बबिता घटना प्रकरणमा आक्रोशित रास्वपा सांसद डा.कार्कीले झण्डै दुईतिहाइको सरकारलाई नाङ्गेझार पारिन्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालनजिकै सडक पेटीमा महिलाले बच्चा जन्माउनुपरेको घटनाप्रति चिन्ता जनाएकी छिन् ।

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद डा.कार्कीले संविधानले स्वास्थ्य तथा सुरक्षित मातृत्वको हक सुनिश्चित गरे पनि नागरिकले व्यवहारमा पाउने स्वास्थ्य सेवाबीच ठूलो दूरी रहेको बताइन् ।

उनले भनिन्, ‘सभामुख महोदय, हामी गर्व गर्ने गर्थ्यो– नेपालमा संस्थागत प्रसुति निःशुल्क छ । आमा सुरक्षा कार्यक्रम छ । मातृ मृत्युदर घटिरहेको छ । यहाँसम्म कि यातायात प्रोत्साहन खर्च पनि दिइन्छ ।’

‘गजेन्द्रनारायण सिंह अस्पताल, त्यो पनि संघीय सरकारी अस्पतालको नजिकै सडक पेटीमा एउटी आमाले बच्चा जन्माउनु परेको दृष्यले हाम्रो मातृत्व सेवा र समग्र स्वास्थ्य प्रणालीको रिपोर्ड कार्ड हामीसामु ल्याइदिएको छ,’ डा.कार्कीले भनिन्, ‘संविधानमा हामीले स्वास्थ्यको हक लेख्यौं । सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्यको हक लेख्यौं ।’

उनले भनिन्, ‘कागजमा लेखिएको निःशुल्क सेवा र नागरिकले पाउने व्यवहारिक रुपमा पाउने वास्तविक सेवा यति ठूलो दूरी किन छ ? मेरा केही प्रश्न छन् । प्रष्ट प्रश्न छन् । प्रशव पीडामा महिला जो अस्पताल पुग्छिन् ।’

‘उनको तत्कालै ट्रायाज र इमरेजेन्सी क्लिनिकल असिसमेन्ट सुरु गर्नुपर्छ । त्यो सुरु भयो कि भएन ? मटनल इभ्यालुएनस सुरु गरिनुपर्छ,’ डा.कार्कीले भनिन्, ‘लेवर पेनमा प्रशव पीडामा भएकी महिलालाई तत्कालै भर्ना गरेर तपाईं कतै नजानुस् है, तपाईंको घर खुली सकेको छ, तपाईंलाई हामी निरन्तर हेर्छौं, कहीँ नजानुस्, गाह्रो भयो भने तत्काल हामीलाई खबर गर्नुस् है भन्नु पर्ने थियो । त्यो भनियो कि भनिएन ?’

सांसद डा.कार्कीले भनिन्, ‘अनि अस्पतालले हामीलाई जानकारी नै छैन, कुन बेला त्यो बिरामी त्यहाँबाट निस्किएर गयो भन्न पाउँछ ? अस्पताल पुगेकी बिरामीलाई सुरक्षित तरिकाले भर्ना गर्ने, ट्रान्सफोर्ड गर्ने जिम्मेवारी कसको हो ? रेगुलर असिसमेन्ट गर्दा बिरामी त्यो बेडमा नभएपछि उनलाई खोजी किन गरिएन ? अस्पतालमा फारम भर्दाखेरि फोन नम्बर राखिको हुन्छ । सम्पर्क किन गरिएन ? लड्यो कि ? केही भयो कि ? किन आत्तिने काम भएन ? त्यहाँ किन खोजी गरिएन ? भने पछि हाम्रो इमरजेन्सी मोनिटरिङ सिस्टम कस्तो छ ?’

‘ब्लड टेस्टको लागि पैसा छैन भनेपछि त्यहाँ तत्कालै सामाजिक सेजा इकाइ र आमा सुरक्षा कार्यक्रम किन एक्टिभेट भएन ? आमा सुरक्षा कार्यक्रम के बच्चा जन्माउनलाई फ्रि हो कि सम्पूर्ण स्वास्थ्य सेवाको लागि पनि त्यसले सहयोग गर्नुपर्छ ? हुन त स्वास्थ्य मन्त्रालयले यसको लागि अनुसन्धान अगाडि बढाइ सकेको छ,’ उनले भनिन् ।

‘नेपाल मेडिकल काउन्सिलको टोली पनि पुगेको छ । तर, त्यो अनुसन्धान, त्यो छानबिन केवल को दोषी हो र के कारबाही हो मा सीमित नहोस्,’ सांसद डा.कार्कीले भनिन् ।

‘भविश्यमा यस्ता घटना नदोहोरिने गरी समाधानका उपायहरू अघि बढाइयोस् । सभामुख महोदय, म यहाँ समस्यामात्र राख्न आएको होइन । समाधान पनि सुझाउन आएको छु । नो डिइनायल इन लेवर प्राटोकल लागू गरियोस् । जसमा प्रसवमा आएकी गर्भवती महिलालाई तत्काल कुनै पनि बहाना नबनाइ, पैसा छ या छैन भन्ने नहेरिकन क्लिनिकल असिसमेन्ट सुरु गरियोस् । र सुरक्षित तरिकाले अस्पतालमा राखियोस् । आमा सुरक्षा कार्यक्रममा फ्रि डेलिभरी प्रसुति गराउनका लागि मात्र निशुल्क होइन, समग्र उपचारको लागि, स्वास्थ्य सेवाको लागि, औषधिको लागि, प्रसवको लागि, प्रसुतिको लागि कार्यक्रमलाई व्यवस्थित गरियोस्,’ उनले भनिन् ।

Published : Friday, 2026 September 11, 3:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया