टोखाको शिव मन्दिर क्षेत्रका नागरिकहरूको घरमा बग्न थाल्यो पानी, ट्याङकरको झञ्झट हट्यो

टंक पन्त

काठमाडौं । केही बर्षदेखि निरन्तरजसो ट्यांकरबाट पानी किनेर खाँदै गरेका काठमाडौंको टोखा, शिवमन्दिर परिसर क्षेत्रका नागरिकका घरमा धारो बग्न थालेपछि स्थानीय नागरिकहरूमा उत्साह छाएको छ ।

स्थानीय नागरिकहरू आफै सक्रिय भएर नैनदेवी हरिहर गुरुकुल धार्मिक बन क्षेत्रको सीमपाखामा बोरिङबाट पानी निकाली एक लाख २० हजार लिटर बराबरको पानी संकलन गर्ने ट्यांकीबाट पानी बितरण प्रारम्भ भएको छ ।

खानेपानीको समस्यालाई ध्यानमा राखेर शिव मन्दिर परिसर टोलसुधार समितिको भेलाले उपभोक्ता समिति बनाएर काठमाडौंको टोखा नगरपालिका– ६ सीमपाखाबाट खानेपानी निकाल्ने र ट्यांकी निर्माण प्रक्रिया थालेको झण्डै तीन बर्षमा सम्पूर्ण काम सम्पन्न भएपछि त्यस क्षेत्रका करीब ६ सय परिवारमा पानी बितरण प्रारम्भ भएको छ ।

नागरिकले आफ्ना लागि आफै खानेपानी समस्याको समस्या समाधान गरेकोमा पूर्व सांसद प्रदीप पौडेलले खुशी ब्यक्त गरेका छन् । आफैले आफ्नो ठाउँबाट पहल गरेपनि शिव मन्दिर टोलका नागरिकहरू सक्रिय भएर लागेका कारण खानेपानीको समस्या समाधान गर्न सकिएको उनले बताए । स्थानीय नागरिकहरूको सक्रियताप्रति पौडेलले आभार ब्यक्त गरेका छन् ।

नैनदेवी हरिहर गुरुकुल धार्मिक ब्यबस्थापन समितिले खानेपानी ट्यांकी निर्माणस्थलका लागि सीमपाखा बनको १० बर्षे कार्ययोजना बनाएर डिभिजन बन कार्यालय हात्तिबनबाट स्वीकृत गराएपछि खुलेको बाटोले गर्दा अहिले पानीको धारा घरघरमा पुग्ने भएको छ । हरिहर मन्दिर सन्यास आश्रम संचालक समिति काठमाडौं, शिव मन्दिर परिसर टोल सुधार समिति कार्यसमिति, टोखा– ६ का वडाध्यक्ष शान्ता खनाल पौडेलसहित सिङ्गो वडा कार्यालय, टोखा नगरपालिकाको संयोजन एवं खानेपानी तथा सरसफाइ डिभिजन ५ भक्तपुरको आर्थिक तथा प्राबिधिक सहयोगले गर्दा स्थानीय नागरिकहरूले खानेपानी समस्याको समाधान गर्न सफलता हासिल गरेका छन् ।

सीमपाखा खानेपानी उपभोक्ता समितिको निरन्तरको नेतृत्वदायी भूमिका र शिव मन्दिर परिसर कार्यसमितिका पदाधिकारी र सल्लाहकारहरूको हरेक समस्या समाधान गर्न गरेको सहयोग एवं नैनदेवी हरिहर गुरुकुल धार्मिक बन ब्यबस्थापन समितिको कानूनी झञ्झट हुन नदिन गरेको पहलबाट प्रतिसेकेण्ड ७ लिटर पानी ट्यांकीमा जम्मा हुने गरी काम सम्पन्न भएको भन्दै उपभोक्ता समितिका कार्यवाहक अध्यक्ष शेरसिंह साउदले सबैलाई धन्यवाद दिएका छन् । उनका अनुसार प्रतिसेकेण्ड ७ लिटर आउने योजना हो तर, अहिले प्रतिसेकेण्ड साढे ३ लिटर आएपनि स्थानीय नागरिकहरूलाई पानी पुगेको जानकारी दिएका छन् । उनले अध्यक्ष खुशीराम पाण्डेप्रति पनि आभार ब्यक्त गरेका छन् । प्रारम्भमा पाण्डेकै नेतृत्वमा काम अगाडि बढेको थियो ।

कतिपय घर परिवारले लामो समयदेखि ट्यांकीको पानी किनेर घर चलाउँदा निकै अफ्ट्यारो भएको थियो । अहिले सीमपाखाबाट पानी बितरण हुन थालेपछि त्यस क्षेत्रमा ट्यांकरको प्रवेश रोकिएको छ । शिव मन्दिर परिसरका नागरिकहरूको पहलमा बोरिङ खन्ने र पानी ट्यांकी सहित पानी बितरण गर्ने सहयोगी बस्ने कोठा र बिजुली मिटरको काम सम्पन्न भएको भएपनि त्यस टोलमा रहेका तीन सय घरपरिवार बाहेक छिमेकी अन्य टोलमा पनि पानी बितरण हुन थालेको छ । जनताले आफ्ना लागि आफै लागिपरेर काम सम्पन्न गरे त्यो आफैमा निकै सकारात्मक पक्ष हो तर, स्थानीय नागरिकहरूले पटक पटक ध्यानाकर्षण गराउँदा पनि भक्तपुर खानी डिभिजनले निर्माण कार्यका लागि (ठेकदार) जसलाई संयोजन गर्न दिएको थियो उसले पूर्णरुपमा सन्तोषजनक रुपमा काम नगरेको कारण खानेपानी बितरण हुँदै गर्दा जुनसुकै बेला समस्या आउने हो कि भन्ने आशंका स्थानीय नागरिकहरूको रहेको छ ।

खानेपानी निर्माण सम्पन्न भएपछि आयोजित उद्घघाटन कार्यक्रममा हरिहर मन्दिर सन्न्यास आश्रमका पीठाधीश प्रधानसंरक्षक श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले मन्दिर र स्थानीय नागरिकहरूका लागि खानेपानी समस्या समाधान गर्न स्वयं स्थानीय नागरिकहरू सक्रिय भएर सफलता हासिल गर्नु अन्य क्षेत्रका लागि उदाहरणीय अनुकरणीय रहेको बताए । शिव मन्दिर परिसरलाई मात्र नभई अन्य वरपर पनि पुग्ने गरी बितरण प्रारम्भ गरिएको पानीलाई फिल्टर गरेर पठाउने ब्यबस्था गरेमा निकै उपयोगी हुने सुझाब दिए ।

टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले पानी फिल्टर गर्ने ब्यबस्था नगरपालिकाले गर्ने जानकारी दिएका छन् । टोखा– ६ का वडाध्यक्ष शान्ता खनालले काम सम्पन्न गर्न अहंभूमिका खेलेकाहरूप्रति बिशेष आभार ब्यक्त गर्दै स्थानीय नागरिकहरूका लागि मात्र नभएर अन्य क्षेत्रका लागि पुग्ने पानी आएको छ यसलाई ब्यबस्थित गर्दै जान थप सचेतना आवश्यक भएको औल्याएकी छिन् ।

उपभोक्ता समितिका कार्यबाहक अध्यक्ष शेरसिंह साउदले एक करोड ४२ लाख रुपियाँ खर्च भएको तर, स्थानीय नागरिकहरूको भूमिका त्योभन्दा बढि रहेको भन्दै धन्यवाद ज्ञापन गरेका छन् । उनले शिव मन्दिर टोल सुधार समितिका बर्तमान अध्यक्ष मीना शर्मा, पूर्व अध्यक्ष जलस्रोत विज्ञ डा.सन्तोष नेपाल, उपभोक्ता समितिका प्रमुख सल्लाहकार बरिष्ठ पत्रकार टंक पन्त, बन समितिका अध्यक्ष भगवान केसी, प्रदेशका पूर्वमन्त्री श्याम खडका, पूर्वमन्त्री प्रदीप पौडेल, टोखा नगरपालिका, वडा कार्यालय, हरिहर मन्दिर संचालक समितिका अध्यक्ष दीवाकरप्रसाद दाहाल लगायतको सहयोग अनुकरणीय रहेको उल्लेख गरेका छन् ।

कार्यक्रममा उपत्यका खानेपानी बिभाग पानीपोखरीका प्रमुख कृष्ण साहले केयुकेललाई हस्तान्तरण गर्ने प्रक्रिया अगाडि बढेको र त्यो कार्य यथाशीघ्र सम्पन्न हुने आश्वासन दिएका छन् । खानेपानी बितरण प्रक्रियालाई ब्यबस्थित गर्नेकाम केयुकेलको भएको हुनाले निर्माण कार्य संपन्न भएपछि उपभोक्ता समितिले केयुकेललाई हस्तान्तरण गरिसकेको छ । हस्तान्तरणको पत्र आउन बाँकी रहेको समितिले जनाएको छ । समितिले केयुकेललाई हस्तान्तरण गर्दा शिव मन्दिर परिसरका नागरिकलाई पहिलो प्राथमिकता राखेर अन्य क्षेत्रमा पानी बितरण गर्न अनुरोध गरेको छ ।

Published : Sunday, 2026 September 13, 9:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया