यो प्राकृतिक विपत्ति राष्ट्रिय संकट हो, आपसी सहयोगका साथ काम गरौं : कांग्रेस नेता भण्डारी
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री शंकर भण्डारीले रसुवाको सीमावर्ती क्षेत्र हुँदै भोटेकोशी र त्रिशूली नदीमा आएको आकस्मिक बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन लगायतका तल्लो तटीय क्षेत्रसम्म पु¥याएको जनधनको अकल्पनीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
बुधबार नेता भण्डारीले प्रेस विज्ञप्ति जारी गरेर राष्ट्रिय संकटको यस घडीमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् । उनले शोक सन्तप्त परिवारजनमा समवेदना र बेपत्ताहरूको शीघ्र खोजी तथा घाइतेहरूको तत्काल उपचारको माग गरेका छन् ।
‘घरबार बिहीन भएका र यात्राको क्रममा अलपत्र परेका नागरिकको गास र बासको प्रबन्ध गर्न सरकारको ध्यान पुग्नेछ भन्नेमा विश्वस्त छु,’ पूर्वमन्त्री भण्डारीले भने ।
‘यस कार्यमा स्थानीय समुदायलाइ सबै प्रकारका मानवीय सहयोगका लागि समेत अपील गर्दछु,’ उनले भने, ‘यो प्राकृतिक विपत्ति राष्ट्रिय संकट हो । यस्तो संवेदनशील समयमा सरकार, सबै राजनीतिक दल तथा आम नागरिक संगठीत रूपमा प्रस्तुत हुन जरुरी छ ।’
‘सम्पूर्ण राज्य संयन्त्र र स्रोत–साधनलाई तत्काल राहत, उद्धार र सुरक्षित स्थानान्तरणमा केन्द्रित गर्न म सरकारको ध्यानाकर्षण गराउँछु,’ भण्डारीले भने, ‘नेपाली कांग्रेसका सम्पूर्ण स्थानीय नेता, कार्यकर्ता र भ्रातृ संगठनहरूलाई तत्काल उद्धार कार्यमा होमिन अनुरोध गर्दछु ।’
कांग्रेस नेता भण्डारीले भने, ‘संकटको यो घडीमा धैर्यता र आपसी सहयोगका साथ काम गर्न सम्पूर्ण नागरिकमा हार्दिक अपील गर्दछु ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया