जेनजी आन्दोलनको बहानामा लुटपाट गरेर ध्वस्त पारिएको टंगालको भाटभटेनी पुनः सञ्चालन
काठमाडौं । काठमाडौंको टङ्गालस्थित भाटभटेनी सुपरमार्केटको मुख्य स्टोर मंगलबारदेखि पूर्ण रूपमा पुनः सञ्चालनमा आएको छ ।
जेन्जी आन्दोलनका क्रममा लुटपाट, चोरी, आगजनी, तोडफोड र क्षतिबाट पूर्ण रूपमा ध्वस्त भएको भाटभटेनीको भवनलाई भत्काएर नयाँ संरचना निर्माण गरिएको हो । पुनःनिर्माण सम्पन्न भएपछि विशेष कार्यक्रमबीच स्टोर पुनः सञ्चालनमा ल्याइएको छ ।
भाटभटेनी सुपरमार्केटका सञ्चालक तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले भावुक हुँदै भाटभटेनीको सम्पत्ति केवल निजी सम्पत्ति नभई राज्यकै सम्पत्तिसरह रहेको बताएका छन् ।
उनले भने, ‘यो भाटभटेनीको सम्पत्ति मात्रै होइन, राज्यको सम्पत्ति हो । मेरो सम्पूर्ण लगानी यही राज्यमा छ र आगामी दिनमा पनि यही देशमा लगानी गर्छु । यही देशको माटोमा जन्मिएँ, यही माटोमा हुर्किएँ र अन्तिम सास पनि यही माटोमा फेर्न चाहन्छु ।’

‘यो देशको समृद्धि, भविष्य र जनताको हितका लागि निरन्तर लागिरहनेछु,’ गुरुङले भनेका छन् ।
जेन्जी आन्दोलनका क्रममा भाटभटेनीका १२ वटा स्टोरमा आगजनी तथा क्षति पुगेको थियो । तीमध्ये पुनःनिर्माण सम्पन्न भएका १० वटा स्टोर क्रमशः पुनः सञ्चालनमा आइसकेका छन् ।
टङ्गालस्थित मुख्य स्टोरको पुनः सञ्चालनसँगै भाटभटेनीले आफ्ना ग्राहकलाई पुनः सेवा दिन थालेको छ । ध्वंसपछि पुनर्निर्माण, निराशापछि नयाँ आशा—भाट–भटेनी फेरि ग्राहकको सेवामा फर्किएको छ ।
देशमै लगानी, देशमै रोजगारी र देशकै समृद्धिका लागि निरन्तर अघि बढ्ने प्रतिबद्धतासहित टङ्गाल स्टोर पुनः सञ्चालनमा आएको छ ।
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी

फेसबुकबाट तपाईको प्रतिक्रिया