अदालतको मानहानी हुने गतिविधि भएपछि विश्वासको मत लिने संसदीय प्रक्रियामा कांग्रेस सहभागी भएन
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दल अदालतको सम्मानका लागि मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिन बोलाइएको प्रदेश सभा बैठकमा सहभागी नभएको जनाएको छ ।
मंगलबार कांग्रेसका प्रमुख सचेतक पुकार महर्जनद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सभामुखको यस्तो अलोकतान्त्रिक कदम र अदालतको सम्मानका लागि नेपाली कांग्रेस संसदीय दल आफ्ना सम्पूर्ण प्रदेशसभा सदस्यहरूलाई मिति २०८३ भाद्र ०९ गते दिनको ४ः०० बजे माननीय मुख्यमन्त्री किरण थापा मगरको विश्वासको मत सम्बन्धी संसदीय प्रक्रियामा सहभागी नहुनु हुन ह्विप जारी गर्दछ ।’
‘बागमती प्रदेशका माननीय मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिसम्बन्धी मुद्धा उच्च अदालत पाटन हेटौंडामा विचाराधीन अवस्थामा रहेको सबैको जानकारीमा नै छ,’ कांग्रेसले भनेको छ ।
‘अदालतमा बिचाराधीन अवस्थामा रहेको मुद्धाको सम्बन्धमा प्रदेशसभामा कुनै पनि छलफल नहुने कुरा नेपालको संविधानको धारा १९१ मा स्पष्ट उल्लेख भएको विषय हो भनी नेपाली कांग्रेसले यसअघि नै प्रदेशसभाका सभामुख समक्ष स्मरण गराउँदै मुद्धाको किनारा नलाग्दासम्म यसबारेका कुनै पनि प्रक्रिया संसदबाट अधि नबढाउन अनुरोध गरिसकेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
‘२०८३ भदौ १० गते मुद्धाका दुबै पक्षलाई छलफलका लागि बोलाइएको अवस्थामा अदालतको अवहेलना हुने गरी सभामुखले संसदमा माननीय मुख्यमन्त्री किरण थापा मगरको विश्वासको मत सम्बन्धी प्रक्रिया अधि बढाउनु खोज्नु भएको छ । यसले अदालतको अवहेलनाका साथै प्रदेशसभाका रहेका दलहरुको समेत अवमुल्यन भएको नेपाली कांग्रेसको ठहर रहेको छ,’ कांग्रेसले भनेको छ ।
‘सभामुखज्यूलाई नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दल न्यायीक कसिमा जाँचको प्रक्रियामा अघि रहेको विषयलाई जबरजस्ती अघि बढाएर कुनै पार्टीको प्रवक्ताको भूमिकामा प्रस्तुत नहुन विनम्र अनुरोध गर्दछ,’ कांग्रेसले भनेको छ, ‘उहाँलाई अदालत र दलहरुको अपमान गर्दै निर्दलीयतातर्फ अग्रसर नहुन समेत आग्रह गर्दछ ।’
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अदालतमा मुद्धा दायर गरेको छ । सो मुद्धा किनारा नलाग्दासम्म संसदीय प्रक्रिया अगाडि बढाउन नहुने कांग्रेसको अडान छ । अदालतको मानहानी हुने गरेर बागमती प्रदेश सभा बैठकबाट एमालेका मुख्यमन्त्री किरण थापा मगरले मंगलबार विश्वासको मत लिएका छन् ।

बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया