पूर्व प्रधानन्यायाधीश श्रेष्ठद्वारा बाढी प्रभावितहरूलाई राहत वितरण
विदुर । भोटेकोशी नदीबाट प्रभावित भई ज्यान गुमाएका रसुवा र नुवाकोटका व्यक्तिहरूलाई पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र उनको समूहले राहत वितरण गरेको छ ।
नुवाकोटको विदुर नगरपालिकाको वडा नं. १० स्थित सुन्दरी केउरेनी माध्यामिक विद्यालय, गेर्खुटारमा रसुवा र नुवाकोट अन्तर्गत बेत्रावती, ढुंगे, त्रिशुली, भैसेका वाढी पिडितहरु करिव ७० घर पारिवारलाई सिल्पीङ व्याग र ज्याकेट वितरण गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
विदुर नगरापलिका महामण्डलमा रसुवाबाट आएका करीव १०० घरपरिवारलाई ज्याकेट वितरण गरिएको छ । पूर्व प्रधानन्यायाधीश श्रेष्ठले भोटेकोशीको बाढीले प्रभाव परेको त्रिशूली, बटार, देविघाटको स्थलगत अवलोकन र राहत वितरण गरेका हुन् । श्रेष्ठले इतिहासमा कहिल्यै कल्पना नगरेको कुराहरू अहिले रसुवा र नुवाकोटमा भएको बताएका छन् । ‘यो कुरा चाहिँ अब धेरै ठूलो खतराको रूपमा र चेतावनीको रूपमा हामीले लिनुपर्छ,’ श्रेष्ठले भने, ‘यहाँ जनधनको धेरै ठुलो क्षति छ । यो कति क्षति चैँ भन्ने कुराको आँकलनै छैन ।’
‘हिजो देखेको कुराहरू कुनै दृश्यहरू आज रहेनन् । त्यसकारणले अब यो दृश्यहरू जुन देखिन्छ त्यो चाहिँ मलाई लाग्छ विश्वकै ध्यान भङ्ग गर्नको लागि पर्याप्त संकटको अवस्थामा हामी गुज्रेका छौं,’ श्रेष्ठले भने, ‘यो चाहिँ हाम्रो आफ्नै कारणले भएको हो भन्न मिल्दैन । यो विकसित देशहरूले गरेको विकासका नकारात्मक नतिजाहरूले हामीले वातावरणीय अन्याय अथवा जलवायुको अन्याय हामीले बिहोर्नु परेको छ ।’
‘यसलाई संसारसँग हामीले न्याय र क्षतिपूर्ति माग्नुपर्नेछ । जनताले सरकारसँग आफ्नो पुनःस्थापनाको लागि पुनर्वासको लागि, पुनर्जीवनको लागि पनि माग गर्नुपर्नेछ र जनता जनताको बीचमा पनि सम्बन्ध बनाउँछ,’ उनले भने, ‘मलाई राम्रो कुरा के लाग्यो भने अहिले यो जुन राहतहरूको जुन वितरण गर्ने, राहत सङ्कलन गर्ने कुरा भएको छ, स्वतःस्फूर्त रूपमा जनता जनार्दनले आफ्नै पहलमा जो जो भएको सो सामग्री जम्मा गरेर राहत बाँडिरहेको पाएँ ।’
‘यो चाहिँ जनताको स्तरमा स्वतःस्फूर्त जुन परोपकारी भाव, एक अर्कालाई सहयोग गर्ने सहयोगात्मक भाव जो देखेँ, त्यो भाव चाहिँ राजनीतिक स्तरमा सायद देख्न सकिँदैन,’ पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भने, ‘सरकारीस्तरमा सायद त्यो देख्न सकिँदैन । यसैको बलमा अब सरकारले विश्वसँग न्याय माग्नुपर्नेछ । यस्तो परिस्थिति, वातावरणिय क्षयको अवस्था जो देख्नुपरेको छ, म यसलाई मेरो आफ्नो जीवनकालकै सबभन्दा दुर्भाग्यपूर्ण क्षण मान्दछु ।’
उनले भने, ‘असाध्यै राम्रो सुन्दर देवीघाट बजार थियो। जहाँ प्रधानसहर असाध्यै सुन्दर बजार थियो । अहिले नजिक हेर्दाखेरी दलदलको उर्लिरहेको असाध्यै खतरनाक अवस्थामा बगी रहेको देखिन्छ । बाटोको पत्तो छैन ।’
बाढी प्रभावितहरूलाई राहत वितरण कार्यक्रममा समाजसेवीहरू कृष्णमान प्रधान, पूर्णलाल श्रेष्ठ, रवि के.सी., घनश्याम खडका, सुवर्ण श्रेष्ठले पनि सहकार्य गर्दै बाढी प्रभावितहरूलाई सहज रुपमा बस्न महिला र पुरुषहरूको छुट्टाछुट्टै टहरा बनाई अस्थायी बसोबास गराउनुपर्ने बताए । उनीहरूले स्थानीय बसोबासको लागि जग्गा र घरको लागि आर्थिक स्रोतको व्यवस्था संघीय सरकारले गर्नुपर्ने कुरामा जोड दिएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया