बाढी प्रभावितलाई बागमती कांग्रेस र संसदीय दलद्वारा १० लाख सहयोग
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति र संसदीय दलले भोटेकोशी बाढी प्रभावितहरूका लागि दश लाख रुपियाँ हस्तान्तरण गरेको छ ।
नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति र बागमती प्रदेश सभा संसदीय दलले १० लाख ६६ हजार ६ सय ६६ रुपियाँ सहयोग गरेको सभापति एवम् दलका नेता इन्द्रबहादुर बानियाँले बताएका छन् ।
कांग्रेस बागमती प्रदेश कार्यसमितिले ५ लाख ५५ हजार ५ सय ५५ र प्रदेश संसदीय दलले ५ लाख ११ हजार १ सय ११ रुपियाँ सहयोग गरेका छन् ।
सहयोग रकम नेपाली कांग्रेस विपद् व्यवस्थापन कोषमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पुग्ने गरी मंगलबार उपलब्ध गराइएको छ । कांग्रेस बागमती प्रदेशका सहमहामन्त्री हरिशरण श्रेष्ठ चेकमार्फत रकम बुझाएका छन् ।

निवर्तमान मुख्यमन्त्री समेत रहेका सभापति बानियाँले बाढी प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन सहयोग रकम पार्टीमार्फत सरकारलाई हस्तान्तरण गरिएको बताए ।
सभापति बानियाँले भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको तथा चितवन, गोरखा, तनहुँ र नवलपरासीसमेत प्रभावित बनेको बताए । उनले बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै खोज, उद्धार र राहतमा तदारुकता अपनाउन सरोकारवाला सबैसँग अनुरोध गरेका छन् ।
बाढी प्रभावित क्षेत्रमा पार्टीको प्रदेशदेखि वडा र टोल तहसम्मको संरचना परिचालन गरी उद्धार, राहत र पुनःस्थापनामा सरकारी निकायसँग समन्वय गर्न बागमती कांग्रेसका प्रवक्ता तिलकप्रसाद रुवालीको संयोजकत्वमा समन्वय समितिसमेत गठन गरिएको छ ।
समितिले रसुवा, नुवाकोट, धादिङ र चितवनका प्रदेश कार्यसमिति तथा सम्बन्धित जिल्ला सभापतिसँग समन्वय गरी प्रभावित क्षेत्रमा आवश्यक काम अघि बढाइसकेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया