‘सिंघम’ गृहमन्त्री र बिचौलिया भट्टको गोप्य दस्तावेज सार्वजनिक भएपछि बालेन सरकारभित्र खैलाबैला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद एवम् गृहमन्त्री सुधन गुरुङ र बिचौलिया दीपक भट्टबीचको व्यापारिक साझेदारीसहितको गोप्य दस्तावेजहरू सार्वजनिक गरेर ‘जनआस्था’ले खैलाबैला मच्चाइदिएको छ ।

‘जनआस्था’को अनलाइन संस्करणमा गृहमन्त्री गुरुङ र बिचौलिया भट्टसहित हाइप्रोफाइल व्यक्तिहरूको सेयरसहितको नालीबेली सार्वजनिक भएको छ । जनआस्थाको खुलासापछि ‘सिंघम’ गृहमन्त्री गुरुङ गुमनाम छन् । गृहमन्त्री पदको शपथ लिएकै दिन गुरुङले कानून र संविधान विपरीत राजनीतिक प्रतिशोध साँधेर नेताहरूलाई पक्राउ गर्न लगाउनेदेखि सम्पत्ति शुद्धीकरणको झुट्टा मुद्दा लगाएर पक्राउ पुर्जी जारी गर्न समेत लगाएका थिए ।

गृहमन्त्री गुरुङले सेयर खरिद बिक्री गर्न सक्छन् । तर, त्यसको स्रोत खुलाउनुपर्छ । उनले प्रधानमन्त्री कार्यालयमा बुझाएको सम्पत्ति विवरणमा किन बिचौलिया भट्टसँगको व्यापारिक साझेदारीको सेयर लुकाएर देखाएनन् ? प्रश्न उठेको छ । गृहमन्त्री गुरुङ र बिचौलिया भट्टबीच दस्तावेजहरू छताछुल्ल हुँदा समेत प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र रास्वपाका सभापति रवि लामिछाने बोलेका छैनन् । गुरुङलाई गृहमन्त्री पदबाट बर्खास्त गर्न चौतर्फी दवाव परिरहेको छ । गुरुङले सोमबार सभापति लामिछानेलाई बुढानिलकण्ठस्थित निवासमा पुगेर छलफल गरेका छन् ।

गृहमन्त्री गुरुङलाई नेपाल प्रहरीका एकजना विवादास्पद एआईजीपीले गलत सल्लाह र सुझाव दिएकै कारण विवादमा पर्दै आएका छन् । ती एआईजीले विगतमा तत्कालीन गृहमन्त्रीद्वय नारायणकाजी श्रेष्ठ र रवि लामिछानेलाई पनि गलत सल्लाह दिएकै कारण दुबै सरकार ढल्न पुगे । अवस्था यस्तो आयोकी ती एआईजीपीका कारण श्रेष्ठको राजनीति नै धरापमा परेको छ । निर्वाचनमा श्रेष्ठको लज्जास्पद पराजय भएको छ । रास्वपाका लामिछानेले जितेर पार्टीलाई दुईतिहाईको बहुमतसहितको सरकार बनाए पनि तत्कालीन समयमा सरकार नै ढल्न पुगेको थियो । त्यसपछि सहकारीको विषयमा लामिछानेलाई ५ वटा जिल्लामा मुद्दा र हिरासतको बास हुन पुग्यो ।

सम्पत्ति शुद्धीकरणअन्तर्गत ‘हिमालयन रिइन्स्योरेन्ससहित थुप्रै बीमा कम्पनी’को ठगीउपर छानविन सिलसिलामा हाल सानेपास्थित प्रहरी हिरासतमा रहेका बिचौलिया भट्ट र गृहमन्त्री गुरुङबीच ब्यापारिक साझेदारीको प्रमाण जनआस्थाले सार्वजनिक गरेको छ । जनआस्थाले सार्वजनिक गरेको दस्तावेज र बिचौलिया भट्टसँगको कनेक्सनका विषयमा तथा सेयरको स्रोतबारे प्रतिक्रिया लिन गृहमन्त्री गुरुङलाई सम्पर्क गर्दा उनको फोनमा सम्पर्क हुन सकेन ।

स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड, जसको दर्ता नम्बर ३०४६७०/०७९/८० रहेको छ । सञ्चालक लगतको तेस्रो नम्बरमा भट्टको कम्पनी इन्फिनिटी होल्डिङ्गसकी प्रतिनिधि कर्मचारी श्रीमती प्रजुनी बज्राचार्यको नाम छ । साझेदारीको ४९ नम्बरमा गोर्खाको चुमनुब्री–२ बस्ने दिलबहादुर गुरुङका छोरा सुधन गुरुङको नाम उल्लेख छ । गुरुङको नागरिकता नम्बर ११३७९ राखिएको छ । गुरुङको नाममा पच्चीस हजार कित्ता शेयर जारी भएको छ ।

चर्चित बिचौलिया तथा विवादास्पद व्यापारी भट्ट समूहले सेटिङमा हात पारेको एक लघु बीमा कम्पनीमा गृहमन्त्री गुरुङ पनि सेयर होल्डर रहेको तथ्य भेटिएपछि रास्वपाभित्र खैला भएको छ । यो प्रकरणले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई पनि झट्का लागेको छ । भट्ट सम्पत्ति शुद्धीकरणसम्बन्धी अपराधको अभियोगमा हाल ललितपुरको सानेपास्थित प्रहरी हिरासतमा छन् ।

२०७९ सालमा सम्पन्न संघ, प्रदेश र स्थानीय तहको निर्वाचन सकिएलगत्तै भट्टको समूहलाई पोस्ने गरी भट्टद्वारा नियुक्त पूर्व गृहसचिव सूर्य सिल्वाल नेतृत्वको नेपाल बीमा प्राधिकरणले सात वटा लघु बीमा कम्पनीलाई लाइसेन्स दिएको थियो । भट्टको दबाबमा शंकर समूह, इन्फिनिटी होल्डिङ, शेखर गोल्छा, भवानी राणा, पशुपति मुरारका, हरि न्यौपाने, किशनलाल दुगड, आरएमसी जस्तापाताका मालिक राजेश अग्रवाललगायतलाई फाइदा पुग्नेगरी ती कम्पनीहरूले लाइसेन्स पाएको समाचार जनआस्थाले प्रकाशित गरेकोे छ । यसरी लाइसेन्स पाउनेमध्येमा स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड पनि पर्छ ।

सुजन आचार्य संस्थापक अध्यक्ष रहेको यस कम्पनीमा चार जना सञ्चालक छन् । हाल अध्यक्ष रहेकी प्रजुनी बज्राचार्य भट्टकै स्वामित्व रहेको इन्फिनिटी होल्डिङकी कर्मचारी हुन् । उनीसमेत सञ्चालक रहेको कम्पनीमा ५७ जना संस्थापक सेयरधनी छन् । भट्टसँग विवादास्पद कारोबारमा मुछिएको शंकर समूहको स्वामित्व रहेको जगदम्बा इन्टरप्राइजेजको उक्त कम्पनीमा २५ लाख रुपियाँ बराबरको सेयर देखिन्छ । त्यति बराबरको रकम अर्थात् २५ लाख रुपियाँको सेयर हालका गृहमन्त्री गुरुङको समेत रहेको तथ्य भेटिएको छ, जुन कुरा अघिल्लो हप्ताको सम्पत्ति विवरणमा लुकाइएको छ ।

सेयर लगत किताबको क्रम संख्या ४९ नम्बरमा नाम उल्लेख भएका गुरुङको स्थायी ठेगाना चुमनुब्री वडा नम्बर २, गोरखा राखिएको छ । बाबुको नाम दिलबहादुर गुरुङ भएको उक्त विवरणका सेयरधनी प्रधानमन्त्री कार्यालयले अघिल्लो साता सार्वजनिक गरेको गृहमन्त्री गुरुङको व्यक्तिगत विवरणसँग पूर्ण मेल खान्छ ।

बिचौलिया भट्टका लागि अर्थ मन्त्रालयमा बसेर करको दर हेरफेर गरेको अभियोग लागेका तत्कालीन सुब्बा रघुनाथ घिमिरेकी छोरी रेशा घिमिरेको नाममा पनि एक लाख रुपियाँ बराबरको सेयर देखिन्छ । सुब्बा घिमिरेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि दुई करोड १४ लाख रुपियाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । त्यतिबेला अर्थमन्त्री जनार्दन शर्मा थिए ।

गुरुङले भट्ट र अग्रवाल समूहसँग सम्बन्धित उक्त लघु बीमामा रहेको सेयर रकम आफ्नो सम्पत्ति विवरणमा देखाएनन् । कम्पनी रजिस्ट्रार कार्यालय स्रोतलाई उदृत गर्दै जनआस्थाले सो कम्पनीमा अधिकांश लगानीकर्ता भट्टकै तर्फबाट विभिन्न कम्पनीमा प्रतिनिधित्व गर्नेहरू छन् भनेर उल्लेख गरेको छ । भट्ट मुछिएको विवादास्पद कम्पनी हिमालयन लाइफ इन्स्योरेन्सका तत्कालीन प्रमुख कार्यकारी अधिकृत मनोजकुमारलाल कर्णकी छोरी अदीति कर्णको नाममा पनि दुई लाख रुपियाँ बराबरको सेयर छ ।

सम्पत्ति शुद्धीकरण कसूरमा पक्राउ परेर छुटेका शंकरलाल अग्रवालकी बहिनी रेनु अग्रवालकी कान्छी बुहारी श्रेया रुङ्गटाको नाममा रहेको लोबुचे इन्भेस्टमेन्टको १५ प्रतिशत सेयर स्टार माइक्रो इन्स्योरेन्समा छ ।

स्टारका प्रमुख दुई लगानीकर्तामध्ये घान्द्रुक इन्भेस्टमेन्टको १५ प्रतिशत सेयर स्वामित्व देखिन्छ । २०७९ भदौ ३० मा दर्ता भएको लोबुचे इन्भेस्टमेन्ट श्रेया रुङ्गटाको नाममा छ । उनका पति आयुष गुप्ता जगदम्बा समूहका कार्यकारी निर्देशक रहेको शंकर समूहको आधिकारिक वेबसाइटबाट खुल्छ । घान्द्रुक इन्भेस्टमेन्ट रेनुकै नाममा छ ।

स्टार लघु बीमाको अर्को लगानीकर्ता जगदम्बा इन्टरप्राइजेजमा रेनुसहित रमेश अग्रवाल र अनिल रुङ्गटाको सेयर स्वामित्व छ । वेबसाइटमै हेर्दा पनि जगदम्बा स्टिल उत्पादक कम्पनी जगदम्बा इन्टरप्राइजेजको स्वामित्व शंकर समूहको प्रमाणित हुन्छ ।

एउटा नाम चलेको अनलाइनको स्वामित्वमा रहेकाहरूको रेमी क्यापफिन प्रा.लि.को पनि उक्त कम्पनीमा ३२ लाख ५० हजारको तीन लाख २५ हजार कित्ता सेयर रहेको लगतको ५६ नम्बरमा प्रष्टसँग लेखिएको छ । २०७९ भदौ २३ मा दर्ता भएको उक्त कम्पनीले उक्त अनलाइन सञ्चालन गर्दै आएको छ । यसले मिडियामा समेत बिचौलिया भट्टले प्रभाव राखेका छन् ।

काठमाडौंबाट प्रकाशित हुने एउटा अंग्रेजी म्यागेजिनमा शंकर समूहकै पारिवारिक सदस्य तथा जगदम्बा समूहकी निर्देशक वालको प्रोफाइल केही समय अगाडि निकै महत्वका साथ छापिएको थियो । मिडियाका प्रकाशक मदनप्रसाद लम्सालको नाममा उक्त कम्पनीको ५० हजार कित्ता सेयर प्रदान गरिएको लगतको ५१ नम्बरमा देखिनुले अनेक आशंका उब्जाएको छ ।

दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीद्वारा फरार सूचीमा राखेर अभियोगपत्र दर्ता गरिएका यती समूहका अध्यक्ष लाक्पा सोनाम शेर्पा पनि सोही कम्पनीका सेयरधनी हुन् ।

२५ करोड रुपियाँभन्दा बढी राजस्व छलीमा मुछिएर अनुसन्धानमा रहेको भगवती ल्यामिनेट्स प्रा.लि.का सञ्चालक रजनीश करनानीको उक्त कम्पनीमा १० लाख रुपियाँ बराबरको सेयर देखिन्छ । नेपाल प्रहरीका पूर्व एआईजी हरिबहादुर पालको नाममा पनि एक लाख रुपियाँको सेयर उल्लेख छ । बिचौलिया भट्टकै नातेदार रामचन्द्र भट्टको पनि सो कम्पनीमा पाँच लाख रुपियाँ बराबरको सेयर छ । उनीहरूलाई समेत मन्त्री गुरुङसँगको व्यावसायिक साझेदारीसँग जोडिएको छ ।

भ्रष्टाचारको अन्त्य, सुशासन स्थापना तथा सामाजिक सञ्जालमाथि प्रतिबन्ध हटाउनुपर्ने माग राख्दै गत भदौ २३ गते जेनजी पुस्ता शान्तिपूर्ण रूपमा माइतीघरमा उत्रिएको थियो । सोही आन्दोलनमा सहभागी भएका गुरुङ भदौ २४ गतेको विध्वंशपछि जेनजीका तर्फबाट नेपाली सेनासँग वार्ताका लागि अग्रसर भएका थिए ।

गुरुङको नेतृत्वको ‘हामी नेपाल’ नामक संस्थामा पनि सबैभन्दा ठूलो दाताको रूपमा शंकर समूह रहेको विवरण यसअघि नै बाहिर आइसकेको छ । सोही समूह र भट्ट समूह जोडिएको कम्पनीमा गुरुङको लगानी देखिएपछि बालेन नेतृत्वको सरकारमाथि नैतिक प्रश्न खडा हुनु अस्वाभाविक होइन ।

अर्कोतर्फ उनै गृहमन्त्री गुरुङले प्रचलित भूमिसम्बन्धी ऐन विपरित देखाएको हदबन्दीभन्दा माथिको जग्गा र सम्पत्ति विवरणबारे प्रश्न उठेपछि सामाजिक सञ्जालमा लेखेर जवाफ दिए । गतसाता उनले लेखेका थिए ‘गरिब भएर जन्मिनु गल्ती होइन, गरिब भएर मर्नु गल्ती हो ।’

गृहमन्त्री गुरुङ र बिचौलिया भट्टबीचको कैयौं सेयर साइनो खुलेपछि उनीहरूबीच धेरै वर्ष देखि नै सुमधुर सम्बन्ध रहेको पुष्टि भएको छ । भदौको जेन जी आन्दोलन हाइज्याक गरेको आरोप लागेका सुधन हामी नेपालका संस्थापक संयोजक हुन् । त्यही संस्थाले बिचौलिया भट्टलाई पाँच वर्षअघि राजधानीमा सम्मान गरेको थियो । बिचौलिया भट्टलाई गुरुङ र बार्बरा फाउण्डेसनका अध्यक्ष डा. सन्दुक रुइतले उपहार र कदरपत्र हस्तान्तरण गरेको फोटो भेटिएको छ ।

Published : Monday, 2026 April 20, 12:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया