पीडामा रहेका परिवारप्रति ऐक्यबद्धता प्रकट गर्न राष्ट्रिय शोक घोषणा गरौं : कांग्रेस नेता गुरुङ
काठमाडौं । नेपाली कांग्रेसका नेता विद्वान गुरुङले रसुवाको भोटेकोशीमा आएको भिषण बाढी र त्यसले गरेको जनधनको ठूलो क्षतिप्रति दुःख व्यक्त गर्दै राष्ट्रिय झन्डा आधा झुकाएर एकदिन राष्ट्रिय शोक घोषणा गर्न सरकारलाई सुझाव दिएका छन् ।
नेपाल तरुण दलका पूर्वअध्यक्ष समेत रहेका कांग्रेस नेता गुरुङले भने, ‘प्रकृतिसँगको हरेक असन्तुलन र लप्रवाहीले हामीलाई कतिसम्म महँगो मूल्य चुकाउन बाध्य पार्छ भन्ने कुरा हालै रसुवा नाका क्षेत्रमा आएको विनाशकारी बाढी र त्यसले निम्त्याएको मानवीय क्षतिले फेरि एकपटक झकझकाएको छ ।’
‘हिमताल फुटेर भोटेकोशी नदी क्षेत्रमा अचानक आएको यो विकराल बाढीका कारण सयौं नागरिकले ज्यान गुमाउनु परेको छभने कयौं परिवार सर्वस्वविहीन बन्न पुगेका छन्,’ उनले भने ।
‘यस असह्य र मर्माहत परिस्थितिमा अमूल्य जीवन गुमाउने सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जपल अर्पण गर्दै, शोकका यस घडीमा पीडित परिवारजन तथा आफन्तहरूप्रति गहिरो समवेदना प्रकट गर्दछु,’ कांग्रेस नेता गुरुङले भने ।
‘यति ठूलो राष्ट्रिय क्षति हुँदा पनि राज्य संयन्त्रले समयमै सतर्कता अपनाउन नसक्नु र विपत्तिपश्चातको राहत तथा उद्धारमा देखिएको सुस्तता गम्भीर चिन्ताको विषय बनेको छ,’ उनले भने ।
नेता गुरुङले भने, ‘एउटा जिम्मेवार नागरिक र राजनीतिक दलको कार्यकर्ताको नाताले म सरकारसँग जोडदार माग गर्दछु कि तत्काल यस घटनालाई राष्ट्रिय विपद्का रूपमा घोषणा गरियोस् ।’
‘मृतकहरूको सम्मान र शोकसन्तप्त परिवारप्रति ऐक्यबद्धता प्रकट गर्नका लागि एक दिन राष्ट्रिय शोक घोषणा गरी राष्ट्रिय झण्डा आधा झुकाइयोस्,’ नेता गुरुङले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया