किन पुगेका थिए गगन गल्फुटार ?

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र कार्यबाहक सभापति पूर्णबहादुर खड्का निकटका नेताहरूले १५औँ महाधिवेशनको दुई वटा मिति रहेको भन्दै एकताको महाधिवेशन गर्नका लागि दवाव सिर्जना गरेका छन् ।

तत्कालीन समयमा कार्यबाहक सभापति खड्का रहेका बेला वैशाखको मसान्तमा नियमित १५औँ महाधिवेशनको मिति घोषणा भएको छ । भृकुटीमण्डप भेलाबाट विशेष महाधिवेशन भनेर निर्वाचन आयोग र सर्वोच्च अदालतले मान्यता दिएको गगनकुमार थापा नेतृत्वको कार्यसमितिले भदौ/असोजमा नियमित १५औँ महाधिवेशन घोषणा गरेका छन् । यदि यी दुबै मितिलाई मर्ज गरेर एकताको महाधिवेशन नगर्ने हो भने कांग्रेस दुई टुक्रा हुने सम्भावना छ । गत आइतबार काठमाडौंको धुम्बाराहीमा भेला भएका निवर्तमान कार्यबाहक सभापति खड्कासहितका नेताहरूले महाधिवेशन दुबै मितिलाई मर्ज गर्न सुझाव दिएका छन् । अन्यथा त्यसबाट आउने परिणामको जिम्मेवारी भृकुटीमण्डपबाट आएको कार्यसमितिले लिनुपर्ने चेतावनी दिए ।

धुम्बाराही भेलामा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायले सम्मानजनक, महधिवेशनका दुबै मितिलाई मर्ज गरेर एकता महाधिवेशन गर्नुपर्ने अन्यथा पार्टी विभाजन भयो भने ‘रुखमा चरा बसेको’ चुनाव चिन्ह लिएर भएपनि अर्को पार्टी गठन गर्नुपर्ने सुझाव दिएका छन् ।

धम्बाराही भेलाको निर्णय र निष्कर्षअनुसार निवर्तमान कार्यबाहक सभापति खड्का १४औँ महाधिवेशनका देउवा पक्षीय पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक राखेर एकताको महाधिवेशनका लागि बोल्ड निर्णयको तयारीमा छन् ।

नेताहरू मोहनबहादुर बस्नेत, वीरबहादुर बलायर, जीतजंग बस्नेत, कुन्दनराज काफ्ले, अम्बिका बस्नेत लगायतका नेताहरूले एकताको महाधिवेशनका लागि दवाव दिने यदि विशेष महाधिवेशनबाट आएको नेतृत्वले सहमति, सहकार्य र सम्वादका लागि पहल गरेन भने अर्को दल गठबन गर्नै पर्दा पनि गर्नुपर्ने सुझाव दिएका छन् । सकेसम्म मिलेर जाने यदि सानेपाले बेवास्ता गरेर पेल्न खोजे दुर्घटना निम्तन सक्ने नेताहरूले बताएका छन् ।

खड्कासहितका नेताहरूको धम्बाराही बैठकको निर्णयपछि आत्तिएका सभापति गगनकुमार थापाले सोही दिन राति कार्यबाहक सभापति खड्कालाई निवासमा पुगेर भेट गरेका थिए । भेट गरेको ३/४ दिन भइसकेको छ । महाधिवेशनका दुइटा मितिलाई मर्ज गरेर एकता महाधिवेशन घोषणा गर्नेबारेमा कुनै पहल भएका छैनन् ।

निवर्तमान कार्यबाहक सभापति खड्का समूहले केन्द्रदेखि जिल्ला र राष्ट्रिय भेलासम्म गरेर एकता महाधिवेशनका लागि दवाव दिने तयारी गरेको छ । खड्कासहितका नेताहरूले आफू निकटका नेताहरूसँग सम्पर्क गरेर तयारीहरू गरिरहेका छन् ।

त्यस दिन गगनले निवर्तमान कार्यबाहक सभापति खड्कासँग भेट गरेर आफू एकता महाधिवेशनको लागि तयार रहेको र गृहकार्य गरेर सबैलाई मिलाएर लैजाने भनेका थिए । देउवा–खड्का समूहले सशत्तरु रुपमा एकता महाधिवेशनका लागि देशभरि कार्यक्रम गर्ने थाहा पाएपछि तनाबमा परेका गगनले खड्कालाई भेट्न गएका थिए ।

नेता मीनबहादुर विश्वकर्माले भने, ‘सर्वोच्च अदालतले गरेको फैसला आफैमा विरोधाभाषपूर्ण आफ्नै नजिरहरूका विपरित, निर्वाचन आयोगले आफैले कायम गरेका नजिरहरूका पनि विरुद्धमा र झट्ट हेर्दाखेरी संविधान, कानून र नेपाली कांग्रेसको विधानसँग पनि बाझिने गरि विरोधाभाषपूर्ण हुने गरि गरेको निर्णयलाई हामीले थुप्रै असहमतिका आधारहरू हुँदाहुँदै पनि यसलाई सर्वोच्च अदालतको स्वतन्त्र न्यायपालिकाप्रतिको सम्मान गर्नका लागि नेपाली कांग्रेसले त्यो निर्णयलाई मान्ने कुरा हामीले संक्षिप्तमा यसभन्दा अगाडि पनि बताइसकेका छौं ।’

‘छलफलमा पनि अदालतको निर्णय मानेर जाने तर, यसमा भएका गम्भीर असहमतिहरूलाई हामीले प्रकट गर्नैपर्छ भन्ने भयो,’ नेता विश्वकर्माले भने, ‘अब अदालतको निर्णय नै एउटा कानूनी विवादको निरुपण ग¥यो । तर, नेपाली कांग्रेसको ईतिहाँसदेखि आजसम्म जहिले पनि यो मुलुकको पहिलो ठूलो लोकतान्त्रिक पार्टी अहिले यस्तो कमजोर बनेको छ यो परिस्थिति आएको कुरालाई अब पार्टीलाई मजबुत बनाएर कसरी लैजाने भन्ने कुरामा, पार्टीलाई मजबुत बनाउने कुरामा पार्टीमा बृहत एकता नै हो ।’

उनले भने, ‘त्यो एकताको पहल निर्वाचन आयोग र अदालतबाट म्याण्डेट प्राप्त गरेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका सभापति गगनकुमार थापा र उहाँको कार्यसमितिले पहल गर्नुपर्छ ।’

‘यो पहल गर्न उहाँले ढिलाइ गर्नुभयो, अथवा यसबाट पार्टीलाई गम्भिर क्षति पुग्न सक्छ । सँगसँगै हाम्रो पनि भूमिका हुन्छ,’ उनले भने, ‘त्यसका लागि आज काठमाडौंमा उपलब्ध भएका निवर्तमान केन्द्रीय सदस्य र पदाधिकारीहरू र प्रदेश सभापतिहरू, मुख्यमन्त्रीहरूको उपस्थिति रह्यो ।’

नेता विश्वकर्माले भने, ‘यथाशीघ्र निवर्तमान केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरूको काठमाडौंमा बैठक बस्नेछ । त्यो बैठकपछि हामी चरणबद्ध रुपमा प्रदेशस्तरको बैठक बस्छ । जिल्लास्तरको बैठक बस्छ र बृहत राष्ट्रिय भेला गर्नेछ ।’

उनले भने, ‘सँगसँगै अदालतबाट भएको फैसलामा चित्त बुझेको छैन । चित्त नबुझेको कुरामा अहिले हामीले फैसलालाई स्वीकार गर्नै प¥यो । अवज्ञा गर्न मिल्दैन । सँगसँगै पुनरावलोकनमा पनि जानेकी भन्ने आज सुझाव आएको छ ।’

नेता विश्वकर्माले भने, ‘१५औँ महाधिवेशनमा जाने वातावरण बनाउने जिम्मा दुई वटा अधिवेशनको मिति तय भएको छ । एउटा शेरबहादुर देउवा सभापति रहँदा नै कार्यबाहक सभापति पूर्णबहादुर खड्का हुँदा त्यसको वैशाखको अन्तिम मसान्तमा अर्थात् वैशाखको २८, २९ र ३० गते १५औँ महाधिवेशन काठमाडौंमा गर्ने एउटा निर्णय छ । अर्को विशेष महाधिवेशनबाट आएको कार्यसमितिले फेरि भदौको अन्तिममा असोजतिर महाधिवेशन गर्ने भन्ने दुई वटा कार्यतालिका छ । दुइटा कार्यतालिकालाई समायोजन गरेर एउटा कार्यतालिका बनाउने स्थिति बन्यो भने त्यो पार्टी एकता भएको मानिन्छ ।’

‘यदि होइन पार्टी एकताको लागि पहल भएन र ती कुराहरूमा पार्टी एकता हुन सकेन भने दुई वटा महाधिवेशन हुन्छन् । त्यसले पार्टीलाई विभाजनतर्फ लैजान्छ । त्यसैले त्यो दुइटा अधिवेशनको अवस्था नरहोस् भन्नका लागि नै आजको छलफलबाट सम्बन्धित पक्षलाई पार्टी एकताको पहल गर्नका लागि उहाँ (गगनकुमार थापा)हरूको जिम्मेवारी र भूमिका हो भन्ने निष्कर्ष निस्किएको छ,’ उनले भने ।

‘सँगै लैजाने भनेको पार्टीको विधानसम्मत ढंगबाट, महाधिवेशनका माध्यमबाट एक पार्टीलाई एक बनाएर लिएर जान सकिन्छ हामीलाई लागेको छ,’ नेता विश्वकर्माले भने, ‘त्यो हामीलाई मात्रै लागेर भएन सानेपामा रहेका विशेष महाधिवेशनबाट आएका अदालतको म्याण्डेट पाएका सभापति गगन थापा र उहाँको कार्यसमितिले यसमा पहिलो भूमिका अथवा कर्तव्य पूरा गर्नुपर्छ ।’

Published : Tuesday, 2026 April 21, 10:09 am

फेसबुकबाट तपाईको प्रतिक्रिया