आशिष निर्माण कम्पनीद्वारा १० अर्बको ठेक्का हत्याउन ह्याकिङ, नाम चलेका ठेकेदार अनुसन्धानको दायरामा
काठमाडौं । सार्वजनिक खरिद अनुगमनको कार्यालयको आग्रहपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नाम चलेका केही ठूला निर्माण कम्पनीहरूलाई सुक्ष्म ढङ्गले अनुसन्धान अगाडि बढाएको छ ।
पछिल्लो घटनामा काठमाडौं उपत्यका खानेपानी लिमिटेडको करिब १० अर्ब रुपियाँको ठेक्कामा अनधिकृत पहुँचको आशंका देखिएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रारम्भिक छानबिन गरेको थियो । शंकास्पद देखिएपछि थप अनुसन्धानका लागि प्रहरीलाई जिम्मा दिइएको छ ।
खानेपानी लिमिटेडको ठेक्कामा चार प्याकेज आशिष निर्माण सेवालगायतले ठेक्का पाउने तय भएको थियो । जसमा ह्याकिङ संलग्नता भएको आशंकापछि सार्वजनिक खरिद अनुगमन कार्यालयले तत्काल प्रक्रिया रोक्न पत्राचार गरेको छ । आशिष निर्माण कम्पनीका प्रबन्ध निर्देशक ऋषिकेश गौलीविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । उनी अस्पताल भर्ना भएकाले पक्राउ नगरिएको सीआइबी निकट उच्च स्रोतले जनाएको छ ।
आशिष निर्माण सेवाका कम्पनीका कर्मचारी ज्योति सुवेदीले ह्याकरसँग मिलेर ठेक्का हत्याउने गरेको आरोप छ । उनले अन्य ठेकदारका लागिसमेत काम गर्दै आएको सूचनाका आधारमा अनुसन्धान भइरहेको सीआइबी स्रोतको भनाइ छ ।
ई–बिडिङ ह्याकिङ गर्ने प्रकरणमा दर्जनौँ निर्माण व्यवसायीहरू छानबिनको दायरामा छन् । आशिष निर्माण सेवासँगै, सगुन ईञ्जिनियरिङका सहदेव खड्का, तुँदी कन्ट्रक्सनका सुमन सुवेदी, कुमार कन्ट्रक्सनका सुशीलकुमार श्रेष्ठले ह्याकिङ गरेर ठेक्का पाएको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालय र सीआइबीमा उजुरी परेका छन् । सीआईबीले ती कम्पनीमाथि पनि छानबिन भइरहेको स्रोतले जनाएको छ । एउटै ठेक्कामा ह्याकरलाई ६० लाख रुपियाँसम्म दिने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको छ ।
डिभिजन सडक कार्यालय भक्तपुरले गत वर्ष आह्वान गरेको बोलपत्रमा रौतहट कन्ट्रक्सनले तोकिएको समयभन्दा केही मिनेट मात्र अघि बिड संशोधन गरेपछि ह्याकिङको आशंका गरिएको थियो । जेठ २ गते १२ बजेसम्मलाई बोलपत्र प्रविष्ट गर्ने समय रहेकामा ११ः५६ मा सो कम्पनीले विद्युतीय बोलपत्र प्रणालीमा बिड संशोधन गरेको थियो । सो कम्पनी ठेक्काको मूल्यांकनमै परेन ।
सीआइबीले सातजनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । गत साता नै सीआइबीले ६ जनालाई पक्राउ गरेकामा आइतबार थप एक ठेकदार पक्राउ परेका छन् । सीआइबीले आइतबार शिवांश निर्माण सेवाका सञ्चालक अनिल श्रेष्ठलाई पक्राउ गरेको छ । यस प्रकरणमा यसअघि धनकुटाको पाख्रिबास घर भएका दीवाकर देउजा, बझाङको दुर्गाथलीका भरत धामी, तनहुँको बन्दीपुरका सञ्जय भट्ट, काठमाडौं– ३३ का भाष्करराज अर्याल, मकवानपुरको हेटौँडाका सागर कटुवाल र सुनसरीको दुहबीका जीवनकुमार दासलाई पक्राउ गरेको छ । उनीहरूमध्ये सञ्जय सोली थुम्का निर्माण सेवा, सागर हाम्रो कटवाल निर्माण सेवा, जीवन गीताञ्जली कन्ट्रक्सनका सञ्चालक हुन् । अन्य निर्माण कम्पनीका कामदार हुन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया