नागरिकको जीवन रक्षा र राहतमा सरोकारवाला निकायबीच समन्वय आवश्यक छ : कांग्रेस सांसद शाह
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका उपनेता एवम् सांसद अभिषेकप्रताप शाहले रसुवाको भोटेकोशी नदीमा आएको अप्रत्याशित बाढीबाट जनधनको ठूलो क्षति भएको भन्दै प्रभावित नागरिकहरूको जीवन रक्षाका लागि अपील गरेका छन् ।
शनिबार प्रेस विज्ञप्ति जारी गरेर सांसद शाहले भने, ‘विपद्को यस कठिन घडीमा प्रभावित नागरिकहरूको जीवन रक्षा र राहतलाई सर्वोच्च प्राथमिकतामा राख्दै सबै सरोकारवाला निकायहरूबीच थप प्रभावकारी समन्वय र सहकार्य आवश्यक छ ।’
‘मानवीय सेवामा देखाउनुभएको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको समर्पण सबैका लागि प्रेरणाको विषय बनेको छ,’ सांसद शाहले भनेका छन् ।
‘यस विपद्को समयमा अग्रपंक्तिमा रहेर सेवा गरिरहनुभएका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय तह, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सम्पूर्ण उद्धारकर्मीहरूप्रति पनि आभार प्रकट गर्दछु,’ कांग्रेस संसदीय दलका उपनेता शाहले भने ।
‘बाढी तथा पहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा खटिनुभएका नेपाली सेनाप्रति हार्दिक आभार हालैको बाढी तथा पहिरोका कारण रसुवा लगायत देशका विभिन्न क्षेत्रमा उत्पन्न विपद्को कठिन परिस्थितिमा नागरिकहरूको उद्धार, राहत तथा सुरक्षित स्थानान्तरणका लागि नेपाली सेनाले देखाएको तत्परता, साहस, समर्पण र मानवीय सेवाप्रति हार्दिक धन्यवाद तथा उच्च सम्मान व्यक्त गर्दछु,’ उनले भने ।
‘विशेषगरी रसुवा लगायत अत्यन्त जोखिमपूर्ण तथा दुर्गम क्षेत्रमा आफ्नो ज्यानको समेत प्रवाह नगरी प्रभावित नागरिकहरूको उद्धारमा नेपाली सेनाका जवान तथा अधिकृतहरूले पु¥याउनुभएको योगदान अत्यन्त प्रशंसनीय छ,’ उनले भने ।
‘विपद्को समयमा राज्य र नागरिकबीचको भरोसालाई अझ बलियो बनाउने यस्तो मानवीय सेवाले नेपाली सेनाप्रतिको जनविश्वासलाई थप उचाइँमा पु¥याएको छ,’ सांसद शाहले भने ।
‘बाढी तथा पहिरोबाट प्रभावित देशका अन्य विभिन्न स्थानहरूमा समेत उद्धार तथा राहत कार्यमा निरन्तर खटिनुभएका नेपाली सेनाका सम्पूर्ण टोलीप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु,’ उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया