विदेशी स्याउको आयात रोकौँ, नेपाली स्याउले बजार पाएन : सांसद शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले नेपाली स्याउले बजार नपाइरहेका बेला विदेशबाटस्याउ आयात रोक्न सरकारसँग माग गरेका छन् ।

सोमबार सिंहदरबारमाबसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै शाहीले प्रधानमन्त्री, कृषिमन्त्री तथा सरकारको ध्यानाकर्षण गराए । उनले स्वदेशी उत्पादनलाई प्राथमिकता दिन आग्रह गरेका छन् ।

सांसद शाहीले अघिल्लो आर्थिक वर्षमा मात्रै करीव १० अर्ब ५५ करोड ७५ लाख रुपियाँभन्दा बढीको स्याउ विदेशबाट आयात भएको बताए । नेपाली किसानले उत्पादन गरेको स्याउ भने बजार अभावका कारण समस्यामा परेको उनले बताए ।

सांसद शाहीले अघिल्लो वर्षको साउन महिनामै पनि करीव १ अर्ब ५ करोड ४४ लाख रुपियाँ बराबरको स्याउ आयात भएको बताएका छन् ।

सांसद शाहीले जुम्लाको कृषि सम्भावनालाई राज्यले पर्याप्त रूपमा उपयोग गर्न नसकेको बताउँदै जुम्लामा करीव ३८ हजार ४८६ हेक्टर खेतीयोग्य जमीन रहेको बताए । उनले त्यसको करीव ११ प्रतिशत क्षेत्रमा मात्रै खेती भइरहेको हुँदा बाँकी जमीन उपयोगविहीन रहेको बताएका छन् ।

‘राज्यले जुम्लामा एक अर्ब रुपियाँ लगानी गरिदिए जुम्लाका किसानले नौ अर्ब रुपियाँ बराबरको उत्पादन राज्यलाई दिन सक्छन्,’ राप्रपाका सांसद शाहीले भने ।

Published : Monday, 2026 August 24, 9:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया