जीयू फाउन्डेसनद्वारा बाढी प्रभावित १ हजार २५० घरधुरीलाई राहत बितरण

काठमाडौं । रसुवा बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत तथा आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले गणेश उज्ज्वल स्मृति प्रतिष्ठान (जीयू फाउन्डेसन) ले जापानस्थित विभिन्न सहयोगी तथा साझेदार संस्थासँगको सहकार्यमा राहत तथा सहयोग अभियान सञ्चालन गरिरहेको छ ।

अभियानअन्तर्गत धादिङ, रसुवा र नुवाकोटका विभिन्न बाढी तथा पहिरो प्रभावित क्षेत्रमा स्थानीय आवश्यकता र स्थलगत अवस्थाका आधारमा खाद्यान्न तथा अन्य अत्यावश्यक राहत सामग्री वितरण गरिएको छ । हालसम्म १ हजार ५० घरधुरीमा राहत वितरण सम्पन्न भइसकेको छ । थप २०० घरधुरीमा राहत पुर्‍याउन बाँकी रहेको छ । पहिलो चरणमा कुल १ हजार २५० घरधुरीसम्म राहत पुर्‍याउने लक्ष्य प्रतिष्ठानले लिएको फाउण्डेशनकी अध्यक्ष साबित्री श्रेष्ठले जानकारी दिइन् ।

धादिङका २०० घरधुरी, रसुवाको उत्तरगया गाउँपालिकाका २५० घरधुरी तथा गोसाइँकुण्ड गाउँपालिकाका २५० घरधुरीलाई राहत सामग्री उपलब्ध गराइएको छ । गोसाइँकुण्डमा विद्युत् सुविधा प्रभावित भएका क्षेत्रलाई ध्यानमा राख्दै मोबाइल चार्ज गर्न मिल्ने सोलार चार्जर तथा सोलार बत्ती, महिलाका लागि सेनेटरी प्याड र लामखुट्टेको झुललगायत सामग्री वितरण गरिएको थियो ।

नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित राई तथा मिजार बस्तीका ६७ घरधुरी र लमासोतीका दुई होल्डिङ सेन्टर मा रहेका ८३ घरधुरीलाई खाद्यान्न, ब्ल्याङ्केट, सोलार चार्जर, सोलार बत्ती, सेनेटरी प्याड तथा लामखुट्टेको झुललगायत सामग्री प्रत्यक्ष रूपमा वितरण गरिएको छ ।

देवीघाटमा विद्यालय भवनलाई अस्थायी होल्डिङ सेन्टरका रूपमा प्रयोग गरिँदा विद्यार्थीको नियमित पठनपाठन प्रभावित भइरहेको अवस्थालाई ध्यानमा राख्दै प्रभावित परिवारलाई सकेसम्म छिटो सामान्य जीवनमा फर्काउने उद्देश्यले मागअनुसार २०० घरधुरीलाई ग्यास चुलो सेट समेत वितरण गरिएको छ ।

राहत सामग्री व्यवस्थापन, स्थानीय तहसँगको समन्वय तथा प्रभावित परिवारसम्म सामग्री पु¥याउने र प्रत्यक्ष वितरण गर्ने कार्यमा जीयू फाउन्डेसनले नेतृत्व गरिरहेको छ । रसुवामा गरिएको राहत सहयोग भने काठमाडौं विश्वविद्यालयको एकेडेमिया–इन्डस्ट्री कोअर्डिनेसनको समन्वयमा उपलब्ध गराइएको हो ।

अब नुवाकोटको सूर्यगढी गाउँपालिकाका थप २०० घरधुरीलाई आवश्यक राहत तथा आपत्कालीन सामग्री वितरण गर्ने कार्यक्रम रहेको छ । यससँगै पहिलो चरणमा निर्धारित १ हजार २५० घरधुरीसम्म राहत पु¥याउने लक्ष्य पूरा गरिने प्रतिष्ठानले जनाएको छ ।

जीयू फाउन्डेसनले राहत अभियानलाई तत्कालीन सहयोगमा मात्र सीमित नराखी प्रभावित परिवारलाई सकेसम्म छिटो सामान्य जीवनमा फर्काउन सहयोग गर्ने उद्देश्य राखेको जनाएको छ । विद्युत्, खाना पकाउने सुविधा, खाद्यान्न तथा दैनिक जीवनका अन्य अत्यावश्यक सामग्रीको अभावलाई ध्यानमा राखेर राहत सामग्री छनोट गरिएको प्रतिष्ठानले जनाएको छ ।

पहिलो चरणको राहत कार्यक्रम सम्पन्न भएपछि जीयू फाउन्डेसनले दोस्रो चरणमा दीर्घकालीन पुनःस्थापनामा केन्द्रित सहयोग अभियान सञ्चालन गर्ने तयारी गरेको छ । दोस्रो चरणमा शिक्षा, स्वास्थ्य तथा पुनर्वासका क्षेत्रमा आवश्यक सहयोग र सहकार्य गर्दै प्रभावित समुदायलाई सामान्य जीवनमा फर्कने वातावरण निर्माणमा योगदान पुर्‍याउने योजना रहेको छ ।

प्रभावित समुदायको वास्तविक आवश्यकता पहिचान गरी स्थानीय तह, सम्बन्धित निकाय तथा साझेदार संस्थासँगको समन्वयमा प्राथमिकताका आधारमा दोस्रो चरणका कार्यक्रम अघि बढाइने जीयू फाउन्डेसनले जनाएको छ ।

Published : Monday, 2026 September 7, 1:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया