अख्तियारद्वारा सिचाइँकी प्रमुख अनुपमा र अधिकृत तुलाकान्तविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ लाख ५० हजार घुस लिएको आरोपमा पक्राउ परेका भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, सर्लाहीकी प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरीविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन प्रमुख ढकाल र मेकानिकल अधिकृत चौधरीविरूद्ध विशेषअदालत काठमाडौंमा बुधबार मुद्दा दायर भएको अख्तियारले जनाएको छ ।

बर्दिवासबाट खटिएको टोलीले उनीहरूलाई ७ लाख ५० हजार रुपियाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।

प्रमुख ढकाल र मेकानिकल अधिकृत चौधरीको आपसी मिलेमतो तथा योजनामा १३ वटा डिप बोरिङ तथा मोटर जडान कार्यका लागि १३ वटा छुट्टाछुट्टै उपभोक्ता समितिहरू देखिएको अख्तियारले विज्ञप्तिमा जनाएको छ ।

ती उपभोक्ता समितिहरू कागजमा देखाउनका लागि मात्र गठन गरिएको पाइएको छ । उपभोक्ता समितिले पूरा गर्नुपर्ने सम्पूर्ण प्रक्रिया तथा कागजातहरू उनीहरू आफैले तयार पारी, जल उपभोक्ता समितिको छाप र अध्यक्षको हस्ताक्षर आफैले गरी÷गराई भुक्तानी दिएबापत सेवाग्राहीसँग ७ लाख ५० हजार रुपियाँ घुस बार्गेनिङ गरी लिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर ठहरिएकाले दुवै जनालाई ७ लाख ५० हजार रुपियाँ बिगो कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद र बिगोबमोजिम जरिवाना सजायको मागदाबी लिई मुद्दा दायर गरिएको छ ।

Published : Wednesday, 2026 August 26, 9:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया