प्रधानाध्यापकले आफूलाई स्वागत नगरेको भन्दै रास्वपाका सांसद पोखरेलले थर्काए, कुटौला झैँ गरेर हर्कत देखाए

काठमाडौं । नेपाल प्रहरीका पूर्वएआईजीपी समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले विद्यालयको प्राध्यापकले स्वागत गर्न नआएको धम्की दिनुका साथै अमर्यादित अभिव्यक्ति दिएका छन् ।

ओखलढुङ्गाको सरकारी विद्यालयको प्रधानाध्यापकलाई सांसद पोखरेलले दिएको अभिव्यक्ति र अस्वभाविक हर्कतको विरोध भइरहेको छ । आफूलाई स्वागत नगरेको भन्दै पोखरेलले विद्यालयका प्रधानाध्यापकलाई थर्काएको भिडियो सार्वजनिक भएको छ । प्रधानाध्यापकलाई थर्काउँदै रास्वपाका सांसद पोखरेलले भनेका छन्, ‘म आउँदैछु भन्दा तपाईं निस्किनु पर्छ । तपाईं कर्मचारी हो । म रिटायर्ड विशिष्ट श्रेणी कर्मचारी हुँ ।’

सांसद पोखरेलले थर्काउँदै भनेका छन्, ‘जिल्लाको एउटा माननीय आउँदा हेड मास्टरभित्र चुप लागेर बस्ने ?’

सांसद पोखरेलको अभिव्यक्ति र व्यवहारलाई लिएर पार्टीभित्र र बाहिरबाट विरोध भइरहेको छ । सांसद पोखरेललाई बर्खास्त नै गर्नुपर्नेसम्मका माग सामाजिक सञ्जालमा उठेका छन् ।

सामाजिक सञ्जालमा रास्वपाका सभापति रवि लामिछानेलाई सम्बोधन गरेर सांसद पोखरेललाई अनुशासनको कारबाही र बर्खास्तसम्म गर्न सुझाव दिएका छन् । पोखरेलले पछिल्लो समय निकै असहज गतिविधि गर्नुका साथै आफूलाई सर्वेसर्वा ठान्न थालेका छन् ।

रास्वपाका कार्यकर्ताहरूले पनि सांसद पोखरेलले देखाएको व्यवहारप्रति आक्रोश पोखेका छन् । सामाजिक सञ्जाल मार्फत पोखरेल लक्षित टिप्पणीहरु रास्वपा कार्यकर्ताले व्यक्त गरिरहेका छन् ।

Published : Saturday, 2026 April 25, 1:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया