संसदको अधिवेशन रोकेर अध्यादेश ल्याउनु यो बहादुरी भने होइन : रास्वपा नेता कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता एवम् सांसद गणेश कार्कीले झण्डै दुईतिहाइको बहुमतको सरकारले संसद रोकेर अध्यादेश ल्याउनु बहादुरी कार्य नरहेको बताएका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत नेता कार्कीले लेखेका छन्, ‘रह्यो अध्यादेश सिफारिस भएको भन्ने कुरा, झन्डै दुईतिहाइ ल्याएको पार्टीको लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु पर्ने अवस्था हुनु बाध्यता हो कि अरूनै भन्ने पछि खुल्ला तर, यो बहादुरी भने होइन ।’

‘अध्यादेश सँधै संविधानले दिएको अधिकार र विधि प्रयोग गर्दै नै आउने हो तर यसपटक पनि अध्यादेशको सिफारिस संविधानको हुबहु अक्षरमा आधारित छ, संविधानको मर्ममा होइन,’ उनले भने ।

‘संविधान अक्षरले बाँच्ने दस्तावेज होइन, मर्मको पालनाले जीवन्त रहने हो,’ रास्वपाका नेता कार्कीले भने, ‘संविधानका अक्षरले संविधानको मर्मलाई सीमित नगरोस् ।’

उनले भनेका छन्, ‘विपक्षी दलले यस्तै बेलामा अध्यादेश ल्याउँदाखेरिका मैले उठाएका प्रश्नहरू अहिले पनि जीवित छन् ।’

‘सरकारले ल्याएको अध्यादेशको बारेमा मेरो धारणा माग्दै र मौनतामा मलाई नै प्रश्न गर्दै मेन्सन, म्यासेज गर्ने सबै साथीहरूप्रति मलाई गौरव छ,’ सांसद कार्कीले भने ।

‘विधिको प्रश्न र जवाफदेहीताको अपेक्षाले मित्रताको मिठासलाई बेस्वादिलो बनाउँदैन भन्ने बुझेका सबैप्रति सम्मान र प्रेम छ,’ उनले भनेका छन् ।

झण्डै दुईतिहाइको सरकारका प्रधानमन्त्री बालेन्द्र शाहले संसदलाई रोकेर दुई अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका छन् । अध्यादेश सिफारिस गरेपछि बालेन सरकारको आलोचना भइरहेको छ ।

Published : Wednesday, 2026 April 29, 10:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया