रास्वपाको दुईतिहाईको सरकारलाई २६औँ दिनमा अर्को ठूलो झट्का, गुरुङको गृहमन्त्री पद गयो
काठमाडौं । बिचौलिया एवम् विवादित व्यवसायी दीपक भट्टसँग सेयर कारोबारमा संलग्न रहेका दस्तावेजहरू सार्वजनिक भएपछि गृहमन्त्री सुधन गुरुङले गृहमन्त्री पद गुमाएका छन् ।
पदभार सम्हालेको २६ दिनमै गृह मन्त्रालयबाट गुरुङ बिदा भएका छन् । बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष राजीनामा बुझाएका गुरुङले पत्रकार सम्मेलन गरेर विदाइ भएका छन् ।
गुरुङ चैत १३ गते गृहमन्त्रीमा नियुक्त भएका थिए । पदमा आएसँगै ठूला माछा समाउने भन्दै अन्टसन्ट गतिविधि र आफ्नै फेसबुकमा पक्राउ परेका व्यक्तिहरूको नम्बरिङ गरेर सार्वजनिक गरिरहेका बेला गुरुङ आफै बिचौलियासँग कनेक्सनमा रहेको तथ्यहरू सार्वजनिक भएका थिए ।
गुरुङको लिबर्टी माइक्रोलाइफ इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्समा लगानी देखिएको थियो । मन्त्रालयबाट बाहिरिनुअघि उनले मन्त्रालयमा कर्मचारीहरूलाई धन्यवाद दिएका छन् ।
गौरीबहादुर कार्की नेतृत्वको आयोगको सिफारिस अनुसार पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न हतार गरेका गृहमन्त्री गुरुङ विवाद र चर्चाको केन्द्रमा रहेका थिए ।
मन्त्री भएको भोलिपल्ट बिहानै ओली र लेखक पक्राउ परेपछि गुरुङले सामाजिक सञ्जाल (फेसबुक)मा जेनजी आन्दोलनका शहीदको शवको तस्बिर राखेर लेखे, ‘प्रतिज्ञा भनेको प्रतिज्ञा हो ः कानूनभन्दा माथि कोही छैन, पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ । यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो । मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ ।’
गुरुङले लगातार हाइप्रोफाइलहरु पक्राउको शृङ्खला शुरु गरे । पूर्वमन्त्री दीपक खड्का, व्यवसायी दीपक भट्ट र शङ्कर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परे । हाइप्रोफाइल पक्राउ गरेपछि गुरुङले सामाजिक सञ्जालमार्फत संख्या उल्लेख गर्दै काउण्ड डाउन शुरु गरेका थिए । उनले पक्राउ गरेका आरोपीहरूमध्ये व्यापारी सुलभ अग्रवाल र दीपक भट्ट मात्रै अहिले थुनामा छन् ।
केपी ओली, रमेश लेखक, लुम्बिनी प्रदेशसभा सदस्य रेखाकुमारी शर्मा र दीपक खड्का अदालतको आदेशले छुटेपछि वैशाख ३ मा साँझ पत्रकारहरूसँग कुरा गर्दै गुरुङले भने, ‘मन्त्रीभन्दा जज (न्यायाधीश) शक्तिशाली हुने रहेछ, म अब कानून पढ्दै छु ।’
चैत २९ मा मन्त्रिपरिषद्को निर्णय अनुसार प्रधानमन्त्री कार्यालयले विवरण गरेको सम्पत्ति विवरणमा गुरुङ र परिवारको नाममा करिब २६० रोपनी जग्गा रहेको उल्लेख गरिएको थियो । ८९ तोला सुन र ६ किलो चाँदी गुरुङको सम्पत्तिको विवरणमा उल्लेख भएको भेटिएपछि सामाजिक सञ्जालमा उनको आलोचना भयो । त्यसपछि उनले सामाजिक सञ्जालमा लेखे, ‘तिमि जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो ।’
तीव्र आलोचना भएपछि गुरुङले सामाजिक सञ्जालबाट आफ्नो स्ट्याटस हटाए । त्यसपछि गुरुङ रक्षात्मक बनेको उनलाई नजिकबाट बुझ्नेहरू बताउँछन् । भूमि सम्बन्धी ऐन अनुसार गुरुङलाई जग्गाको हदबन्दी लाग्न सक्छ । पोखरामा २० रोपनी जग्गा भाडामा लिएर भाडा नतिरेको घटनामा पनि गुरुङको तीव्र आलोचना भयो ।
पछिल्लो समय उनी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा रहेका दीपक भट्टको कम्पनीमा साझेदार रहेको तथ्य बाहिरियो । भट्टको लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको सेयर किनेको विषयमा उनीमाथि धेरै प्रश्न उठ्यो ।
रकमको श्रोतबारे प्रश्न उठेपछि उनले सो सापटी लिएर सेयर किनेको दाबी गरे । प्रश्न रोकिएनन् । कुल ५० लाख मूल्य बराबरको सेयर र भट्टसँगको कनेक्सनबारे चित्तबुझ्दो जवाफ दिन नसकेपछि गुरुङको गृह मन्त्रालयको यात्रामा ब्रेक लागको छ । गुरुङ अब पूर्वमन्त्री र रास्वपाका सांसद मात्र भएका छन् ।
गृह मन्त्रालय तत्कालका लागि प्रधानमन्त्री शाहले आफैसँग राख्ने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता शाह नेतृत्वमा सरकार बनेको एक महिना नबित्दै दुई जना मन्त्री पदबाट बाहिरिएका छन् ।
गुरुङलाई स्पष्टीकरण सोध्नुपर्ने पार्टीभित्र रास्वपा नेताहरूले नै प्रश्न गरेका थिए । सोमबार र मंगलबार पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री शाहले उनलाई पटकपटक भेटेर कुराकानी गरेका थिए ।
पार्टीको केन्द्रीय अनुशासन आयोगले स्पष्टीकरण सोध्नुपर्नेबारे पार्टीभित्रै कुरा उठे पनि आयोगले भने केही पहल गरेन ।
यसअघि श्रममन्त्री दीपककुमार साहलाई आफ्नो पदीय जिम्मेवारी दुरूपयोग गरी स्वास्थ्य बीमा बोर्डमा श्रीमतीलाई निरन्तरता दिएको भन्दै बर्खास्त गरिएको थियो ।
त्यतिबेला पार्टी अनुशासन आयोगको सिफारिसमा प्रधानमन्त्रीले नै मन्त्रीबाट बर्खास्त गरेका थिए । सँगसँगै स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई सचेत पनि गराइएको थियो ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया