ब्रोइलर कुखुराको मासु खाँदा दुई जनाको मृत्यु, प्रहरीद्वारा अनुसन्धान शुरु
धनगढी । कैलालीको चुरे गाउँपालिकामा ब्रोइलर कुखुराको मासु खाएका दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरू सहोदर दाजुभाइ हुन् । कुखुराको मासु खाएर दुई जना बिरामी भएका छन् ।
चुरे गाउँपालिका वडा नं. ३ को भक्तपुर बस्ने पाँच वर्षीय दीपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ ।
मृतककी आमा २८ वर्षीया राधिका ताम्राकार र उनका कान्छा छोरा तीन वर्षीय दीपेश ताम्राकार बिरामी परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश बिष्टले जानकारी दिएका छन् । दुवै जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
उनीहरूले बिहीबार मरेको ब्रोइलर कुखुरा खाएको बुझिएको प्रहरी निरीक्षक बिष्टले बताए । प्रहरीका अनुसार मासु खाएपछि चारै जना बिरामी भएका थिए । उनीहरूलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएकोमा दुई दाजुभाइको उपचारका क्रममा शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान शुरु भएको र अनुसन्धानपछि दुई जनाको मृत्यु र बिरामीहरूका विषयमा जानकारी दिने बताएको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया