बाढी प्रभावित क्षेत्रमा राहत लिएर कुन बाटोबाट जाने ? पाउनै पर्ने पीडितले राहत पाएनन्

काठमाडौं । रसुवा भोटेकोशी र त्रिशूली नदीका बाढी प्रभावितहरूका लागि उचित स्थानमा राहत पुग्न नसकेको भनेर स्थानीयले गुनासो गर्न थालेका छन् ।

राहत बाँड्न जानेहरूले पनि नुवाकोटका सुगमस्थानहरूमा राहत बाँडेर फर्किने गरेको स्थानीयले बताएका छन् । राहत बास्तविक पीडितसम्म र सबैभन्दा धेरै प्रभावितले पाएकै छैनन् । राहत लिएर जाने बाटोका विषयमा धेरैलाई जानकारी पनि छैन ।

नुवाकोटका पत्रकार दयानिधि भट्टले राहत वितरणमा देखिएको असमानताप्रति गम्भीर प्रश्न उठाएका छन् । भट्ट आफू पनि बाढी प्रभावित क्षेत्रकै हुन् । उनले बाढी प्रभावित क्षेत्रमा पुगेर सुकिलामुकिलाहरूले तस्बिर र भिडियो बनाएर सामाजिक सञ्जालमा राख्ने गरेका घटनाको पनि आलोचना गरेका छन् ।

पत्रकार भट्टले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कृपया सुकिला कपडा, सेता चुत्ता र आँखामा कालो चश्मा लगाएर बाढी पर्यटनका लागि नुवाकोट नगइदिनुस् ।’

‘यस्तो रबैलाले प्रियजन गुमाएका, बेपत्ता भएका, घाइतेको चित्कारले थिचिएमा पीडितहरुको घाउमा नुनचुक लगाउनेबाहेक केही गर्दैन,’ पत्रकार भट्टले भनेका छन् ।

‘उद्धारमा तालिमप्राप्त सेना, प्रहरी र सशस्त्र प्रहरीबाहेक अरु भिडको काम छैन,’ उनले भने, ‘राहत लिएर जाने हो भने बाढीले क्षति नै नभएको सैनिक तालिम केन्द्र रहेको क्षेत्रमा होइन, गल्छीमा बाढीले बगाउन बाँकी एउटा पुल छ । थानकोट–नौबिसेको बाटो गएर त्यो पुल तर्नुस् ।’

‘धादिङको कल्लेरी हुँदा तारुकाघाट, बुधसिङ घाट, चैनपुर, गौरीबेसी, कालिकोला, माझीगाउँ, बगुवा, हात्तीगौंडा हुँदै अति प्रभावित तुप्चे पुग्नुस्,’ पत्रकार भट्टले भने, ‘जहाँ अभिभावक गुमाएका, परिवार बेपत्ता भएका, घरबारबिहीन भएका, औषधि खान नपाएर तड्पिएका भोका÷नाङ्गा मिानिसहरु छन् । उनीहरुलाई सहयोग गर्नुस् ।’

पत्रकार भट्टले भनेका छन्, ‘अर्को रुट छ, टोखा–छहरे–ढिकुरे–बागेश्वरी हुँदै सबैभन्दा नाजुक अवस्थामा रहेको, राज्यको उपस्थिति शून्य भएको बेत्रावती र रसुवाको उत्तरगया गाउँपालिका पुग्नुस् । विदुरमा राहत लिएर कोही नजानुस्, किनकी विदुरमा लगेको राहत पीडित भएको स्थानसम्म लैजाने बाटो छैन ।’

Published : Saturday, 2026 August 29, 12:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया