१५औँ महाधिवेशनका दुइटा मितिलाई मर्ज गर्न प्रस्ताव, अन्यथा कांग्रेस विभाजन हुने प्राविधिक समस्या
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरूको बैठकले १५औँ महाधिवेशनका दुई वटा कार्यतालिका रहेको भन्दै ती दुबैलाई मर्ज गरेर जान सभापति गगनकुमार थापालाई आग्रह गरेको छ ।
आइतबार काठमाडौंमा बसेको बैठकमा खड्का कार्यबाहक सभापति रहेका बेला तोकिएको महाधिवेशनको मिति र विशेष महाधिवेशन पक्षधरबाट आएको कार्यसमितिले घोषणा गरेको मितिलाई समायोजन गरेर जानुपर्ने निष्कर्ष निकालेको हो । दुबै महाधिवेशनको मितिलाई मर्ज नगर्ने हो भने दुई वटा महाधिवेशन हुने र त्यसले पार्टी विभाजन गर्ने नेता मीनबहादुर विश्वकर्माले बताए ।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै नेता विश्वकर्माले भने, ‘१५औँ महाधिवेशनमा जाने वातावरण बनाउने जिम्मा दुई वटा अधिवेशनको मिति तय भएको छ । एउटा शेरबहादुर देउवा सभापति रहँदा नै कार्यबाहक सभापति पूर्णबहादुर खड्का हुँदा त्यसको वैशाखको अन्तिम मसान्तमा अर्थात् वैशाखको २८, २९ र ३० गते १५औँ महाधिवेशन काठमाडौंमा गर्ने एउटा निर्णय छ । अर्को विशेष महाधिवेशनबाट आएको कार्यसमितिले फेरि भदौको अन्तिममा असोजतिर महाधिवेशन गर्ने भन्ने दुई वटा कार्यतालिका छ । दुइटा कार्यतालिकालाई समायोजन गरेर एउटा कार्यतालिका बनाउने स्थिति बन्यो भने त्यो पार्टी एकता भएको मानिन्छ ।’
‘यदि होइन पार्टी एकताको लागि पहल भएन र ती कुराहरूमा पार्टी एकता हुन सकेन भने दुई वटा महाधिवेशन हुन्छन् । त्यसले पार्टीलाई विभाजनतर्फ लैजान्छ । त्यसैले त्यो दुइटा अधिवेशनको अवस्था नरहोस् भन्नका लागि नै आजको छलफलबाट सम्बन्धित पक्षलाई पार्टी एकताको पहल गर्नका लागि उहाँ (गगनकुमार थापा)हरूको जिम्मेवारी र भूमिका हो भन्ने निष्कर्ष निस्किएको छ,’ उनले भने ।
‘सँगै लैजाने भनेको पार्टीको विधानसम्मत ढंगबाट, महाधिवेशनका माध्यमबाट एक पार्टीलाई एक बनाएर लिएर जान सकिन्छ हामीलाई लागेको छ,’ नेता विश्वकर्माले भने, ‘त्यो हामीलाई मात्रै लागेर भएन सानेपामा रहेका विशेष महाधिवेशनबाट आएका अदालतको म्याण्डेट पाएका सभापति गगन थापा र उहाँको कार्यसमितिले यसमा पहिलो भूमिका अथवा कर्तव्य पूरा गर्नुपर्छ ।’
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया