‘किशुनजी’का अनुयायी हुन् पूर्णबहादुर, अपमान सहन सक्छन्, कांग्रेसमा आँच आउन दिँदैनन्

काठमाडौं । नेपाली कांग्रेसलाई विभाजनबाट रोक्नका लागि बिष सेवन गरेर सभापति शेरबहादुर देउवा, कार्यबाहक सभापति पूर्णबहादुर खड्का, नेता डा.शेखर कोइरालासहितका नेताहरूले फागुन २१ गतेको निर्वाचनमा अपमान सहेरै भए पनि भाग लिए ।

निर्वाचन आयोगको एकपक्षीय निर्णयविरुद्ध सर्वोच्च अदालतमा न्यायिक निरुपणका लागि जाने बरु कांग्रेस विभाजन हुन नदिने प्रतिबद्धताका साथ निर्वाचनमा सहभागी भएका नेताहरूलाई गगनकुमार थापाले छानिछानी कारबाही गरेर पार्टीबाटै निष्काषन गर्ने रणनीति बनाएका छन् । बुधबार अनुशासनको बहानामा गगनले कार्यबाहक सभापति खड्कामाथि जुन प्रकारको गतिविधि गरेका छन् त्यो अलोकतान्त्रिक छ ।

कांग्रेसको आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला खड्काले कार्यबाहक सभापतिको हैसियतले राजनीतिक गतिविधि गर्न पाउनु उनको अधिकार हो । लोकतन्त्रिक पद्धति पनि हो ।

खड्काले कांग्रेसलाई दुई टुक्रा बनाएका छैनन् । बरु अपमान सहेरै भए पनि फागुन २१ को निर्वाचनमा सहभागी भए । न्यायालयबाट आउने आदेशलाई पर्खेर बसेका कार्यबाहक सभापति खड्कामाथि राजनीतिक पूर्वाग्रह भएर गगनले गरेको गतिविधि कांग्रेसको इतिहाँसमा कालोधब्बा रुपमा रहनेछ ।

कार्यबाहक सभापति खड्का कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराई ‘किशुनी’जीका अनुयायी हुन् । बिष पिएर समाप्त हुन सक्लान्, खड्काले कांग्रेसलाई आँच आउन दिँदैनन् । देउवा, खड्का, डा.कोइरालासहितका नेताहरूले चाहेको भए फागुन २१ गतेभन्दा अगाडि कांग्रेस विभाजन गरेर अलग राजनीतिक गतिविधि गर्न सक्थे । तर, उनीहरूले कांग्रेसको चुनाव चिन्ह रुख र चार तारे झण्डाका लागि गगनले जस्तो अहँकार र अबेग देखाएनन् । गगनले कांग्रेस सभापति देउवासहितका नेताहरूको अनुहार निर्वाचनमा देखाएर मत माग्न नसक्ने भनेकै कारण नेताहरू खुलेर निर्वाचनमा भाग लिन पनि सकेनन् । आखिर जनताले देउवासहितका नेताहरूको अनुहार हेर्न चाहेका थिएनन् वा गगनको अनुहार हेर्न चाहेका थिएनन्, फागुन २१ गतेको मतदानको परिणामले देखाइदिएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका कांग्रेसका सभापति देउवा र नेतृ डा.आरजु राणामाथि सरकारले राजनीतिक प्रतिशोध राखेर मुद्दा लगाएर पक्राउ पुर्जी जारी गरेको छ । अनुसन्धानको बहानामा मुद्दा लगाएर कांग्रेसका केन्द्रीय सदस्य दीपक खड्कालाई हिरासतमा राखिएको छ । केन्द्रीय सदस्य एवम् पूर्वगृहमन्त्री रमेश लेखकलाई सर्वोच्च अदालतको आदेशमा भरखरै प्रहरीले हाजिरी जमानीमा छाडेको छ । कांग्रेसका धेरै नेताहरूलाई सरकारले दुःख दिने क्रम जारी छ । यस्तो बेला गगनले कार्यबाहक सभापति खड्कालाई कारबाहीको नौटंकी गरेका छन् ।

सभापति देउवा, कार्यबाहक सभापति खड्का, नेता डा.कोइराला लगायतका १४औँ महाधिवेशनबाट निर्वाचित बहुमत पदाधिकारी र केन्द्रीय सदस्यहरू तथा नेताहरू भृकुटीमण्डप भेलालाई विशेष महाधिवेशन मानेकै छैनन् । यस्तो अवस्थामा गगनले खड्कालाई कारबाही गर्नुको कुनै अर्थ छैन । गगनले खड्कालाई कारबाही गर्नु भनेको शीर्ष नेताहरूलाई कांग्रेस छाडेर जान भन्नु सरह रहेको राजनीतिक विश्लेषकहरूले टिकाटिप्पणी गरिरहेका छन् ।

कांग्रेसलाई एकजुट बनाउनु थियो भने गगनले सर्वोच्च अदालतको फैसलालाई नकुरेर असन्तुष्ट सबै पक्षलाई समेट्न सम्वाद, सहमति र सहकार्य गरेर जानु पर्ने थियो । अहिलेसम्म गगनले सम्वाद गरेका छैनन् । बरु फरक विचार र मत राख्ने नेताहरू अनुशासनको बहाना बनाएर धमाधम कारबाही गरेर निकाल्ने रणनीति बनाएका छन् । गगनको यो रणनीति कांग्रेस र लोकतन्त्रप्रति आस्था राख्नेहरूका लागि घातक हुने राजनीतिक विश्लेषकहरूले टिकाटिप्पणी गरेका छन् ।

Published : Wednesday, 2026 April 15, 3:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया