डा.शेखर कोइरालाद्वारा बुद्धिजीवी, विश्लेषक, कानून व्यवसायी, पत्रकारहरूसँग छलफल, गगनको भूमिका गतिलो भएन
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीको पछिल्लो अवस्थाका बारेमा बुद्धिजीवीहरूसँग छलफल गरेर रायसुझाव लिएका छन् ।
आइतबार काठमाडौंको विशालनगरस्थित सम्पर्क कार्यालयमा डा.कोइरालाले आफू निकटका नेताहरूसहित बुद्धिजीवीहरूसँग छलफल गरेका हुन् । छलफलमा नेताहरू धनराज गुरूङ, डा.शशांक कोइराला, बद्री पाण्डे, जीवन परियार, डा.मीनेन्द्र रिजाल, एनपी साउद, सुजाता कोइराला, डा.गोविन्दराज पोखरेललगायत सहभागी थिए ।
छलफलमा बुद्धिजीवी, वकिल, पत्रकार, विश्लेषकहरूको उपस्थिति रहेको थियो । वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, पुरुषोत्तम दाहाल, किशोर नेपाल, बिष्णु बुढाथोकी, दिनेश भट्टराई, मधुरमण आचार्य, हरिदर्शन श्रेष्ठ, उपेन्द्रकेशरी न्यौपाने, बिनिता कार्की, जगदीश दाहाल, कुलचन्द्र वाग्ले, पुरञ्जन आचार्य, उद्धव प्याकुरेल, जेनजी युवा अभिजित अधिकारी, करिना पुरी लगायत सहभागी थिए ।
डा.कोइरालाले आफू मध्यमार्गीधारबाट अगाडि बढ्ने बताएका छन् । एक नेताका अनुसार, ‘डा.शेखर कोइरालाले आफू पार्टी एकताका लागि मध्यमार्गी बनेर बसिरहेको छु भन्नुभयो । दुवै खेमा अतिवादी भए भन्ने उहाँको कुरा थियो ।’
छलफलका सहभागीहरूले निर्वाचन आयोग र सर्वोच्च अदालतबाट कानूनी बैधता पाएको नेपाली कांग्रेसको नेतृत्वले पछिल्लो समय आफ्ना धारणा राख्ने समेत नसक्ने अवस्थामा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । वीपी कोइरालाको ईतिहाँस जल्दा, नेताहरूको घर जलाउँदा पनि नबोलेको कांग्रेस नयाँ सरकार बनेपछि झनै बोल्न छोडेको बुद्धिजीवी सहभागीहरूले बताएका छन् ।
‘कांग्रेस नराष्ट्रिय नअन्तर्राष्ट्रिय मुद्दामा बोल्न सकेको छ । कांग्रेसलाई बोल्ने बनाउनुपर्छ भन्ने विचार आए,’ एक नेताले बताए ।
कांग्रेस एकढिक्का रहन सकेन भने आगामी १५/२० वर्ष सत्ताबाट बाहिर रहने विश्लेषण पनि छलफल भएको छ । वुद्धिजीवीहरूले कांग्रेसका लागि करीव दुई दशक कठिन अवस्था रहने चेतावनी दिएका छन् ।
राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले कांग्रेस बलियो बनाउने विचारमा धारणाहरू र वर्तमान सरकारका कार्यबारे टिप्पणी भएको बताए । आचार्यले भने, ‘त्यहाँ शेखर र गगनको कुरा थिएन । प्रायः सबैको लाइन एउटै थियो । व्यक्तिको कुरा हैन । अब डेमोक्रेसी र त्यसको भ्यालु प्रिन्सिपलसँग मानिस डराउनने थाले के हुन्छ भन्ने चिन्ता थियो ।’
संसदीय दलको नेता चयन गर्न नसकेको प्रति पार्टी सभापति गगनकुमार थापाको भूमिकालाई लिएर बुद्धिजीवीहरूले प्रश्न उठाएका छन् । १५औं महाधिवेशनका लागि भनि क्रियाशील सदस्यता नवीकरण अधिकांशस्थानमा सकिइसकेको र अहिले त्यही विषय किन ल्याउनु परेको भनि बुद्धिजीवीहरूले प्रश्न गरेका छन् । कांग्रेसलाई एनजीओ जस्तो बनाएर चलाउन खोजेको भन्दै गगन थापाको आलोचना गरेका छन् ।




बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया