कांग्रेसको यो अवस्था हुनु विशेष महाधिवेशन, दुबै पक्षलाई मिलाएर एकता आयोजक समिति बनाऔँ : खड्का

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षीय नेताहरूले एकताका लागि विशेष महाधिवेशनबाट आएको नेतृत्वले पहल गर्नुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा बसेको बैठकमा खड्काले पार्टी एकताका लागि सभापति गगन थापा पक्षले कम्तिमा चार वटा शर्त मान्नुपर्ने बताएका छन् । उनले विशेष महाविधेशनबाट आएको केन्द्रीय कार्यसमिति र १४औँ महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिलाई एकीकृत बनाउनुपर्ने शर्त अघि सारेका छन् ।

एकीकृत केन्द्रीय कार्यसमितिले नै कामकारबाही गर्नुपर्ने निवर्तमान कार्यबाहक सभापति खड्काले बताएका छन् ।

दुवै पक्षलाई समेटेर १५औँ महाधिवेशन आयोजक समिति गठन गर्नुपर्ने र १५औँ महाधिवेशनका लागि केन्द्रीय निर्वाचन समिति पनि दुवै पक्षलाई समेटेर सहमतिमा बनाउनुपर्ने खड्काले बताए ।

खड्काले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा पार्टी एकढिक्का राखेर जान पाएको भए कम्तीमा ७० सिट आउने बताएका छन् । खड्काले कांग्रेसको हारको कारण नै विशेष महाधिवेशन भएको बताए ।

‘सिंगो पार्टी एकढिक्का भएर चुनावमा जान पाएको भए पहिलो पार्टी रास्वपा नै बनेपनि ७० कांग्रेस आउथ्यो,’ खड्काले भने, ‘अहिलेकै चुनावको उम्मेदवारको अवस्थामा पनि हामी ५०/६०मा पुग्थ्यौं । चुनावको परिणाम अर्कै हुन्थ्यो । आज जे भोग्नुपर्‍यो देशले त्यो भोग्नुपर्ने थिएन ।’

पार्टी चुनावी हारको मूल कारण विशेष महाधिवेशन गर्ने नेताहरूकै जिम्मामा रहेको उनले बताए । खड्काले पार्टीको यो अवस्थाका मुख्य दोषी पनि विशेष महाधिवेशनको अगुवाइ गर्नेहरू नै रहेको बताए ।

निवर्तमान कार्यबाहक सभापति खड्काले विशेष महाधिवेशन र नियमित महाधिवेशनको मुद्दामा तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आफ्नै वचन तोडेर धोका दिएको पनि बताए । त्यसको साक्षी तत्कालीन केन्द्रीय सदस्य रमेश लेखक रहेको खड्काले बताए ।

खड्काले कांग्रेसको विशेष महाधिवेशन भदौ २४ गतेकै निरन्तरता रहेको बताएका छन् । कांग्रेस आधिकारिताबारे निर्वाचन आयोगको निर्णय पनि त्यसैको निरन्तरता भएको बताउँदै खड्काले त्यसैको जगमा रास्वपाले दुईतिहाई बहुमत हासिल गरेको बताए ।

खड्काले भने, ‘हामीले संविधान, कानुन, नियम, पार्टीका विधान, निर्वाचन आयोगले स्थापित गरेका नजिरहरूको प्रतिकूल निर्णय, कानुनी राज्यको मुलुकमा ती सबैलाई च्यापेर सेटिङको भरमा निर्वाचन आयोगले त्यस्तो निर्णय गर्ला भनेर हामीले सोचेका थिएनौं । जब दुईतीन अगाडि आशंका भए, हामीले गर्नसक्ने प्रयत्न सबै ग¥यौं ।’

आफ्नो व्यक्तिगत कुरा भन्दै खड्काले जसले २४ गतेको घटना घटायो त्यसैको सिलसिलामा विशेष महाधिवेशनको काम भएको बताए । खड्काले भने, ‘जसले २४ गते देश सिर्जना भएदेखिको राज्यसत्ता ध्वंस गरे, नेपालको परिवर्तनमा ००७ सालका, २०४६ सालका, २०४२ सालका, २०६२/६३ का सबै ईतिहाँस खरानी बनाइयो, परिवर्तनकर्ता सबै दलका कार्यालय खरानी बनाइयो, त्यही प्रकरणको निरन्तरता जेसुकै भनिएपनि विशेष महाधिवेशको रूपमा आएको हो । त्यही विशेष महाधिवेशन नभएको भए रास्वपाको दुई तिहाइ आउने थिएन ।’

खड्काले जेजे कारणले, जुनजुन तरिकाले ज–जसले, जेजे गरेपनि लोभ्याएर, भ्रम पारेर, झुक्याएर यी गतिबिधि भएको बताएका छन् ।

‘आधा कांग्रेस बाहिर, आधा कांग्रेस विशेष महाधिवेशनमा । दुई फ्याक गराइयो कांग्रेसलाई विशेष महाधिवेशनको नाममा,’ खड्काले भने । ‘चर्चित छ, सबैलाई थाहा छ । सबैलाई हाम्रो बनाएका छौं, त्यसैले आधिकारिकता हाम्रो हुन्छ । १० दिन अगाडिदेखि यस्तो प्रचार थियो । नभन्दै निर्वाचन आयोगको निर्णय पनि त्यही आयो,’ खड्काले भने ।

क्रियाशील सदस्यता छानबिन समिति पनि दुवै पक्षलाई समेटेर सहमतिकै आधारमा बनाउनुपर्ने उनले बताएका छन् । पार्टीको १५ औं महाधिवेशनलाई एकताको महाधिवेशन कसरी बनाउने भन्ने विषयमा केन्द्रित रहेको नेता मीन विश्वकर्माले जानकारी दिएका छन् ।

बैठकमा १४ औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति, केन्द्रिय पदाधिकारी, सदस्य, जिल्ला सभापति र प्रदेश सभापतिहरू सहभागी छन् । संयुक्त छलफलमा फागुन २१ गते सम्पन्न निर्वाचनको समीक्षा, पराजयका कारणको खोजी तथा आगामी महाधिवेशनको तयारीबारे छलफल भएको छ ।

नेता विश्वकर्माले पार्टीभित्रको एकता कायम राख्दै १५ औँ महाधिवेशनलाई सबै पक्षलाई समेट्ने साझा महाधिवेशनका रूपमा सम्पन्न गर्ने विषयमा छलफल भएको बताए ।

नेता विश्वकर्माले शेरबहादुर देउवा पक्षको विस्तारित भेला पार्टीभित्र देखिएको विवाद समाधान गर्दै एकता कायम गर्ने मुख्य उद्देश्यसहित छलफल भइरहेको बताए । उनले निर्वाचनको समीक्षा, पराजयका कारणहरूको खोजी र १५औँ महाधिवेशनबारे छलफल भइरहेको बताए ।

विश्वकर्माले भने, ‘नियमित महाधिवेशन वैशाख मसान्तमा तोकिएको थियो । त्यो समय पनि आइसकेको छ, त्यसका बारेमा के गर्ने र पार्टीलाई निर्वाचन आयोग र अदालतले वैधानिकता अद्यावधिक गरेर गगन थापा नेतृत्वको कांग्रेसलाई कार्यसमितिलाई वैधानिकता दिइसकेपछि बाँकी साथीहरू अब कसरी पार्टी एकताका लागि क्रियाशील बनाउने, उहाँहरूलाई परिचालित कसरी गर्ने भन्ने विषयमा छलफल केन्द्रित भएको छ ।’

बैठकमा नेता खड्काले विशेष महाधिवेशन र १४औँ महाधिवेशनबाट आएका केन्द्रीय कार्यसमितिलाई एकीकृत गर्नुपर्ने, १५औँ महाधिवेशनका लागि आयोजक समिति गठन गर्नुपर्ने, दुवै पक्षको सम्मानजनक सहभागिता हुनुपर्ने लगायतको विषय ब्रिफिङ गरेका छन् ।

बैठकमा सहभागी नेताहरूले पार्टी एकताका लागि सभापति गगनकुमार थापाको भूमिका अर्थपूर्ण हुने बताए । अहिलेसम्म थापाले एकताका लागि कुनै कदम नचालेको उनीहरूले बताए । पत्रकारहरूसँग कुरा गर्दै नेता भीमसेनदास प्रधानले सभापति गगनकुमार थापालाई एउटा गुटको मात्रै सभापति हुने कि समग्र कांग्रेस पार्टीकै सभापति हुने भन्ने समय आएको बताए ।

नेता रामहरि खतिवडाले पार्टीको विवाद सर्वोच्चले निरुपण गरिसके पनि १५औं महाधिवशेन वृहत एकतासहित कसरी गर्ने भन्नेमा सभापतिले छलफल अघि बढाउनुपर्ने बताए ।

‘फागुन २१ को चुनावअघि विशेष महाधिवेशन गर्ने कि नगर्ने भन्न विवाद थियो । सर्वोच्चले निर्णय गरिसक्यो । अब वृहत एकता गरेर १५औं महाधिवेशन कसरी गर्ने भन्नेबारे छलफल भइरहेको छ ।’

बैठकमा पूर्वसभापति शेरबहादुर देउवानिकट निवर्तमान केन्द्रीय सदस्य, प्रदेशका सभापति, जिल्ला सभापति, क्षेत्रीय सभापति, भातृ सङ्गठनका प्रमुखहरू सहभागी छन् । बैठकमा वीपी कोइरालाका छोरा डा.शशांक कोइराला, गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइरालाको पनि उपस्थिति रहेको छ ।

Published : Tuesday, 2026 April 28, 7:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया