प्रहरीको १ सय १४ रोपनी जग्गा फिर्ता भएपछि आईजीपी कार्कीले दिए प्रधानमन्त्री शाहलाई धन्यवाद
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जको ११४ रोपनी ३ आना क्षेत्रफलको जग्गा फिर्ता भएकोमा प्रधानमन्त्री बालेन्द्र शाहप्रति धन्यवाद ज्ञापन गरेका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत आईजीपी कार्कीले प्रधानमन्त्री शाह, नेपाल सरकार र मन्त्रिपरिषदलाई धन्यवाद दिएका हुन् ।
उनले भनेका छन्, ‘नेपाल प्रहरीको ऐतिहासिक विरासत, संस्थागत गौरव तथा व्यावसायिक उत्कृष्टताको धरोहरका रूपमा स्थापित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जको ११४ रोपनी ३ आना क्षेत्रफलको जग्गा पुनः पूर्ववत् रूपमा प्रतिष्ठानकै स्वामित्वमा कायम रहने गरी मिति २०८३ वैशाख १० गते नेपाल सरकारबाट भएको निर्णय नेपाल प्रहरी संगठनका लागि अत्यन्त महत्वपूर्ण तथा ऐतिहासिक उपलब्धि हो ।’
‘यस निर्णयले नेपाल प्रहरीको संस्थागत सुदृढीकरण, दीर्घकालीन भौतिक पूर्वाधार विकास तथा व्यावसायिक दक्षता अभिवृद्धिमा दूरगामी सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ,’ आईजीपी कार्कीले भनेका छन् ।
‘यस महत्वपूर्ण, दूरदर्शी तथा संगठनहित केन्द्रित निर्णयका लागि सम्माननीय प्रधानमन्त्रीज्यू, नेपाल सरकार तथा मन्त्रिपरिषद्, साथै यस कार्यका लागि विगत लामो समयदेखि निरन्तर पहल गर्दै आउनुभएका अवकाशप्राप्त अग्रज प्रहरी अधिकृतज्यूहरूप्रति नेपाल प्रहरी हार्दिक कृतज्ञता व्यक्त गर्दछ,’ आईजीपी कार्कीले भनेका छन् ।
‘आगामी दिनहरूमा समेत नेपाल प्रहरीको संस्थागत सुदृढीकरण, पेशागत क्षमता तथा मनोबल अभिवृद्धि एवं प्रभावकारी सेवा प्रवाहका लागि नेपाल सरकारबाट निरन्तर अभिभावकत्व प्राप्त भइरहने अपेक्षा व्यक्त गर्दछौं,’ आईजीपी कार्कीले भने ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ११४ रोपनी ३ आना क्षेत्रफलको जग्गा राष्ट्रपति कार्यालयलाई दिने निर्णय गरेको थियो । सो जग्गा फिर्ता ल्याउन आईजीपी कार्कीले सरकारसँग विशेष पहल गरेका थिए ।
प्रधानमन्त्री शाहले तत्कालीन ओली सरकारको निर्णयलाई उल्ट्याइदिएर राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जको ११४ रोपनी ३ आना क्षेत्रफलको जग्गा फिर्ता गरिदिएका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया