शुरु नहुँदै गगनको जरा अभियानले हावा खान थाल्यो, प्रा.डा.गौतमद्वारा केन्द्रीय प्रतिनिधिका रुपमा जान अस्वीकार
काठमाडौं । प्रा.डा.कृष्णप्रसाद गौतमले ‘नेपाली कांग्रेस जरा अभियान’मा सहभागी हुन नसक्ने भन्दै केन्द्रीय प्रतिनिधिको जिम्मेवारी अस्वीकार गरेका छन् ।
सोमबार कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा पत्र बुझाएर प्रा.डा.गौतमले जरा अभियानका लागि केन्द्रीय प्रतिनिधि भई जान नसक्ने जनाएका हुन् । उनले स्वास्थ्यको कारण देखाएका छन् ।
तनहुँबाट महासमिति सदस्य रहेका प्रा.डा.गौतमले पत्रमा भनेका छन्, ‘२०८३ वैशाख १ गतेदेखि वैशाख मसान्तसम्म पार्टीका सबै तहको सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन र आगामी १५औं महाधिवेशनको तयारी एवम् क्रियाशील सदस्यता अद्यावधिक विशेष अभियान संचालन गर्न तथा अन्य तोकिएका कार्यहरू गर्नेगरि नेपाली कांग्रेस जरा अभियानमा मुस्ताङ जिल्लामा जिम्मेवारी प्रदान गर्नु भएकोमा तपाई र सिङ्गो केन्द्रीय कार्य समितिलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’
‘नेपाली कांग्रेसलाई नयाँ जीवन दिन अति महत्वपूर्ण भूमिका निर्वाह गर्ने नेपाली कांग्रेस जरा अभियानमा, आफू जाने प्रवल इच्छा हुँदाहुँदै हाल मेरो स्वास्थ्य अवस्थामा एक्कासि असहज आई चिकित्सकसँग पारमर्श गर्दा लामो समय आराम गर्न सल्लाह दिएको हुँदा मुस्ताङ जिल्लामा गई १÷१ महिनासम्म उहीरही कार्य गर्दा स्वास्थ्यमा भन समस्या उत्पन्न हुन सक्ने कारणले यो अति महत्वपूर्ण अभियानमा सहभागी हुन असर्मथ भएको व्यहोरा सूचना गर्नु पर्दा अति दुःख लागेको छ ।’
‘यस पटक केन्द्रीय समितिले सञ्चालन गरेको जरा अभियानमा सहभागी हुन नसकोमा क्षमा याचना गर्दै आगामी दिनहरूमा केन्द्रीय समितिले दिएको जिम्मेवारी वहन गर्ने प्रतिवद्धता समेत व्यक्त गर्दछु,’ नेता प्रा.डा.गौतमले भनेका छन् ।
भृकुटीमण्डप भेलालाई विशेष महाधिवेशन भनेर नेपाली कांग्रेसलाई हाइज्याक गरेका गगनकुमार थापाले वैशाख १ गतेदेखि जरा अभियान चलाउन लागेका छन् । जरा अभियानका केन्द्रीय प्रतिनिधिले नै तोकिएको जिल्लामा गएर कार्यसम्पादन गर्न अस्वीकार गरिदिएका छन् ।
गगन थापाका कारण नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचनमा इतिहासकै लज्जास्पद अवस्थामा पुगेर पराजित भएको छ । आफूलाई भावी प्रधानमन्त्रीको घोषणा गरेका गगन थापा समेत १२ हजारभन्दा धेरै मतको अन्तरबाट सर्लाही ४ बाट पराजित भएर कांग्रेसको शिर निहुरिने कार्य गरेका छन् ।

बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया