नेपाल राष्ट्र बैंकका अवकाशप्राप्त कर्मचारीका छोरा शिक्षामन्त्रीको २३ करोड ४१ लाखको सम्पत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलसँग अनुमानित सम्पत्ति २३ करोड ४१ लाख २७ हजार रुपियाँ रहेको भेटिएको छ ।

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयद्वारा सार्वजनिक गरिएको प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विरणमा शिक्षामन्त्री पोखरेल अन्य मन्त्रीहरूभन्दा धनी देखिएका हुन् । ७५ लाख ऋण कटाएर खुद सम्पत्ति उनले सार्वजनिक गरेका हुन् ।

शिक्षामन्त्री पोखरेलसँग २५ तोला सुन, एक सय तोला चाँदी र करिब २५ हजार नगद गरी करिब ७५ लाख रुपियाँ बराबरको सम्पत्ति विवरणमा उल्लेख छ ।

शिक्षामन्त्री पोखरेलको बैंक खातामा चार लाख ४७ हजार रुपियाँ मात्र छ । मन्त्री पोखरेलको बुबाको नाममा विभिन्न कम्पनीहरूमा सेयर रहेको छ ।

मन्त्री पोखरेलको धेरै सम्पत्ति भने घरजग्गामा छ । काठमाडौंमा उनका दुईवटा घर छन् ।

काठमाडौं ४ मा करिब चार करोड र कागेश्वर मनहरामा करिब पाँच करोड रुपियाँ मूल्य पर्ने घर उनीसँग छन् ।

मन्त्री पोखरेलसँग पाँच ठाउँमा जग्गा रहेको छ । काठमाडौं ४ मा साढे दुई करोड, विरानटगरमा एक करोड, ललितपुरको गोदावरीमा डेढ करोड, काठमाडौंको गोकर्णेश्वरमा डेढ करोड तथा ललितपुरको गोदावरीमा पाँच करोड मूल्य पर्ने जग्गा रहेको छ ।

मन्त्री पोखरेलका बुबा रमेशकुमार पोखरेल नेपाल राष्ट्र बैंकका अवकाशप्राप्त कर्मचारी हुन् । नेपाल राष्ट्र बैंकका अवकाशप्राप्त कर्मचारीका छोराको यति धेरै सम्पत्ति कसरी आयो ? भनेर सामाजिक सञ्जालभरि प्रश्न उठेको छ ।

Published : Monday, 2026 April 13, 12:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया