उद्घाटन ठूलो कुरा होइन, शिलान्याश र निर्माण ठूलो कुरा हो : रामहरि खतिवडा

‘कसले यो पुल निर्माण गर्न सफल भयो ? त्यसका लागि सबैले त्यो मान्छेलाई धन्यवाद दिनुपर्छ,’ खतिवडाले भने, ‘उद्घाटन गर्न र नामाकरण गर्न बच्चा जन्माउने एउटा हुन्छ, न्वारन गरेर नामाकरण गर्ने पण्डित ठूलो हुँदैन । बच्चा जन्माउने आमा ठूलो हुनुहुन्छ ।’

सिद्दिचरण । नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले झोलुङ्गे पनि उद्घाटन गर्नेभन्दा पनि शिलान्यास र निर्माणको कुरा महत्वपूर्ण रहेको बताएका छन् ।

बुधबार ओखलढुङ्गाको सिद्दिचरण नगरपालिकामा ५ करोड ८० लाख रुपियाँमा निर्माण भएको झोलुङ्गे पुलको उद्घाटनपछि सम्बोधन गर्दै खतिवडाले भने, ‘उद्घाटन ठूलो कुरा होइन । शिलान्याश र निर्माण ठूलो कुरा हो ।’

‘कसले यो पुल निर्माण गर्न सफल भयो ? त्यसका लागि सबैले त्यो मान्छेलाई धन्यवाद दिनुपर्छ,’ खतिवडाले भने, ‘उद्घाटन गर्न र नामाकरण गर्न बच्चा जन्माउने एउटा हुन्छ, न्वारन गरेर नामाकरण गर्ने पण्डित ठूलो हुँदैन । बच्चा जन्माउने आमा ठूलो हुनुहुन्छ ।’

उनले भने, ‘म ती आमालाई धन्यवाद दिन चाहन्छु । न्वारन गर्ने ब्राम्हणलाई होइन । नाम राखेर मान्छे ठूलो हुँदैन । जन्माउने र हुर्काउने आमा ठूलो हुन्छ । न्वारन गर्न पाइन, नामाकरण गर्न पाइने भनेर ती ब्राम्हणहरूले भन्दैमा केही अर्थ हुँदैन । ती आमाले सन्तान जन्माएकी थिइनन् भने आज न्वारन गर्ने काम सम्पन्न हुँदैन थियो ।’

कांग्रेस नेता खतिवडाले छिट्टै पहिरे खोलाको पुल पनि निर्माण सम्पन्न हुने बताएका छन् । उनले भने, ‘पहिरे पुलको पनि छिटै उद्घाटन हुनेछ । पहिला निर्माण कार्य सम्पन्न होस् ।’

नेता खतिवडाले भने, ‘हुलाकडाँडा र श्रष्टापार्क जोड्ने झोलुङ्गे पुलले ओखलढुङ्गा जिल्लालाई चिनाउने काम गरेको छ । ५ करोड २९ लाखमा निर्मित झोलुङ्गे पुलले एउटा नयाँ आयाम थपेको छ ।’

‘झोलुङ्गे पुल निर्माण गर्नका लागि सिद्दिचरण नगरपालिकाका नगरप्रमुख, वडाध्यक्षद्वय विनोद ताम्राकार, उमङ्ग श्रेष्ठ, व्यवसायी ज्ञानेन्द्र मास्के, कोशी प्रदेशका कांग्रेस सांसद एवम् पूर्वमन्त्री प्रदीप सुनुवार लगायतले झकझकाउने काम गर्नुभएको छ ।’

झोलुङ्गे पुल उद्घाटन उद्घाटन गर्न नपाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विश्वराज पोखरेलले गुनासो गरेका छन् । स्थानीय सञ्चारकर्मीहरूसँग सांसद पोखरेलले आफूलाई झोलुङ्गे पुलको उद्घाटनमा नबोलाएको र उद्घाटन गर्न नदिएको भनेर असन्तुष्टि जनाएका बेला कांग्रेस नेता एवम् पूर्वसांसद खतिवडाले झोलुङ्गे पुलको उद्घाटनभन्दा शिलान्यास र आयोजना पूरा गर्न ध्यान दिन सुझाव दिएका छन् ।

Published : Wednesday, 2026 August 26, 10:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया