क्रियाशील अध्यावधिको कुरामा प्राविधिक समस्या हुन्छ, कांग्रेस नेतृत्वले सम्वाद गर्नुपर्छ : राजनीतिक विश्लेषक पोखरेल
काठमाडौं । राजनीतिक विश्लेषक विपुल पोखरेलले नेपाली कांग्रेसको जरा अभियानको प्राविधिक र व्यवहारिक पक्षका विषयमा गम्भीर चासो र चिन्ता जनाएका छन् ।
मंगलबार सामाजिक सञ्जालमा भिडियोमार्फत पोखरेलले कांग्रेसलाई जरा अभियानको क्रियाशील सदस्यता अध्यावधि गर्ने विषय उचित भए पनि त्यसको व्यवहारिक र प्राविधिक कठिनाइहरू रहेको बताए । उनले अहिलेको अवस्थामा कांग्रेस नेतृत्वले असन्तुष्टि अर्को पक्षसँग वार्ता र सम्वाद गरेर जानुपर्ने प्रमुख दायित्व रहेको बताए ।
राजनीतिक विश्लेषक पोखरेलले भने, ‘नेपाली कांग्रेसले जरा अभियान भनेर शुरु गरेको छ । वैशाख महिनाभरि अभियान चलाउने भनेको छ । सक्रिय सदस्यहरूले क्रियाशील सदस्यता अध्यावधि गर्ने अभियानलाई जरा अभियानको एउटा कार्यक्रमका रुपमा सार्वजनिक गरेको छ ।’
‘सभापतिले वडा र इकाइमा जो पुगेर अध्यावधि गर्छ त्यो मात्रै रहन्छ, छुट्नेहरू छुट्छन् भनेर भनेर भन्नुभएको थियो,’ पोखरेलले भने, ‘यो सक्रिय सदस्यता अध्यावधि गर्न सक्रिय सदस्यहरूलाई वडासम्म पुग्न, वडा सभापतिले तय गरेको ठाउँसम्म पुग्न सबै ठाउँमा कार्यालय पनि नहोलान् ।’
उनले भने, ‘वडा सभापति, इकाइ सभापतिहरूले आफ्नै घर वा ठाउँमा पनि राख्नु भएको होला । त्यहाँसम्म पुगेर अध्यावधि गर्न प्रेरित गर्ने कुरा जायज छ । त्यो प्रक्रियालाई असहज हुन नदिने सन्दर्भमा पनि सोँच्नुपर्छ ।’
‘सबै पुग्न सक्नु हुन्छ कि हुँदैन ? वैशाखमा पुग्न नसक्नेहरूको सक्रिय सदस्यता नरहने हो त ?,’ पोखरेलले प्रश्न उठाउँदै भने, ‘वृद्ध भएका कारण, असक्त भएका कारण र अन्य बाध्यात्मक प्ररिस्थितिले उपस्थिति हुन नसक्नेको हकमा के गर्ने ? कांग्रेसभित्र समूह छ ।’
‘यसलाई अस्वभाविक नै मानिन्छ । त्यसका कारण इकाइ सभापतिको घरमा जान्न कोही प्रतिशोध साँधेर बसेको होला,’ उनले भने, ‘होइन जानुस् भनेर मात्रै हुँदैन । त्यो प्रतिशोध तोड्ने सहज वातावरण कसरी बन्छ ? यसलाई जटिल बनाउने र प्रक्रियागत ढंगले हेर्नु भन्दा पनि कसैको भावनामा ठेस नपुगोस् ।’
पोखरेलले भने, ‘कांग्रेसलाई माया गर्ने, कांग्रेसमा योगदान दिएको पुरानो नेता, कार्यकर्ताको भावनामा ठेस पुग्ने काम हुनु हुँदैन । झञ्झटिलो र जटिल पनि हुनु हुँदैन ।’
राजनीतिक विश्लेषक पोखरेलले कांग्रेस जस्तो लोकतान्त्रिक पार्टी र त्यसको नेतृत्वले अदालतको फैसला वा आदेशलाई पर्खेर बस्न नहुने बताए । उनले वार्ता, सम्वाद र सहमतिका साथ कांग्रेसलाई एकजुट बनाएर लैजाने दायित्व नेतृत्वको रहेको बताएका छन् ।
‘पार्टीको विवाद अदालत विचाराधीन छ । पार्टीको विवादमा अदालतले के भन्छ भनेर एकथरीले हेरिरहेको अवस्था पनि छ,’ उनले भने ।
‘कांग्रेस जस्तो पार्टीले अदालतले निर्णय गरिदिएको आधारमा नेतृत्व कसको र कसलाई नेता मान्ने ? को सभापति बन्ने ? प्रतिक्षा गरेर बस्नु भनेको अत्यन्तै दुर्भाग्य हो,’ पोखरेलले भने ।
‘केही प्रक्रियागत रुपमा मेल भएको छैन भने प्राविधिक रुपमा समस्या छभने अदालतले त्यसलाई हेर्ने हो । त्यो आधारमा निरुपण गर्ला,’ उनले भने ।
‘यो विषयलाई कार्यकर्ता पंक्तिले चासो राखेर समीक्षा, छलफल र आफ्नो दृष्टीकोण निर्माण गर्नुपर्छ,’ राजनीतिक विश्लेषक पोखरेलले भनेका छन् ।
उनले भने, ‘क्रियाशील सदस्यता अध्यावधि गर्ने भन्ने जुन अभियान छ । यो अभियानमा जाँदै गर्दा नियमित महाधिवेशन तय गरेको सन्दर्भमा पनि केही सहमति गर्नुपर्ने अवस्था छ ? कोही पक्षहरूको कुरा सुन्नु पर्नेछ भने नेतृत्वले त्यसमा अझ लचक भएर सहमति गरोस् भन्ने दवाव दिनुपर्छ ।’
कांग्रेसको अहिलेको नेतृत्वले क्रियाशील सदस्यता अध्यावधिको विषयमा दिएको अभिव्यक्ति लोकतन्त्रप्रति आस्था राख्नेहरूका लागि आपत्तिजनक रहेको राजनीतिक विश्लेषक पोखरेलले बताएका छन् ।
‘नेतृत्वले जो छुट्यो छुट्यो भन्ने भाषा बोलेर होइन कि पार्टीको नारा छ ‘सबै अट्ने देश, सबै जोड्ने कांग्रेस’ भनेर तपाईहरूले नारा बनाउनु भएको छ । त्यो नाराको पनि त मर्म छ । राष्ट्र निर्माणको महाअभियान भनेको ती सबैलाई जोड्दै जोड्दै जाने प्रक्रिया नै त्यो अभियान हो,’ पोखरेलले भनेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया