बाढी प्रभावितका लागि बागमती कांग्रेसले साढे ५ लाख सहयोग गर्ने

हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेशले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि ५ लाख ५५ हजार ५ सय ५५ रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ ।

कांग्रेस बागमती प्रदेश कार्यसमितिको तर्फबाट नेपाली कांग्रेस विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको आइतबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । कांग्रेसले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पुग्ने गरी उपलब्ध गराउने जनाएको छ ।

बागमती कांग्रेसले भोटेकोशी नदीको बाढीबाट रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको तथा चितवन, गोरखा, तनहुँ र नवलपरासीसमेत प्रभावित बनेको भन्दै बेपत्ता नागरिकको खोजी तथा उद्धारलाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ ।

प्रदेश सरकार मातहतका अस्पतालमा उपचाररत घाइतेको निःशुल्क उपचार, बिरामी तथा कुरुवाको व्यवस्थापन र खानाको व्यवस्था गर्न तथा दीर्घरोगीका लागि उपलब्ध गराइँदै आएका निःशुल्क औषधिको अभाव हुन नदिनसमेत ध्यानाकर्षण गराइएको छ ।

बाढी प्रभावित क्षेत्रमा पार्टीको प्रदेशदेखि वडा र टोल तहसम्मको संरचना परिचालन गर्ने निर्णय गर्दै उद्धार, राहत र पुनर्स्थापनामा सरकारी निकायसँग समन्वय गर्न प्रदेश प्रवक्ता तिलकप्रसाद रुवालीको संयोजकत्वमा समन्वय समिति गठन गरिएको छ ।

समितिले रसुवा, नुवाकोट, धादिङ र चितवनका प्रदेश कार्यसमिति तथा सम्बन्धित जिल्ला सभापतिसँग समन्वय गरी आवश्यक काम अघि बढाउनेछ ।

बाढीका कारण प्रभावित क्षेत्रमा आवतजावत सहज बनाउन वैकल्पिक सडक, झोलुङ्गे पुल र बेलीब्रिज निर्माण तत्काल अघि बढाउन तथा घरबारविहीन परिवारका लागि अस्थायी र स्थायी पुनर्वासको व्यवस्था गर्न कांग्रेसले प्रदेश सरकारसँग आग्रह गरेको छ ।

आर्थिक वर्ष २०८३/८४ को बजेटमा समावेश १ हजार घर निर्माण तथा आयआर्जनका लागि सीप, प्रविधि र बीउ पुँजी हस्तान्तरण कार्यक्रमलाई बाढीपीडितको पुनर्स्थापनामा केन्द्रित गर्न माग गरिएको छ ।

भोटेकोशी बाढीमा ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै बागमती कांग्रेसले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।

कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागका सदस्यसचिव रामेश्वर ढकालकी धर्मपत्नी शुभद्रा ढकालको गोसाइँकुण्ड क्षेत्रमा भएको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै दिवंगत आत्माको चीरशान्तिको कामना तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

Published : Sunday, 2026 August 30, 6:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया