रसुवाको बाढीमा उद्धारका लागि राज्यको सबै संयन्त्र परिचालन, ठूलो क्षति

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको लेदोसहितको बाढीले ठूलो जनधनको क्षति पु¥याएको छ ।

बुधबार बिहान आएको लेदोसहितको बाढीले ठूलो क्षति भएको प्रहरीले जनाएको छ । सरकारले लेदोसहितको बाढीमा परेकाहरूको उद्धारमा राज्यको सबै संयन्त्र परिचालन गरेको छ । राहतका सामग्रीदेखि घाइतेको उद्धार, बेपत्ताहरूको खोजी, प्राथमिक स्वास्थ्य उपचारदेखि सबै संयन्त्र परिचालन गरेको हो ।

लेदोसहितको बाढीमा परेर कति हताहती भए भन्ने यकिन हुन सकेको छैन । बेपत्ता, घाइतेहरूका बारेमा पनि यकिन हुन सकेको छैन ।

प्रभावित क्षेत्रबाट हालसम्म आठ जनाको शव फेला परेको नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले जानकारी दिएका छन् । उनले सबैभन्दा पहिला उद्धारको कार्यलाई प्राथमिकताका साथ सुरक्षाकर्मी र स्थानीयहरू परिचालित भएको जनाएका छन् ।

प्रहरीका प्रवक्ता काफ्लेले बाढी प्रभावित क्षेत्रमा अहिले तीव्र रूपमा खोजी तथा उद्धार कार्य जारी छ । खोजी, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन नेपाली सेनाले १४ वटा हेलिकोप्टर र विशेष विपद् व्यवस्थापन टोली परिचालन गरेको जनाएको छ ।

चीनको तिब्बतबाट लेदोसहितको बाढी भोटेकोशीमा आउँदा रसुवा जिल्लामा सबैभन्दा ठूलो र धेरै क्षति भएको छ । त्यसपछि नुवाकोट जिल्लामा लेदोसहितको बाढीले क्षति गरेको छ ।

बुधबार बिहान भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवा भन्सार कार्यालयका २६ जना कर्मचारीसँग सम्पर्कमा आएका छन् । त्यहाँ कार्यरत ४० मध्ये १४ जना कर्मचारी अझै सम्पर्कविहीन भएका छन् ।

बुधबार बिहान चीनको तिब्बत क्षेत्रबाट आएको बाढीले टिमुरेस्थित रसुवा भन्सार कार्यालयका सम्पूर्ण संरचना बगाएको छ ।

Published : Wednesday, 2026 August 26, 3:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया