गाउँपालिकाकी उपाध्यक्ष राई र छोराविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अञ्जु नाछिरिङ राईसहित दुई जनाविरुद्ध आरोपपत्र दायर गरेको छ ।

बुधबार अख्तियारले विशेष अदालत, काठमाडौंमा अञ्जुसहित दुई जनाविरुद्ध आरोप पत्र दायर गरेको प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

आर्थिक वर्ष ०८०÷८१ मा सोताङ गाउँपालिकामा सञ्चालन भएको ९० कार्यदिनको ढाका सिलाइ–बुनाइ तालिममा प्रशिक्षकको रूपमा काम दिलाएबापत उपाध्यक्ष राईले ४५ हजार माग गरेको उजुरी परेको प्रेस विज्ञप्तिमा उल्लेख छ । ४५ हजार उपाध्यक्ष राईले आफ्ना छोरा सुनिल नाछिरिङ राईको बैंक खातामा रहेको क्यूआर कोडमार्फत जम्मा गर्न लगाएकी थिइन् ।

उपाध्यक्ष अञ्जुले आफ्नो पद तथा पदीय जिम्मेवारीको क्रममा गाउँपालिकाबाट सञ्चालन भएको ढाका बुनाइ तालिममा प्रशिक्षकको रूपमा काम दिलाए–दिलाउन लगाए तथा तालिममा सहजीकरण गरे–गराएबापत सेवाग्राहीबाट ४५ हजार घुस, रिसवत लिएको आयोगले जनाएको छ ।

अञ्जविरुद्ध ४५ हजार बिगो कायम गरी कैद तथा बिगोबमोजिम जरिवाना सजायको मागदाबी गरेर अख्तियारले आरोप पत्र दायर गरेको जनाएएको छ ।

सुनिलले उपाध्यक्ष अञ्जुसँगको मिलेमतोमा सेवाग्राहीबाट ४५ हजार घुस, रिसवतबापतको रकम लिएको र उक्त रकम उपाध्यक्ष राईसमेतका निमित्त उपलब्ध गराई प्रयोग तथा प्रचलनमा ल्याएको अख्तियारको आरोप छ ।

सुनिलविरुद्ध पनि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(२) बमोजिमको कसूरमा ४५ हजार बिगो कायम गरी कैद तथा बिगोबमोजिम जरिवाना सजायको मागदाबी गरिएको आयोगले जनाएको छ ।

Published : Thursday, 2026 September 17, 8:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया