंसा गरेका छन् ।

लागूऔषधको उत्पादन, विक्री वितरण, ओसारपसार र सेवन विश्वव्यापी रूपमै एक जटिल समस्याको रूपमा देखिएको र लागूऔषध दुर्व्यसनका कारण व्यक्ति, परिवार र समुदायका साथै राष्ट्रको समग्र सामाजिक, आर्थिक र उत्पादनशील क्षेत्रमा समेत गम्भीर असर पुगिरहेको बताउँदै नेपाल प्रहरीले लागूऔषध नियन्त्रण, रोकथाम र न्यूनीकरणका क्षेत्रमा निर्मम रूपमा कार्यसम्पादन गर्दै आइरहेको आईजीपी कार्कीले बताए ।

प्रहरी महानिरीक्षक कार्कीले लागूऔषधको प्रयोगमा फसेर सुधार केन्द्र पुग्नुभन्दा लागूऔषध दुर्व्यसनमा फस्न नदिनु नै हाम्रो चासो र चिन्ताको विषय रहेको बताए । उनले यसका लागि परिवार, समाज, विद्यालय तथा सकारात्मक परिवर्तन सोच्ने सबैको साथ र सहयोग आवश्यक रहेको बताएका छन् ।

समारोहमा केन्द्रकी अध्यक्ष श्रीमती नवीना खत्री कार्कीले केन्द्रका परामर्शदाता तथा कर्मचारीहरूलाई प्रशंसापत्र र नगद पुरस्कारको साथै आन्तरिक खेलकुद प्रतियोगितामा विजयी हुने केन्द्रमा उपचाररत सदस्यहरूलाई पुरस्कार प्रदान गरेकी छिन् । अध्यक्ष कार्कीले लागूऔषधको दलदलमा फसेका लागूऔषध प्रयोगकर्ताहरूलाई सुधारात्मक तथा उपचारात्मक पद्दतिबाट सुधार गरी घर, परिवार तथा समाजसँगको पुनर्मिलन गर्ने लक्ष्य राखी केन्द्र स्थापना भएको बताएकी छिन् ।

केन्द्रको उद्देश्य प्राप्तिका लागि आगामी दिनमा अझ परिस्कृत तरिकाले कार्यक्रमहरू संचालन गरी केन्द्रको भूमिकालाई थप बहुआयामिक बनाउँदै लैजाने अध्यक्ष कार्कीले बताएकी छिन् ।

केन्द्रकी उपाध्यक्ष श्रीमती सुस्मिता केसी अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । समारोहमा केन्द्रमा उपचाररत सदस्यहरूले गीत, नृत्य प्रस्तुत तथा कविता वाचन र संगीत प्रशिक्षकबाट वाँसुरीको धुन समेत प्रस्तुत गरिएको थियो ।

Published : Thursday, 2026 September 17, 9:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया