विपद्को मौका छोपेर गोरुहरू तस्करी गर्ने ट्रक र चालकलाई हेटौँडाबाट पक्राउ

हेटौँडा । राष्ट्रिय विपद्को मौका छोपेर गोरु तस्करी गर्ने ट्रकलाई चालकसहित जिल्ला प्रहरी कार्यालय, मकवानपुरले गिरफ्तार गरेको छ ।

मंगलबार हेटौँडा उपमहानगरपालिका वडा नं. १० स्थित सडकखण्डमा चेकजाँचका क्रममा २२ वटा चौपाय (गोरुहरू)सहित ट्रकलाई नियन्त्रणमा लिइएको मकवानपुर प्रहरीले जनाएको छ । गोरुहरू तस्करको मुख्य नाइकेको प्रहरीले खोजतलास शुरु गरेको छ ।

गोरुहरू ओसारपसार गरिरहेको ना.६ ख ६५७१ नम्बरको ट्रकसहित चालक रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. २ बस्ने बर्ष अन्दाजी ३० वर्षीय विनय चौधरीलाई नियन्त्रणमा लिएको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ परेका चालक चौधरी, ट्रक र गोरुहरूलाई आवश्यक कारवाहीका लागि पशु सेवा केन्द्र, हेटौंडा, मकवानपुरमा पठाइएको छ ।

पूर्वपश्चिम महेन्द्रराजमार्ग हुँदै गोरु र गाईको तस्करी हुँदै आएको छ । बाँक, बर्दिया लगायतका जिल्लाहरूबाट झापा हुँदै बंगलादेशमा गोरु र गाईको तस्करी हुँदै आएको छ ।

सेटिङमा तस्करहरूले गोरु र गाईको तस्करी गर्दै आएका छन् । गोरु र गाई तस्करहरूबिरुद्ध प्रहरीले पछिल्लो समय कडा निगरानी गर्दै आएको छ ।

भोटेकोशी बाढीका कारण सबैको ध्यान बाढी प्रभावित क्षेत्रमा केन्द्रित रहेका बेला तस्करहरूले गोरुहरू तस्कर गर्न थालेपछि प्रहरीले मकवानपुरमा पक्राउ गरेको छ ।

Published : Wednesday, 2026 September 2, 11:26 am

फेसबुकबाट तपाईको प्रतिक्रिया