राजनीतिक आस्थाका आधारमा निर्माण व्यवसायीहरू विभाजित हुनु हुँदैन : कांग्रेस सभापति बानियाँ
हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँले निर्माण व्यवसायीहरू राजनीतिक आस्थाका आधारमा विभाजित नभई व्यवसायिक हकहित र साझा मुद्दामा एकजुट हुनुपर्ने बताएका छन् ।
मकवानपुर निर्माण व्यवसायी संघको अधिवेशनलाई सम्बोधन गर्दै सभापति बानियाँले संघीय लोकतान्त्रिक व्यवस्थामा तीन तहका सरकारको आ–आफ्नै भूमिका रहेको उल्लेख गरेका छन् । उनले केन्द्र सरकारले नीति निर्माण गर्ने, प्रदेश र स्थानीय सरकारले जनतालाई सेवा–सुविधा प्रदान गर्दै आवश्यक नीति तथा कार्यक्रम कार्यान्वयन गर्नुपर्ने बताए ।
बानियाँले निर्माण व्यवसायी जुनसुकै राजनीतिक दलसँग आबद्ध भए पनि व्यवसायको मूल धर्म व्यवसाय सञ्चालन गर्नु, रोजगारी सिर्जना गर्नु र आर्थिक गतिविधिलाई अघि बढाउनु रहेको बताए ।
कांग्रेस, एमाले, माओवादी, रास्वपालगायत जुनसुकै राजनीतिक आस्था भए पनि चुनावका बेला आफ्नो राजनीतिक अधिकार प्रयोग गरेपछि व्यवसायिक विषयमा भने सबै एक ठाउँमा उभिनुपर्ने सभापति बानियाँले बताए ।
‘देश राम्रोसँग चल्यो भने कुन पार्टीले चलायो भन्नेभन्दा पनि जनता खुसी र सुखी हुन पाउनुपर्छ,’ सभापति बानियाँले भनेका छन् । उनले भ्रम, झुट र निराशाभन्दा सत्य, इमानदारी र जिम्मेवारीको बाटोबाट अघि बढ्नुपर्ने बताए ।
बानियाँले निर्माण क्षेत्रमा आफूले पनि लामो समय काम गरेको स्मरण गरेका छन् । कांग्रेस सभापति बानियाँले व्यवसायीहरूले विभिन्न आरोह–अवरोह र आर्थिक समस्याहरू भोग्नुपरेको पनि बताएका छन् । निर्माण व्यवसायीहरूका समस्या समाधान गर्न राज्यले स्पष्ट नीति तथा व्यवहारिक व्यवस्था गर्नुपर्ने उनले बताए ।
सभापति बानियाँले निर्माण व्यवसायीहरूले आफ्नै संरक्षण तथा कल्याणकारी कोष स्थापना गर्नुपर्ने प्रस्तावसमेत अघि सारेका छन् ।
व्यवसायी वा उनीहरूको परिवारमा कुनै समस्या आइपरेमा उपचार, शिक्षा तथा अन्य आवश्यक सहयोग उपलब्ध गराउन सकिने गरी कोष निर्माण गर्नुपर्ने उनले बताए ।
आफू सरकारमा रहँदा सामाजिक सुरक्षा कोष निर्माणमा भूमिका खेलेको उल्लेख गर्दै पूर्वमुख्यमन्त्री बानियाँले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीले श्रमिक तथा कर्मचारीलाई उपचारदेखि पेन्सनसम्मको सुरक्षा प्रदान गर्ने बताए ।
उनले आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्न नसकेका विद्यार्थीलाई आफूले व्यक्तिगत रूपमा समेत सहयोग गरेको उदाहरण प्रस्तुत गरेका छन् ।
विपन्न विद्यार्थीले डाक्टर, इञ्जिनियरलगायतका विषय अध्ययन गर्न चाहँदा आर्थिक अभावकै कारण पढाइ रोक्नुपर्ने अवस्था अन्त्य गर्न समाज र सम्बन्धित संस्थाहरूले सहयोग गर्नुपर्ने उनले बताए ।
उनले निर्माण व्यवसायीहरूको एकता, व्यवसायिक सुरक्षा र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै अघि बढ्न आग्रह गरेका छन् । सभापति बानियाँले मकवानपुर निर्माण व्यवसायी संघको अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका छन् ।
बिचार/ब्लग
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया