युक्रेनमा हतियार किन्न पोर्न व्यवसायमा कर लगाउने

लण्डन । युक्रेन सरकारले देशमा भइरहेको एडल्ट कन्टेन्ट (पोर्न) व्यवसायलाई कानूनी दायरामा ल्याएर कर लगाउने तयारी गरेको छ ।

अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलका अनुसार यसबाट युक्रेन सरकारलाई वार्षिक करीब साढे २ करोड डलर थप आम्दानी हुने अनुमान गरिएको छ । यो रकमबाट युद्धका लागि आवश्यक पर्ने करीब ३० हजार ड्रोन खरिद गर्न सकिन्छ ।

युक्रेनमा हाल पोर्नोग्राफीलाई पूर्ण रूपमा कानूनी मान्यता छैन । यसलाई वैधानिक बनाउनुको मुख्य उद्देश्य सरकारको आम्दानी बढाउनु मात्र नभई भ्रष्टाचारको बाटो बन्द गर्नु पनि रहेको अधिकारीहरूले बताएका छन् ।

यसले प्रहरीलाई एडल्ट कन्टेन्टका सानातिना मुद्दामा अल्झिनुभन्दा गम्भीर अपराधमा ध्यान केन्द्रित गर्न मद्दत गर्नेछ । हाल यो व्यवसाय कानूनी कारबाहीको डरले लुकिछिपी चलिरहेको छ ।

युक्रेनमा अनलाइन एडल्ट कन्टेन्टको कारोबार तीव्र रूपमा बढेको छ । सेप्टेम्बर २०१६ बाट शुरु भएको ‘ओन्ली फ्यान्स’ जस्ता सब्सक्रिप्सनमा आधारित प्लेटफर्ममा ठूलो संख्यामा युक्रेनी क्रिएटरहरू सक्रिय छन् ।

सन् २०२३ मा मात्रै करिब ८ हजार युक्रेनी क्रिएटरले ‘ओन्ली फ्यान्स’बाट १३ करोड १० लाख डलरभन्दा बढी कमाएका थिए । तर, युक्रेनको हालको कानूनअनुसार पोर्न कन्टेन्ट बनाउनु र वितरण गर्नु गैरकानूनी छ ।

कतिपय कन्टेन्ट क्रिएटरले आफ्नो कमाइ सरकारलाई जानकारी गराएर कर तिर्ने प्रयास गरे पनि उनीहरूले अनुसन्धानको सामना गर्नुपरेको छ ।

फेब्रुअरी २०२२ देखि रुससँग युद्ध लडिरहेको युक्रेनको सबैभन्दा ठूलो खर्च रक्षा र सेनामा भइरहेको छ । विश्व बैंकको तथ्याङ्कअनुसार सन् २०२४ सम्म युक्रेनले युद्धमा करीब १७१ अर्ब डलर खर्च गरिसकेको छ ।

सन् २०२५ मा युक्रेनले सुरक्षा र रक्षामा करीब ३.८३ ट्रिलियन रिभ्निया खर्च गरेको छ । देशको कुल गार्हस्थ्य उत्पादनको ४२.९ प्रतिशत हो ।

गत अगस्ट (२०२६) मा युक्रेनका रक्षामन्त्रीले सन् २०२६ को सैन्य बजेटमा करिब २७ अर्ब डलरको अभाव रहेको जानकारी गराएका थिए ।

Published : Monday, 2026 September 7, 4:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया