आङ्देम्बे कांग्रेस संसदीय दलको नेतामा सर्वसम्मत, सबै नेताहरू एकातिर भएपछि गगनलाई झट्का
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा समानुपातिक सांसद भीष्मराज आङ्देम्बे निर्विरोध चयन भएका छन् ।
सोमबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले आङ्देम्बेलाई दलको नेताका रूपमा चयन गरेको हो ।
त्यसअघि पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय दलको नेताका लागि आङ्देम्बेको नाम सर्वसम्मत रूपमा प्रस्ताव गरेको थियो ।
दलको नेता बन्न अर्जुननरसिंह केसी र मोहन आचार्यको नामसमेत चर्चामा थियो । अन्तिममा आङ्देम्बेको नाममा सहमति जुटेको छ । सभापति गगनकुमार थापा आफ्ना ससुरा नाता पर्ने अर्जुननरसिंह केसीलाई सर्वसम्मत रुपमा संसदीय दलको नेता बनाउन चाहन्थे । विरोध भएपछि गगन पछाडि हटेका थिए । केसीलाई दलको नेता बनाउन नसकेपछि गगनले ठेकेदार पृष्ठभूमि भएका मोहन आचार्यले दलको नेता बनाउन ठूलो प्रयास गरेका थिए । आचार्यलाई पनि बनाउन गगन असफल भएका थिए । संसदीय दलको नेतामा आङ्देम्बेको पक्षमा गगन बाहेक सबै नेताहरू देखिएका थिए । त्यसपछि गगन पछाडि हटेर आङ्देम्बेलाई सर्वसम्म दलको नेता बनाउन तयार भएका हुन् ।
केसी, आङ्देम्बे र आचार्यले दाबी गरेका कारण कांग्रेसले दलको नेता चयन गर्न सकेको थिएन । आङ्देम्बेलाई पूर्व सभापति शेरबहादुर देउवा र नेता डा.शेखर कोइराला पक्षको समेत समर्थन रहेको छ । उनलाई सर्वसम्मतिमा दलको नेता चयन गर्न उपसभापति विश्वप्रकाश शर्माले पनि सक्रियता देखाएका थिए ।
आङ्देम्बेलाई शर्माका अलवा अर्का उपसभापति पुष्पा भुषाल, महामन्त्रीद्वय पौडेल र गुरुराज घिमिरे सर्वसम्मतिबाटै संसदीय दलको नेता चयनका लागि छलफलमा जुटेका थिए ।
विक्रम संवत् २०२० सालमा पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ मा जन्मेका आङदेम्बे २०३६ सालको जनमत संग्रहमा बहुदलका पक्षमा उभिएका थिए । त्यसपछि भएका विभिन्न आन्दोलनमा सक्रिय रहे ।
आङ्देम्बेले नेपाल विद्यार्थी संघ, तरुण दल र कांग्रेसका विभिन्न पदमा रहेर जिम्वेवारी निर्वाह गरिसकेका छन् ।
२०४६ सालको जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै आङ्देम्बे अग्रपंक्तिका युवा नेताका रूपमा स्थापित भए । सोही आन्दोलनले देशमा बहुदलीय लोकतन्त्र पुनःस्थापना ग¥यो, जसमा आङ्देम्बेको सहभागिता उल्लेखनीय रहृयो । आन्दोलनका क्रममा उनी पक्राउ समेत परेका थिए ।
२०४६ देखि २०५२ सालसम्म नेविसंघको केन्द्रीय सदस्यका रूपमा दुई कार्यकाल निर्वाचित हुँदै उनले संगठन निर्माण, कार्यकर्ता परिचालन र लोकतान्त्रिक मूल्यको विस्तारमा महत्वपूर्ण भूमिका खेलेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया