प्रहरी श्रीमती संघ र प्याब्सनबीच शैक्षिक सहकार्य, सन्ततीहरूलाई छात्रबृत्ति

काठमाडौं । नेपाल प्रहरी श्रीमती संघ र निजी तथा आवसीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन)बीच शैक्षिक सहकार्यको आपसी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा संघकी अध्यक्ष नवीना खत्री कार्की र प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

समझदारीपत्रअनुसार प्रहरी परिवारका सन्ततीको शैक्षिक अवसर विस्तार, छात्रवृत्ति तथा विद्यार्थी सुरक्षा, अनुशासन र सचेतनामूलक कार्यक्रम सञ्चालन हुनेछ ।

समझदारीपत्रले नेपाल प्रहरीमा कार्यरत बहालवाला प्रहरी परिवार, अमर÷अशक्त प्रहरी परिवार तथा पूर्व प्रहरी परिवारका सन्ततीहरूलाई व्याब्सनले आवद्ध विद्यालयमार्फत छात्रवृत्ति तथा शैक्षिक अवसर उपलब्ध गराउनेछ ।

विद्यार्थीहरूमा अनुशासन, नैतिक शिक्षा, सामाजिक उत्तरदायित्व, साइबर सुरक्षा, लागूऔषध दुर्व्यसन नियन्त्रण, ट्राफिक सुरक्षा तथा बाल सुरक्षा सम्बन्धी सचेतना अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालनमा सहकार्य गरिने समझदारीपत्रमा उल्लेख छ ।

विद्यालय बसका चालक तथा सहचालकहरूका लागि ट्राफिक नियम, विद्यार्थी सुरक्षा, प्राथमिक उपचार तथा आपतकालीन व्यवस्थापन सम्बन्धी सचेतना तथा तालिमको समेत सहकार्य गरिनेछ ।

Published : Thursday, 2026 August 27, 7:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया