विभागका प्रमुख बोहराको नेतृत्वमा रास्वपाको केन्द्रीय कार्यालयको नयाँ भवन बन्ने

काठमाडौं । प्रवास नेपाली सम्पर्क विभागको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालयको भवन निर्माण गरिने भएको छ ।

प्रतिनिधि सभाका सांसद समेत रहेका विभागका प्रमुख बोहराका अनुसार सबैको सहयोग, समर्थन र सद्भावका साथ रास्वपाको केन्द्रीय कार्यालयको भवन निर्माण गरिने बताए । उनले प्रवास विभागकै नेतृत्वमा केन्द्रीय कार्यालय भवन पनि निर्माण गरिने जानकारी दिएका छन् । यसमा विश्वभरका प्रवासी संगठनहरूको सक्रिय सहभागिता रहने उनले बताएका छन् ।

विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन आवश्यक पहल गरिने प्रतिबद्धता पनि विभागका प्रमुख बोहराले बताएका छन् ।

‘गैरआवासीय नेपालीको ‘एकपटकको नेपाली सधैँको नेपाली’ भन्ने भावनात्मक सम्बन्धलाई कदर गर्दै केही विशिष्ट अपवादबाहेक सिद्धान्ततः दोहोरो नागरिकताको पक्षमा उभिँदै सम्पत्तिको अधिकारमा रहेका प्रशासनिक झञ्झटहरूलाई तत्काल अन्त्य गरिने उनले बताएका छन् । विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन आवश्यक पहल गरिने बोहराले बताए ।

रास्वपाले विदेशमा रहेका नेपालीको ज्ञान, सिप र अनुभवलाई संस्थागत गर्न ‘प्रोफाइल बैंक’ स्थापना पनि गर्नेछ । ‘समर्थक भएर संसद् बदल्यौँ, सदस्य भएर देश बदल्छौँ’ भन्ने नाराका साथ रास्वपाले यस्तो अभियान सञ्चालन गर्न लागेको विभागका प्रमुख बोहराले पत्रकारहरूलाई बताएका छन् ।

नेपालमा भित्र्याउन सकिने पुँजी तथा लगानी अवसरहरूको पहिचान, विदेशमा सिकिएका सिपलाई नेपाल फर्केर प्रयोग गर्न सकिने क्षेत्रहरूको सूचीकरण, स्टार्टअप, उद्यमशीलता र रोजगार सिर्जनाका लागि परियोजना विकास, स्वदेश फर्कने लगानीकर्ताका लागि मार्गदर्शन हुनेछ । प्रोफाइल बैंक बनेपछि आइडिया बैंकको काम शुरु गरिने बोहराले बताए ।

रास्वपाले प्रवासमा सदस्यता विस्तार अभियान सञ्चालन गर्नेछ । प्रवासलाई केन्द्रमा राखेर अभियान सञ्चालन गरिने बोहराले बताए ।

प्रवासमा रहेका नेपालीलाई औपचारिक रूपमा रास्वपासँग जोड्ने उद्देश्यले आगामी चरणमा कम्तीमा १० लाख सदस्य प्रवासबाट निर्माण गर्ने लक्ष्य राखिएको छ । सदस्यता केवल संख्या मात्र नभई, देशको निर्माण प्रक्रियामा प्रत्यक्ष सहभागिता रहनेछ ।

प्रवास नेटवर्कमार्फत नेपाललाई सुरक्षित, आकर्षक र सांस्कृतिक गन्तव्यका रूपमा प्रस्तुत गर्नसमेत काम गर्ने भएको छ । जसमा विदेशी पर्यटकलाई आकर्षित गर्ने अभियान, डिजिटल प्रमोसन, डिप्लोपा टुरिजम एम्बास्डर प्रोग्रामलगायत पर्नेछन् ।

सांसद समेत रहेका विभागका प्रमुख बोहरा रास्वपाका संस्थापक सदस्य हुन् । सभापति रवि लामिछानेलाई सबैभन्दा नजिकबाट जानेका र बुझेका नेतामा बोहरा पर्छन् । सभापति लामिछाने र विभागका प्रमुख बोहरा टेलिभिजन कार्यक्रमदेखि निरन्तर सँगै छन् । पार्टीमा पनि उनीहरू एकअर्कालाई सल्लाह गरेर मात्रै कुनै पनि निर्णय गर्दै आएका छन् ।

Published : Thursday, 2026 April 23, 12:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया