भोटेकोशीको भिषण बाढीमा सम्पर्कविहीन ओखलढुङ्गाका नागरिकहरूबारे जानकारी दिन गृह मन्त्रालयसँग आग्रह
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद रामहरि खतिवडा नेतृत्वको टोलीले रसुवाको भोटेकोशी नदीमा आएको भिषण बाढीमा सम्पर्कविहीन रहेका ओखलढुङ्गाका नागरिकको तत्काल खोजतलास र उद्धार गरी परिवारजनलाई जानकारी गराउन माग गरेको छ ।
शनिबार गृह मन्त्रालयमा पूर्वसांसद खतिवडा नेतृत्वको टोलीले गृहसचिव राजकुमार श्रेष्ठलाई भेट गरेर भोटेकोशी बाढीका कारण सम्पर्कविहीन भएका ओखलढुङ्गाका नागरिकहरूका बारेमा जानकारी गराउन माग गरिएको हो ।
नेता खतिवडाले सम्पर्कविहीन नागरिकहरूको अवस्था तत्काल पत्ता लगाई जुनसुकै अवस्थामा रहेका भए पनि परिवारलाई यथाशीघ्र जानकारी गराउन तथा खोज तथा उद्धारका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्न आग्रह गरेका छन् ।
गृहसचिव श्रेष्ठले सम्पर्कविहीन व्यक्तिहरूको खोज तथा उद्धारका लागि टोली परिचालन भइरहेको र केही व्यक्तिहरू हाल सुरुङ (टनेल)भित्र रहेको जानकारी प्राप्त भएको बताएका छन् ।
गृहसचिव श्रेष्ठले विपत्तिमा प्रभावित नागरिकका लागि राहत सामग्री व्यवस्थापन तथा वितरणमा विशेष प्राथमिकता दिइएको बताएका छन् ।
विपद्को यस कठिन घडीमा नागरिकको जीवनरक्षा, खोज तथा उद्धार र पीडित परिवारलाई आवश्यक राहत तथा सूचना उपलब्ध गराउन सरकारलाई थप प्रभावकारी रूपमा काम गर्न आग्रह गरिएको कांग्रेस नेता खतिवडाले बताएका छन् ।
सम्पर्कविहीन सबै नागरिकको सकुशल खोज तथा उद्धार गर्नुपर्ने भन्दै ओलढुङ्गाका कांग्रेस नेताहरूले माग गरेका छन् । ‘विपत्तिमा परेका नागरिकको जीवनरक्षा र राहतमा कुनै कमी हुन नदिन सरकारको निरन्तर ध्यानाकर्षण गराइएको छ,’ नेता खतिवडाले भने ।
गृहसचिव श्रेष्ठसँगको भेटमा कोशी प्रदेशका पूर्वमन्त्री प्रदीप सुनुवार, सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनाल, ट्रेड युनियनका पूर्वअध्यक्ष खिलानाथ दाहाल, नेता बालकृष्ण दाहाल, नेपाली कांग्रेस ओखलढुङ्गाकी पूर्व सभापति गोमा के.सी. पार्टी सचिव अजय लुइटेल लगायतका नेता तथा कार्यकर्ताहरू सहभागी रहेको कांग्रेस नेता खतिवडाका स्वकीय सचिव हुकुम राईले बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया