कांग्रेसको नेतृत्व विवाद सम्बन्धी दुई मुद्दा हेर्दाहेर्दैमा, शुक्रबार पनि बहस हुने

काठमाडौं । सर्वोच्च अदालतमा नेपाली कांग्रेसभित्रको नेतृत्व विवादसम्बन्धी मुद्दालाई हेर्दाहेर्दैमा राखेको छ ।

बिहीबार न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा भएको प्रारम्भिक सुनुवाइमा बहस पूरा नभएपछि मुद्दालाई ‘हेर्दाहेर्दै’मा राखिएको हो ।

पक्ष–विपक्षका तर्क सुन्न थालिए पनि समय अभावका कारण प्रक्रिया अधुरै रहेको छ । कांग्रेसको आधिकारिकताको मुद्दामा शुक्रबार पुनः सुनुवाइ हुनेछ ।

सभापति देउवाका तर्फबाट दायर भएका दुई निवेदन पहिलो नम्बरमा सुनुवाइका लागि पेसी तोकिएको हो । देउवाका तर्फबाट दायर दुई निवेदनमाथि सुनुवाइ हुँदै छन् ।

चैत २६ गते देउवा पक्षले नियमित महाधिवेशनको कार्यसूची रोक्न माग गर्दै पूरक निवेदन दिएको थियो । यसअघि नै दर्ता भएको रिटलाई पनि साथै राखेर हेरिनुपर्ने माग देउवा पक्षको थियो । सर्वोच्चले एकतर्फी रूपमा अन्तरिम आदेश जारी नहुने भन्दै २७ चैतमा दुवै पक्षलाई छलफलमा बोलाएको थियो ।

आधिकारिकताको विवादले नेपाली कांग्रेसमा शक्ति संघर्षसँग जोडिएको छ । गगनकुमार थापाले पुसमा भृकुटीमण्डप भेला आयोजना गरि त्यसैलाई विशेष महाधिवेशन भनेर सभापति शेरबहादुर देउवालाई अपदस्त गरेर आफैलाई कांग्रेसको सभापति घोषणा गरेका थिए ।

निर्वाचन आयोगले पनि गगनकुमार थापा नेतृत्वको भृकुटीमण्डप भेलाको कार्यसमितिलाई मान्यता दिएपछि सभापति देउवा न्यायका लागि सर्वोच्च अदालत पुगेका हुन् ।

सर्वोच्च अदालतले यसअघि सभापति देउवा पक्षलाई अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । सर्वोच्च अदालतले त्यो बेला दुवै पक्षसँग स्पष्टीकरण मागेको थियो ।

सभापति देउवा र गगनकुमार थापा पक्षको जवाफ अदालतमा पुगिसकेका छन् । विस्तृत बहस भइरहेको छ ।

सर्वोच्च अदालतको मुद्दाको अन्तिम निर्णयले नेपाली कांग्रेसको नेतृत्व संरचना मात्रै होइन, पार्टीभित्रको शक्ति सन्तुलन र भविष्यको राजनीतिक दिशा नै निर्धारण गर्नेछ ।

Published : Thursday, 2026 April 16, 9:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया